एमालेसंग तालमेल गर्ने माओवादी केन्द्रको निर्णय

एकिकरणकै सम्भावना
-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं— नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा तालमेल गर्ने भएको छ । सोमबार बसेको सचिवालय बैठकले एमालेसँग चुनावी तालमेल गर्ने निर्णय गरेको हो । यसअघि नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा बाम एकता खाँचो रहेको भन्दै तालमेल गर्ने निर्णय गरेको थियो ।
चुनावी तालमेलका लागि माओवादीले अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति बनाएको छ । समितिमा नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा रहनेछन् । समितिले गरेको निर्णय नै मान्य हुने माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पहिलो चरणअन्तर्गत एमालेसँग चुनावी तालमेल गर्न लागेको बताएका छन् । पहिलो प्रयासमा एमालेसँग चुनावी तालमेल गर्न लागेका हौं । हाम्रो लक्ष्य भने पार्टी एकीकरण नै हो, श्रेष्ठको भनाइ छ ।

उच्चस्तरीय समितिले एमालेसँग चरणबद्ध छलफल गर्ने श्रेष्ठले बताएका छन् । चुनावी तालमेलका लागि दुबै पार्टीबाट सहमतिका ड्राफ्टसमेत तयार भएको छ । दुबै पार्टीका शीर्ष नेताहरुले ड्राफ्टलाई अन्तिम रुप दिएर सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी भएको बताइन्छ ।
यसैबीच, एमालेसँग चुनावी तालमेल गर्ने माओवादी केन्द्रको निर्णयप्रति पार्टीका चार केन्द्रीय नेताले नोट अफ डिसेन्ट लेखेका छन् । नेता मणि थापाले पार्टीको दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्छ न कि कुनै पार्टीसँग तालमेल गरेर । यसले जनयुद्धको मनोभावनालाई ठेस पुर्‍याउँछ भन्ने धारणा व्यक्त गरेका छन् ।
उक्त निर्णय आफूहरुलाई मान्य नहुने भन्दै सचिवालय सदस्यहरु मातृका यादव, प्रभु शाह, मणि थापा र गोपाल किरातीले नोट अफ डिसेन्ट लेखेका हुन् ।