जीवा लामिछाने

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हालै पांच सय र एक हजारका बैंक नोटहरु बिमुद्रीकरण गरे ! बिशेषगरी अस्थिर अर्थतन्त्र भएका मुलुकहरुमा समय समयमा यसै गरी राष्ट्रिय मुद्राहरु बिमुद्रीकरण हुने गरेको हामीले देखेका छौं !
सोभियत संघ र रुसमा पनि पटकपटक राष्ट्रिय मुद्रा रुबलको अवमुल्यन र बिमुद्रीकरण गरिएको थियो !
यस लेखमा रुसको राष्ट्रिय मुद्रा रुबलको अबमुल्यन र बिमुद्रीकरणका बिषयमा छोटो चर्चा गरिनेछ !
भ्लादिमिर लेनिनले नयाँ आर्थिक निती अबलम्बन गरे पछी प्रथम मनेटरी रिफर्म सन् १९२२ मा सुरु गरेका थिए ! त्यस रिफर्मको मुख्य लक्ष जारकलिन मुद्रा (जुन प्रत्यक्ष रुपमा सुन र अन्य बहुमुल्य रत्नहरुसंग भारित थियो) लाई भारी रुपले अबमुल्यन गर्नु रहेको थियो !
१९४७ मा स्टालिनले रुबलको पुन: बिमुद्रीकरण गरे जसलाई दोश्रो मौद्रिक सुधार योजना (देनेज्नाया रिफर्मा) भन्ने नाम दिएको छ ! नयाँ मौद्रिक नीति पश्चात कुनै पनि व्यक्तिले आफ्नो बैंक खातामा रहेको तिन हजार रुबल सम्म पुरै रकम साट्न पाउने सुबिधा उपलब्ध गराईयो ! तिन हजार रुबल भन्दा माथि दस हजार रुबल सम्मको रकम बैंक खातामा हुनेहरुले एक तिहाई रकम कम हुने गरि नयाँ मुद्रा साट्न पाउने भए ! दसहजार रुबल भन्दा बढी रकम बैंकमा हुनेहरुले नयाँ मुद्रा आधा मात्रै पाउने ब्यबस्था गरियो ! बैंक खातामा जम्मा नभई घरमै पैसा राख्नेहरुले भने दस भागको एक भाग मात्रै नयाँ रकम साट्न पाउने भए ! यतिसम्म गरियो कि सरकारले बिभिन्न समयमा जारी गरेका ऋणपत्रहरुलाई समेत एक/तिन देखि एक/पांच सम्मको अनुपातमा नयाँ मुद्रामा भुक्तानी गरियो ! यस मौद्रिक नीतिले राज्यलाई आर्थिक रुपमा केहि फाइदा भए पनि नागरिकहरु भने राज्यबाट नराम्रोसंग ठगिएका थिए ! स्टालिनले मौद्रिक नीति सुरु गरेको झन्डै ४० बर्ष पछी म सोभियत संघ अध्ययन गर्न पुग्दा सोभियत नागरिकहरु स्टालिनको त्यो मौद्रिक नीतिलाई सोभियत सरकारले आफ्ना नागरिकहरुसंग गरेको सबैभन्दा ठुलो धोका र लुट हो भन्ने गर्थे !
अर्को पटक निकिता ख्रुस्चेबले सन् १९६१ मा रुबलको अबमुल्यन र बिमुद्रीकरण गरेका थिए ! त्यतिबेला राष्ट्रिय मुद्राको बिमुद्रीकरण मात्रै नभएर भारि मात्रामा अबमुल्यन समेत गरिएकोले जनताहरु फेरी पनि ठुलो मर्कामा परेका थिए !
सन् १९८५ मा मिखाइल गोर्बचोबले सुधारबादी योजना पेरेस्त्रोइका र ग्लासनोस्त सुरु गरेपछी पहिले नै जर्जर भइसकेको सोभियत अर्थतन्त्र झन् कमजोर हुन् थाल्यो ! बजारमा सबै थरिका सामानहरुको प्राय: अभाव रहन्थ्यो ! महंगी त्यसै गरि आकासियो ! सन् १९९१ सम्म आइपुग्दा अर्थतन्त्रले बिकराल रुप लिन थाले पछी तत्कालिन प्रधानमन्त्री भ्यालेंटिन पाभ्लोभले मुद्रा बिमुद्रीकरण योजना अघि सारे ! २२ जनवरी देखि ३ दिन भित्र उक्त समयका सबैभन्दा ठुला पचास र एकसय रुबलका बैंक नोटहरु जनही एकहजारका दरले बैंकमा साट्न पाउने ब्यबस्था गरियो ! पचास भन्दा साना बैंक नोट भने दुई महिना भित्रमा साट्न पाइने ब्यबस्था गरियो ! त्यस बिमुद्रीकरणको चपेटामा सोभियत संघमा अध्ययन गर्ने हामी जस्ता विद्यार्थीहरु समेत परेका थियौं !
