पछिल्लो समयमा यहाँ रहेका नेपालीहरूमा मानसिक रोग समस्याका रुपमा बढ्दै गएको छ । नेपालबाट बिद्यार्थीका रुपमा आएका युवायुवतीहरूमा यो समस्या समस्याका रुपमा देखिदै आएको त छ नै यहाँ ब्यवस्थित रुपमा बसोबास गरिरहेका नेपालीहरूले समेत यही समस्याका कारण आत्महत्यासम्मको बाटो रोजेपछि भने यसप्रति सबै गम्भीर बनेका छन् ।

नेपालबाट उच्च भविष्यको खोजीमा आउने तर यहाँ आँफूले भनेजस्तो नहुने भएपछि बिद्यार्थीहरू मानसिक चिन्तामा पर्नु स्वभाविक नै हो । अर्काेतिर नेपालमा आफ्नो परिवारको छत्रछायाँमा रहने तर यहाँ आएपछि सबै जिम्मेवारी आँफैले ब्योहोर्नु परेपछि पनि बिद्यार्थीहरूलाई तनाव पर्ने गर्दछ । अर्काेतिर यहाँ जे अपेक्षा र सपना देखेर आएका हुन्छन् त्यो सपना र अपेक्षा ब्यवहारमा जस्ताको तस्तै नपाएपछि समेत उनीहरू मानसिक समस्यामा पर्ने गरेको चिकित्सकहरूको भनाई छ । मुख्यत: नेपालबाट लाखौं खर्च गरेर यहाँ पठाएपछि अभिभावकहरूले गर्ने अस्वभाविक अपेक्षा पनि मानसिक रोग बढ्नुको मुख्य कारकका रुपमा औंल्याईएको छ ।

नेपाली समुदायबाट यहाँको मानसिक क्षेत्रमा काम गरिरहेका बिशेषज्ञ चिकित्सक, सामाजिक कार्यकर्ता, र नर्सहरू नेपालीहरूमा मानसिक रोग बढ्दै जानुमा आफ्नो स्वास्थ्यप्रति जागरुक नहुनुलाई नै कारक मान्छन । अर्काेतिर आँफूमा मानसिक समस्या रहेको थाहा भएपनि त्यसलाई स्वीकार नगर्नु र स्वीकार गरिहालेपनि समयमै उपचार नगर्नुले थप समस्या थप्दै गएको बताउँछन् । समयमै थाहा पाएर कुनै ग्लानिबिना उपचारको खोजी गर्ने हो भने अन्य रोगजस्तै मानसिक रोगको पनि सहज उपचार हुने चिकित्सकहरू सुनाउँछन् । तरपनि जति समस्या बढिरहेको छ यसको रोकथामका लागि को जिम्मेवार छ त ? पछिल्लो समयमा यो प्रश्न यहाँको नेपाली समुदायमा गम्भीर रुपमा ठडिएको छ ।

यहाँका नेपालीहरू बिद्यार्थीलाई अष्ट्रेलियासम्म ल्याउन पहल गर्ने कन्सल्टेन्सीहरूले गर्नुपर्ने जति जिम्मेवारी पूरा नगरेको गुनासो सुनिने गरेको छ भने यहाँ रहेका नेपाली समुदायहरूले समेत यसको रोकथाम र सुचना सम्प्रेषणका लागि सक्दो पहल नगरेको गुनासो छ । यहाँ रहेका कन्सल्टेन्सीहरूले बिद्यार्थीलाई ब्यवसायको रुपमा मात्र प्रयोग गरेको र आवश्यक्ता अनुसार उचित सल्लाह, सुझाव, सम्पर्क र सहयोग नगरेको एकथरिको गुनासो छ भने अर्काेतिर व्यवसायीहरू आँफूहरूले गर्नसक्ने गरिरहेको र सबैलाई सबै प्रकारको सहयोग गर्न असमर्थ रहेको सुनाउँछन् ।

बिद्यार्थीहरूलाई सक्दो सहयोग गर्ने कोशिष गरिरहेको र सहयोग पुरयाइरहेको यहाँ रहेका कन्सल्टेन्सीहरूको साझा संस्था एक्काका अध्यक्ष निरज श्रेष्ठ भन्छन् । तर काँधमा राखेर नै हिंड्न भने नसकिने उनको भनाई छ । उनी कन्सल्टेन्सीहरूले आँफूलाई काँधमा राखेर हिड्नुपर्छ भन्ने अवधारणा बिद्यार्थीहरूले छोड्नुपर्ने दाबी गर्छन् । उनी कन्सल्टेन्सीहरूले आफ्नो बिद्यार्थीका रुपमा अष्ट्रेलिया ल्याइसकेपछि निश्चित सहयोग, सल्लाह र सुझाव सकेसम्म दिइने गरेको समेत दाबी गर्छन् । तर बिद्यार्थीहरू भने कन्सल्टेन्सी ब्यवसायीहरूको यी कुराहरूमा सहमत छैनन् ।

