लाप्राक, एनआरएनहरुको पुण्यभूमि हो – सहभागी बनौ

महाभूकम्प लगत्तै अध्यक्ष घलेको नेतृत्वमा स्वयंसेवी दस्ता ग्राउण्ड जीरोमै गएर राहत तथा उद्धार कार्यमा खट्यो भने संसार भरका नेपालीहरु सम्बन्धित देशमा आवश्यक फण्ड राइजिंग अभियानमा साथ–साथै जुट्यो । फलस्वरूप करिब ४० हजार पिडितहरुलाई तत्काल सहयोग प्रदान गर्न एनआरएनए सफल भयो ।
-- / प्रकाशित मिति : बुधबार, फाल्गुन ४, २०७३

२५ अप्रिल २०१५ का दिन ७.८ रेक्टर स्केलको भूकम्प जसले  करिव ९ हजार नेपालीको  ज्यान लियो, त्यो आधुनिक नेपालको  इतिहासमा एउटा सबैभन्दा भयाबह र  दुःखद घटना थियो । जब हजारौं नेपालीले महाभूकम्पको चपेटामा परि अकालमा आफ्नो ज्यान गुमाए, दशौं हजार घाइते भए र लाखौ नेपालीहरु घरवार बिहिन बन्न पुगे, तब संसारभर रहेका  नेपाली आफ्नो मातृभूमिमाथि परेको यो दुःखद घटनाबाट मर्माहत बने । दुःखको यो घडीमा रहेका नेपालीहरु एकजुट बन्न पुगे, राहत र उद्धारका लागि । गैर आवासीय नेपाली सञ्जाल, एनआरएनएको  अग्रसरतामा तिब्र रुपमा संचालित यो राहत तथा उद्धार अभियानको नेतृत्वको अग्र पंक्तिमा थिए एनआरएनए अध्यक्ष शेष घले ।

महाभूकम्प लगत्तै अध्यक्ष घलेको नेतृत्वमा स्वयंसेवी दस्ता ग्राउण्ड जीरोमै गएर राहत तथा उद्धार कार्यमा खट्यो भने संसार भरका नेपालीहरु सम्बन्धित देशमा आवश्यक फण्ड राइजिंग अभियानमा साथ–साथै जुट्यो । फलस्वरूप करिब ४० हजार पिडितहरुलाई तत्काल सहयोग प्रदान गर्न एनआरएनए सफल भयो । स्मरणीय छ , अधिकांश क्षेत्रहरुमा नेपाल सरकारभन्दा पहिला एनआरएनए टिम राहत तथा उद्धार प्याकेज लिएर पिडितहरुको उद्धार गर्न पुगेको थियो ।

केहि हप्ताको राहत तथा उद्धारपश्चात एनआरएनएले आफ्नो ध्यान पुनःनिर्माणतर्फ लग्यो । फलस्वरूप आसन्न गैर आवासीय नेपाली संघको सातौ विश्व सम्मेलन २०१५  को नारा ‘एनआरएनए–पुननिर्माणको सच्चा साझेदार’ राखियो ।

उक्त महाधिवेसनले  १ हजार घर एनआरएनएले बनाउने प्रतिबद्धता सम्मेलनको घोषणापत्र मै उल्लेख गर्यो । त्यसै अनुरुप महाभूकम्पले अत्यधिक क्षति पुर्याएको गोर्खाको बारपाक  इपिसेन्टरबाट  उत्तरमा पर्ने लाप्राकको गुप्सी पाखामा पहिलो एकिकृत नमूना बस्ति निर्माण गर्ने अभियानमा जुट्यो । एकिकृत  नमूना बस्ति निर्माण गर्ने घोषणा त गर्यो र संसारका एनआरएनहरुबाट करिब ३५ करोड रुपैया जम्मा पनि भयो एनआरएनएको खातामा, तर दुःखको कुरा  महाभूकम्प पश्चातमात्रै नेपालमा ३ वटा सरकार बने । पुनःनिर्माणका  लागि एउटा छुट्टै  प्राधिकरणको निर्माण पनि भयो तर सरकार परिवर्तनसंगै त्यसको प्रमुख नियुक्तिको किचलो रोकिएन । सरकारमा जानेहरु पनि आवधिक सरकारको रुपमा काम गर्न थाले, प्रत्यक्ष जनसरोकार र जनजीविकाका सवाल भन्दा पनि  सत्ता समीकरणको चलखेलमा समय बिताउने स्थिति देखा पर्यो । श्रोत, साधन र पर्याप्त जनशक्ति तयार हुँदाहुँदै पनि एनआरएनएले संकल्प गरे अनुसारको नमुना बस्ति निर्माण प्रक्रिया लम्बिदै गयो । दुर्इ वटा जाडो र दुर्इ वटा वर्षायाम  लाप्राकबासीहरुले टेन्टमै बिताउन बाध्य भए  ।