यसै प्रसंगमा मलाई सन् १९९४ अक्टोबर महिनाको ११ तारिकको संझना हुन्छ, जतिखेर रुवलले आफ्नो मूल्य एकै दिनमा कयौं गुना गुमाएको थियो । त्यो मंगलवारको दिन थियो । र, रुसको इतिहासमा त्यो दिन च्योर्नी फ्तोरनिक अर्थात कालो मंगलवार भन्ने नामले अंकित हुन पुगेको छ । देशको अर्थतन्त्र नै डांवाडोल पार्ने त्यस कालो मंगलवारको घटनापछि रुसको केन्द्रीय बैंकका तत्कालीन गभर्नर भिक्टर गेराशेन्कोले राजीनामा दिनुपरेको थियो । त्यस घटनापछि रुसमा एकसय रुवलको नोटले एक बट्टा सलाई पनि किन्न नसकिने भयो र व्यांकले हजार अनि लाख रुवल मूल्यका व्यांकनोटहरु छाप्नुपरेको थियो । मानिसहरु बजारमा मोलतोल गर्दा समेत एक लाखभन्दा कमको कुरै गर्दैनथे र सजिलोको निम्ति हजारको व्यापाक प्रयोग गरिन्थ्यो वा हजार भन्ने शब्दको उच्चारण नगरी अंकको मात्र चर्चा गर्दा पनि मानिसहरु हजारको कुरा भइरहेको छ भन्ने सहजै अनुमान लगाउंथे ।
सन् १९९८ को जनवरी महिनामा रुबलको पुन: बिमुद्रीकरण गरियो ! यसपटक भने बैंक नोटबाट पछिल्ला तीन शून्य हटाईएका नयां व्यांकनोट प्रचलनमा ल्याईयो ! उदाहरणका लागि हाल प्रचलनमा रहेको एकसय रुबल १९९८ अघिको एक लाख रुबल बराबर हो ! यस बिमुद्रीकरण पछी लामो समयसम्म मानिसहरु नयाँ बैंक नोटमा समेत हजार थपेर कुरा गर्न सजिलो मान्ने गर्थे ।
व्यापकरुपमा रुवलको एक्कासी अर्को अवमूल्यन सन् १९९८ अगस्ट १७ का दिन फेरि भयो । त्यतिखेर रुवलको मूल्य एकै दिनमा ३ गुणा (अर्थात तिनसय प्रतिसत) कम हुन पुगेको थियो । त्यस घटनाले डेफोल्ट भन्ने नाउं पाएको छ । त्यो घटना घट्नुभन्दा पहिले डलर र रुवलको सटही दरको अनुपात एक र सातको थियो भने डेफोल्टपछि डलरको मूल्य एकाएक बाइस रुवलसम्म पुगेको थियो । तत्कालीन युवा प्रधानमन्त्री सेर्गेइ किरियेन्कोले रुसको सरकारद्धारा पहिले जारी गरिएको राजकीय अल्पकालीन ऋणपत्र (गेकाओ) को भुक्तानी दिन रुस असमर्थ छ भन्ने घोषणा गरेपछि रुसको व्यांकप्रणाली नै धराशायी हुन पुगेको थियो र सेर्गेइ किरियेन्कोको सरकारले राजीनामा दिनुपर्यो । अगष्ट १७ को आर्थिक संकटपछि थुप्रै बैंकहरुको रातारात टाट पल्टे । मानिसहरुले जम्मा गरेको पैसा नै बैंकहरुले भुक्तानी दिन नसकेपछि बैंकप्रति मानिसहरुको विश्वास स्वतः गुम्न नै गयो । त्यस घटनापछी आजसम्म पनि कयौं मानिसहरु बैंकमा नराखी घरमै पैसा लुकाएर राख्ने गर्दछन् । रसियालीहरु बैंकलाई बान्क भन्दछन् र यसै शब्दसंग मिल्दोजुल्दौ अर्को बान्का भन्ने रुसी शब्द पनि छ जसको अर्थ हुन्छ, कांचको ठूलो सिसी । यसैलाई ठट्टा गर्दै उनीहरु भन्ने गर्दछन्: बैंकमा पैंसा राख्नुभन्दा बान्कामा लुकाएर राख्नु वेस । यसरी रकम बैंकमा नरही जनताको घरमा जम्मा हुँदा राज्यको अर्थतन्त्रलाई यसले असर त पार्ने नै भयो । यस घटनापछी देशको अर्थतन्त्र मात्र नभई सम्पूर्ण राजनैतिक अवस्था नै डामाडोल हुन पुगेको थियो । यस घटनापश्चात नचाहंदा नचाहँदै पनि रुसको संसद राजकीय दूमाको सिफारिसमा राष्ट्रपति बोरिस येल्सीनले तत्कालीन परराष्ट्रमन्त्री येभ्गेनी प्रिमाकोभलाई प्रधानमन्त्रीको पदमा नियुक्त गर्नुपरेको थियो ।
