एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच एकीकरण गर्न सहमति पत्रमा हस्ताक्षर

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– नेकपा एमाले, माओवादी केन्द्र तथा नयाँ शक्ति पार्टीबीच एकीकरण हुने भएको छ । हिजो मंगलबार काठमाडौंको सभागृहमा पत्रकार सम्मेलन आयोजना गरी तीनवटै पार्टीका नेताहरुले एकीकरणको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा तीनवटै पार्टी एउटै घोषणापत्र जारी गरी निर्वाचनमा सहभागि हुने पनि सहमतिपत्रमा उल्लेख छ ।
निर्वाचन चिह्न फरक फरक भए पनि तीनवटै पार्टीबीच तालमेल हुनेछ । जसअन्तर्गत आवश्यकता र छलफल अनुसार केही सिट नयाँ शक्ति पार्टीलाई दिने र बाँकी सिटमा नेकपा एमालेले ६० प्रतिशत र माओवादी केन्द्रले ४० प्रतिशतको भागवण्डा गर्ने सहमति भएको छ ।
तीनवटै पार्टीका प्रमुखद्वारा हस्ताक्षरित सहमति पत्रमा प्रतिनिधिसभाको निर्वाचन लगत्तै विधिवत रुपमा पार्टी एकीकरण गर्ने उल्लेख छ ।
एकीकरणका लागि ८ सदस्यीय पार्टी एकता संयोजना समिति गठन गरिने छ । त्यसअघि आ–आफ्नो पार्टीका नेताहरुले स्वस्थ्य बहस र छलफल गरे पनि एक अर्को पार्टीप्रति नकारात्मक टिप्पणी नगर्ने पनि सहमति भएको छ ।
छरिएर रहेका सबै वामपन्थी दलहरुलाई एकतावद्ध हुन पनि सहमतिपत्रमा अपील गरिएको छ ।
पत्रकार सम्मेलनमा तीन वटै पार्टीका अधिकांश शीर्ष नेताहरुको उपस्थिति थियो ।