एनआरएनए उच्चस्तरबाटै गरिएको अनवरत प्रयासपछि नेपाल सरकार तथा पुनःनिर्माण प्राधिकरणले लगाएको प्रतिबन्धबाट लाप्राक नमूना बस्तिको लागि सम्बन्धित निकायबाट एनआरएनएले अनुमति पायो । अन्ततः आफूले परिकल्पना गरे अनुसारकै एकिकृत नमूना बस्तिको शिलन्यास प्रधानमन्त्री पुष्पकमल दाहालबाट ७ अक्टोबर २०१६ का दिन गराई  छाड्यो  । बस्तिका लागि लाप्राक नजिकैको गुप्शी पाखाको जग्गा  सरकारले नै उपलब्ध गराएको छ भने बाटो र बिजुलीको व्यवस्थापनि सरकारले नै गर्ने जनाएको छ । सुरुमा ६ सय १२ घर बनाउन सकिने भनिएता पनि  हाल सरकारले  छुट्याइएको जग्गामा  जम्मा ५ सय ७३ घरहरु मात्र बनाउन सम्भव भएको जनाएको छ । बाकि ४ सय २७ घरहरु  निर्माणको लागि अन्य साइट खोज्नु पर्ने देखिन्छ ।

अहिले बन्दै गरेको लाप्राक एकीकृत नमूना  वस्तीमा बिद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवन, स्थानीय भेषभुषा र संस्कृति झल्कने संग्रहालय लगायतका संरचना बन्नेछन् । वस्तीमा होम स्टे र सामुदायिका गेष्टहाउससमेत  बनाइ स्थानीय बासिन्दाहरुलाई आम्दानीको स्रोतसमेत ब्यबस्था गरिदिने एनआरएनएको योजना रहेको छ । लाप्राक एकिकृत नमुना बस्ति निर्माणको लागि सरकार र पुनःनिर्माण प्राधिकरणबाट अनुमति लिने क्रम जारी रहदै गर्दा संघका अध्यक्ष शेष घले र आइसीसी सदस्य जमुना घले आवश्क उपकरण खरिदको क्रममा आँफै अहोरात्र खटिरहेका थिए जसको फलस्वरूप आज दिनमा करिब ९ हजार इन्टरलक ब्रिक उत्पादन गर्ने मेशिन तथा एक्साभेटर जस्ता उपकरणहरु लाप्राक निर्माणास्थल पुगि काम सुरु गरीसकेका छन् । कुनै पनि कठिन कार्य गर्नु पर्दा पहिले नेतृत्व आफै अगाडि बढ्नु पर्छ, परिक्षणको लागि । जब सबै कुरा ठीक हुन्छ तब मात्र अरु सहयोगी सदस्यहरुलाई प्रेरित गर्नु पर्छ,  आफ्ना केहि सहयोगी र श्रीमती जमुना घलेका साथ लाप्राकको चिसोमा केहि रात बिताएका शेष घलेले आफ्नो मन्तब्य नमस्ते युरोप टिभीलाइ बताए ।

यो उदाहरण अध्यक्ष घलेले महाभूकम्पका बेलामा आँफै ग्राउण्ड जीरोमा खटेर देखाइसकेका छन् । त्यसै अनुरुप एनआरएन टिम  हाल  लाप्राक एकिकृत नमूना बस्ति निर्माणमा  स्वयंसेवी बन्ने ब्यग्र प्रतिक्षामा संघको ग्रीन सिग्नल कुरेर बसेका  संसार भरका एनआरएनहरुलार्इ लाप्राकमा गएर काम गर्न सुरक्षित तथा सामान्य सुबिधायुक्त बस्तिको प्रबन्ध मिलाउन लार्इ अहिले खटेका छन् । त्यसको लागि करिब ५०० मीटर तलबाट खाने पानीको व्यवस्था, क्यान्टिन तथा स्वयंसेवीहरु बस्नको उचित पूर्वाधारको व्यवस्थाका लागि काम भैरहेको छ ।लाप्राक साइटमा  आधारभूत सुबिधाको व्यवस्था गरेपछि मात्र यही  फेब्रुअरीको अन्त्यसम्ममा लाप्राकमा गइ स्वयंसेवक काम गर्न चाहने एनआरएनहरुलाई आबेदन आव्हान गर्ने  योजना रहेको छ ।