रुवलको विनिमय मूल्य निक्कै अस्थिर हुने भएकोले त्यहाँ मालसामानको मूल्य निर्धारण गर्न हामीलाई निक्कै कठिन हुन्थ्यो ! कहिलेकाहीं एकै दिनमा विनिमय दर कयौं प्रतिसतले तलमाथि हुने भएकोले बिक्रि गरिने सामानको मूल्य निर्धारण गर्दा त्यहाँका व्यापारीहरुले सर्प पनि नमर्ने, लठ्ठी पनि नभांचिने उपाय निकालेका थिए ! मालसामानको मूल्य डलर वा रुवलमा नजनाई तथाकथित अनुमानित एकाई (उस्लोब्नाया एदिनित्सा अर्थात उए) तोक्ने गरिन्थ्यो ! रुसी भाषामा उस्लोभ्नाया एदिनिच्चा भन्ने वाक्यांशाको आधारमा उए भन्ने काल्पनिक मौद्रिक एकाई चलनचल्तीमा ल्याइएको थियो जसको वास्तविक अर्थ चाहिं डलर भनेर बुझ्ने गरिन्थ्यो !
आफ्नै राष्ट्रिय मुद्राबाट पटकपटक धोका खाएकोले रुसी नागरिकहरुमा अझै पनि रुबलप्रति चरम अविस्वास छ ! राष्ट्रिय मुद्रा रुबल यदाकदा यहाँ जोकको बिषय पनि बन्ने गर्छ ! रुस संसार मै सबैभन्दा बढी बनजंगल भएको देश हो र काठ यहाँ अझै पनि निक्कै सस्तोमा उपलब्ध हुन्छ ! राष्ट्रिय मुद्राको मूल्य काठ झैं सस्तो भएकोले रुबललाई रुसी जनताहरु ‘देरेभ्यान्नी’ अर्थात काठको मुद्रा भनेर उपहास गर्ने गर्छन !
रुवलको अस्थिरता हाल पहिले जस्तो व्यापक नभए पनि केही हदसम्म अझै पनि यो कायमै छ । सन् १९९९ मा भ्लादिमिर पुटिन रास्ट्रपति भए पछी तेलको मुल्यमा आएको भारी बृद्दीका कारण सन् २०१४ सम्म रुबलको विनिमयदर तुलनात्मक रुपमा निक्कै स्थिर रहेको मान्न सकिन्छ ! उक्त अबधिभरि रुबलको विनिमय दर एक डलर बराबर ३० रुबलको आसपास रहेको थियो ! तर सन् २०१४ मा क्रिमियाको बिषयलाई लिएर अमेरिका लगायत पश्चिमी मुलुकहरुसंग रुसको सम्बन्ध बिग्रे पछी भने रुबल पुन: अस्थिर हुन थालेको छ !
भारतमा पांच सय र हजारका बैंक नोट बिमुद्रिकरण गर्नु पर्ने मुख्य कारण त्यहाँ व्यापकरुपमा बिध्यमान जालीनोट कारोबार, कालोधन, र आतंकबाद नियन्त्रणका लागि हो भनिएको छ ! नयाँ नोट साट्नकालागि निक्कै सास्ती भोग्नु परे पनि अधिकांश जनताले त्यस कार्यको समर्थन गरेको अनुमान छ ! तर रुसमा पटकपटक बिमुद्रीकारण गर्नु पर्ने माथि उल्लेखित कुनै कारणहरु थिएनन ! पछिल्ला केहि अपबाद बाहेक धेरैजसो बिमुद्रीकरण र अबमुल्यनहरु आम नागरिकसंग रहेको बचत रकमलाई नै टार्गेट गरेर गरिएको थियो !

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार