सबै नेपाली गीत एउटै एप्समा

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

मोबाइलमा गीत सुन्न अब एसडी कार्ड वा अन्य कुनै प्रकारको मेमोरी कार्ड राख्नुपर्ने छैन । नेपालका लोकप्रिय गीतका साथै आफूलाई मन पर्ने सबै गीत एउटै एप्सको सहयोगले सुन्न सकिने भएको छ । यसका लागि नेपाल टेलिकम र म्युजिक नेपालले सहकार्य गरेका छन् ।

म्युजिक नेपाल नामक एप्स प्रयोग गरेर ग्राहकले एउटै प्लेटफर्ममार्फत असीमित संगीतको आनन्द लिन सक्नेछन् । ‘म्युजिक नेपाल’ मोबाइल एप्स डाउनलोड गरी कुनै पनि विधामा अहिलेका लोकप्रिय गीतहरू मात्र नभै पुराना सदावहार नेपाली गीतहरू चौबीसै घण्टा सुन्न सकिन्छ । त्यति मात्र नभै यसमा आफ्नो रुचिका गीत छान्न, सूची बनाउन र संग्रहित गर्न पनि सकिन्छ । आफूले रुचाएका गीतहरू फेसबुकमार्फत साथीभाइहरूसँग सेयर गर्न पनि सकिन्छ ।

यो सेवा नेपाल टेलिकमका ग्राहकलाई मात्र उपलब्ध हुनेछ भने हाललाई पहिलो एक महिना उपभोक्ता शुल्क लाग्नेछैन । एक महिनापछि भने ग्राहकले शुल्क तिरेर साप्ताहिक वा मासिक रूपमा सेवा प्राप्त गर्न सक्नेछन् । डाउनलोड गरेको एप्प खोलेर आफ्नो मोबाइल नम्बर हाल्नासाथ प्राप्त हुने पिन नम्बरलाई भेरिफाई गरी यसको प्रयोग गर्न सकिन्छ ।

हाललाई यो सेवा एन्ड्रोइड मोबाइलमा उपलब्ध हुनेछ भने छिट्टै आईओएसमा समेत उपलब्ध गराइने म्युजिक नेपालले जानकारी गराएको छ ।