लाप्राक एकिकृत संसार कै एउटा सबै भन्दा ठूलो नमूना बस्ति बन्ने एनआरएनएले जनाएको छ । यसमा संसार भरि रहेका ४० लाख भन्दा बढी नेपालीहरुको प्रत्यक्ष वा परोक्ष सहभागिता रहेको कुरामा कसैको दुर्इ मत छैन । महाभूकम्पले मातृभूमिलाइ हल्लायो, देशले जन धनको अपूरणीय क्षति बेहोर्नु पर्यो, धरहरा लगायत हाम्रो एेतिहासिक धहोहरू एक पछि अर्को  ध्वस्त हुंदै गयो । त्यो बिकराल दुःखको घडीमा मातृभूमिको पीडामा एेक्यबद्दता संसार भरिका नेपाली आआफ्नो ठाउँबाट उठे र उद्धार, राहत तथा पुनःनिर्माणको लागि श्रोत जुटाउन अहोरात्र खटे ।  विश्वका करिब ७३ देशमा फैलिएको एनआरएनए राष्ट्रिए समन्वय समिति मार्फत धेरै भन्दा धेरै  नेपालीहरु  तथा नेपाल र नेपाली परेको  दुखमा साथ दिनेहरु बाट  करिब ४० करोड रुपैया  जति  जम्मा भएको थियो ।  करिब ४ करोड राहत तथा उद्धार कार्यमा खर्च गरि बाकि करिब ३५ करोड पुननिर्माणको लागि एनआरएनएले छुट्टै खातामा राखेको करिब २० महिना  भैसकेको  छ ।

सुरुमा स्थानीय श्रोत, श्रमदान समेत  परिचालन गर्न सकियो भने प्रति घर करिब ३ लाख ५० हजार लागतमा  बनाउन सकिने एनआरएनएको प्रारम्भिक आकडा थियो । जसले गर्दा ३५ करोड रुपैयामा एक हजार घर बनाउनका लागि करिब करिब आर्थिक श्रोत जुटेको जस्तो देखिएको थियो ।   तर भौगोलिक बिकटता र निर्माण सामाग्री को अत्यधिक मूल्य वृद्धिका  कारणले आजको दिनसम्म आइपुग्दा एउटा घर बनाउन करिब ८ लाख लाग्ने अनुमान गरिएको छ । अपुग रकमको लागि सबै एनआरएनए एनसीसीहरुले छिट्टै नै अर्को राउण्डको अर्थ संकलन कार्यक्रम ल्याउनु पर्ने देखिन्छ ।

लाप्राक एकिकृत नमूना बस्ति गैर आवासीय नेपाली संघको इतिहासमा एउटा सबैभन्दा ठुलो मानब सेवा परियोजना हो भन्दा अत्युक्ति नहोला । यो अभियानमा  संसारमा रहेका प्राय सबै नेपालीहरुको पसिना र परिश्रम परेको छ अस्ट्रेलियाबाट मात्रै करिब १० करोडको आर्थिक योगदान छ । महाभूकम्प पश्चात २ ओटा वर्षायाम  र २ ओटा जाडो खेपेका लाप्राक बासीहरुको मुहार हसाउनु भन्दा ठुलो धर्म र पुण्य कार्य कुनै चार धाम यात्रा गरेर हुने छैन । त्यति मात्रै होइन करिब ४० लाख गैह्र आवासीय नेपालीहरुको परिश्रमले बनेको र पसिनाले सिंचिएको लाप्राक हामि समस्त एनआरएन र हाम्रा आउदा पुस्ता हरुलाई एउटा गर्ब गर्ने एक प्रकारको पुण्य तिर्थस्थल जस्तो बन्नेछ । तसर्थ लाप्राक नमूना बस्ति योजना सफल पार्न सहभागी बन्ने अवसर पाउनु हामी सबैको लागि एउटा अवसर र भाग्य हो । स्तुत्य कार्यमा आफ्नो अनुकुलता अनुसार सहभागी बनौ, सहयोग गरौ, आफुले गरेको पुण्य कर्म प्रति गर्ब गरौ । लाप्राक, एनआरएनहरुको   पुण्यभूमि हो, सहभागी बनौ ।

लेखक एनआरएनए ओसेनिया क्षेत्रीय संयोजक हुन् । email – lamsalmk@gmail.com