एक्काकै पुर्व सचिव संजिव पाण्डे भने आँफूले ल्याएको बिद्यार्थीहरू समस्यामा परेको बेलामा भने जतिसक्दो सहयोग पुरयाउने गरेको दाबी गर्छन् । ‘म अरु सबैले के गर्छन् र कस्तो सहयोग पुरयाइरहेका छन् त्यो बारेमा भन्न सक्तिन तर हामीबाट आएका बिद्यार्थीहरूलाई आवश्यक अनुसार सहयोग पुरयाइरहेका हुन्छौं ।’ उनी केही अन्य कन्सल्टेन्सीहरूले समेत बिद्यार्थीहरूलाई आवश्यक सहयोग पुरयाएको सुनाउँछन् । ‘हामीले गर्ने भनेको होस्टेमा हैंसे मात्र हो ।’ उनको भनाई छ ।

बिद्यार्थीहरू भने भिषा लागिसकेपछि केही कन्सल्टेन्सीहरूले मेरो संस्थाबाट यति भिषा लाग्यो, यति लाग्नेवाला छ, यसको पीआर आयो भने फोटो र सुचनाहरू सार्वजनिक संजालमा राख्ने तर त्यसपछि उसको अवस्था के छ भनेर सोधीखोजी हुने नगरेको दाबी गर्छन् । बिद्यार्थीहरू कन्सल्टेन्सीहरूले आँफूलाई भिषा लगाउने समयमा जति महत्व दिन्छन् भिषा लागिसकेपछि आवश्यक वास्ता नगर्ने गरिएको गुनासो गर्छन् । यद्यपि कन्सल्टेन्सीहरू भने आफ्नो समय र आवश्यक्ता अनुसार सहयोग पुरयाइने गरेको दाबी गर्ने गर्दछन् ।

मानसिक रोग पनि अन्य रोगजस्तै सामान्य रोग भएको बुझाउनकालागि पहल गर्नुपर्ने बताउँछन् । ‘अहिले पनि मानसिक रोग लागेको ब्यक्तिलाई यो रोगको स्वीकार गर्न र समयमै उपचार गर्न ग्लानी हुने गरेको पाइएको छ ।

अर्काेतिर, एनआरएन लगायतका संस्थाहरू ले समेत मानसिक रोग बढ्दै गरेको भन्दै यसतर्फ आँफूहरूले पहल शुरु गरिएको बताइरहेका छन् । एनआरएन न्यु साउथ वेल्सका संयोजक तथा उपाध्यक्ष नन्द गुरुङ एनआरएनले यस्तै समस्यामा रहेका नेपालीहरूलाई सहयोग गर्नका लागि हेल्प डेस्कलाई पुन: सञ्चालनमा ल्याइएको बताउँछन् । बिज्ञ चिकित्सकहरू समेत सहभागी रहेको यस डेस्कबाट सम्पर्कमा आएकाहरूलाई सक्दो सहयोग पुरयाइने गरेको उनको भनाई छ ।

चिकित्सकहरूको भनाई मान्ने हो भने समयमा रोगको उपचार नगर्नु नै मानसिक रोग बढ्नुको मुख्य कारक हो । उनीहरू त आँफूले उपचार गर्ने अधिकांश बिरामीहरू समयमा उपचार गर्न नआउने र रोगले च्यापिसकेपछि मात्र उपचारका लागि आउने गरेको अनुभव सुनाउँछन् । उनीहरू मानसिक रोग पनि अन्य रोगजस्तै सामान्य रोग भएको बुझाउनकालागि पहल गर्नुपर्ने बताउँछन् । ‘अहिले पनि मानसिक रोग लागेको ब्यक्तिलाई यो रोगको स्वीकार गर्न र समयमै उपचार गर्न ग्लानी हुने गरेको पाइएको छ ।’ मेलबर्नमा लामो समयदेखि मानसिक रोग बिशेषज्ञका रुपमा काम गरिरहेका डा. अनुपम पोखरेल सुनाउँछन् । उनी यो रोगका बिरामी समयमै सम्पर्कमा आए अन्य रोग सरह नै निको हुने बताउँछन् ।

आखिर जे भएपनि अष्ट्रेलियाको तथ्यांक झै प्रत्येक ५ नेपालीमा एकमा मानसिक रोग रहेको चिकित्सकहरूको दाबी छ । यसको न्युनिकरण र रोकथामका लागि सुचना, सहयोग र उपचार नै प्रमुख कुरा रहेकोमा कसैले पनि दुईमत गर्न सक्तैन् । अर्काेतिर, बिद्यार्थी नै मुख्य ब्यवसायको स्रोत भएका कन्सल्टेन्सीहरूले बिद्यार्थीहरूलाई समय अनुसार आवश्यक सम्पर्क, सल्लाह, सुझाव र आवश्यक सहयोग पुऱ्याइदिए र समाजमा स्वयंसेवकका रुपमा काम गरिरहेका एनआरएन लगायतका संस्थाहरूको पहलकदमी यसको रोकथाममा महत्वपूर्ण हुन आउँछ । मुख्य रुपमा त उच्च शिक्षा र उज्वल भविष्यको खोजीमा यहाँ आएका बिद्यार्थीहरूले नै सही जीवनयापन, राम्रा साथी, सीमित महत्वकांक्षा र सहज सामाजिक जीवन बिताउने कोशिष गरेको खण्डमा मानसिक रोगको समस्या धेरै हदसम्म समाधान हुनेमा दुबिद्धा नहुन सक्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार