नेपालको राजनीतिक इतिहासमा कांग्रेस सबै भन्दा पुरानो पार्टी हो । वि.स. २००३ सालमा स्थापना भएको कांग्रेसले नेपालमा भएका सबै परिवर्तनकारी आन्दोलनहरुको नेतृत्व गरेको छ । राणा शासन हटाउन होस् वा पञ्चायती व्यवस्था हटाउन, त्यस्तै २०६३ को दोस्रो जनआन्दोलन होस वा संविधान निर्माणको अभिभारा, सबैको नेतृत्व नेपाली कांग्रेसले नै गरेको इतिहास छ । त्यसैले पनि काँग्रेसको लोकतान्त्रिक छवि अन्तर्राष्ट्रिय रुपमा पनि चिरपरिचित छ । तत्कालिन समयमा स्थापना भएर अगाडि बढ्दै गर्दा यस पार्टीमा युवाहरुकै बर्चस्व थियो । तर समयको गति सँगै अहिले यो पार्टी बुढा पुरानाहरुको बाहुल्यता रहेको आरोप लाग्न थालेको छ । यसको मतलव यो होइन कि यसमा युवाहरु नै नभएका हुन् । स्वाभाविक हो यसमा कुनै बुढापुरानाको दोष होइन यो त सबैमा हुने एउटा अहंमको परिणाम हो । यदि यसको विधान मै एउटा निश्चित सीमा तोकेर कार्यावधी तोकिएको भएमा समय सापेक्ष नेतृत्व आउने कुरामा कुनै दुई मत थिएन । यतिखेर १३ औ महाधिवेसन भैरहँदा पनि स्थानीय तहदेखि केन्द्रिय तहसम्म युवाहरु बाहुल्यता छ तर नेतृत्वमा युवा वर्ग कम छन् ।
नेपाली कांग्रेसको स्थापनादेखि कोइराला परिवारको विशेष भूमिका अवस्य नै छ यो पार्टीमा । यसो भन्दैमा कोइरालाप्रति नै झुकाव भएको होइन र पूर्वाग्रही हुनु पनि राम्रो होइन । विपीले पार्टी स्थापना गर्दा आफू अध्यक्ष नवसेर टंक प्रसाद आचार्यलाई अध्यक्ष बनाएका थिए भने २०३६ सालमा कृष्ण प्रसाद भट्टराईलाई कार्यबहाक दिएका थिए । चुनावी प्रकृयामा कसैले जित्छ भने त्यो पार्टी त्यही व्यक्ति विशेषको होइन । यदि कसैले पार्टीलाई व्यक्ति विशेषसंग जोडेर हेर्छ भने त्यो कार्यकर्ताप्रतिको घोर अपमान हो । त्यसमा पनि राजनीतिमा परिवारहरु सक्रिय हुनुलाई नराम्रो भन्न पनि त मिल्दैन । आखिर दक्षिण एसियामा भारतमा गान्धिहरु, श्रीलंकामा, वंगलादेशमा त्यतिमात्रै होईन अमेरिका जस्तो देशमा बुसको दुई सन्तान राष्ट्रपति भैसके भने यतिखेर नाती जेव बुस राष्ट्रपतीय चुनावमा प्रतिस्पर्धामा छन् । विल क्लिन्टनकी श्रीमती यतिखेर डेमोक्रयाटबाट राष्ट्रपतिको प्रत्यासी बन्दैछिन् । यसबाट के देखिन्छ भने राजनीतिमा पनि आफ्नो परिवारबाट प्रेरित भएर राजनीतिमा योगदान दिएको छ भने त्यसलाई परिवारको विरासतको रुपमा लिनु अन्याय पनि हुन्छ । विश्वमा नै परिवारका रुपमा राजनीति झाँगिएको पाईन्छ । मात्रै आफ्नो परिवारले राजनीति गरेको नाममा उनको परिवारले अनावश्यक फाईदा लिनु अपराध नै हो ।
वि.सं. २००३ देखि २०७२ सालसम्म आउँदा नेपाली कांग्रेसले १३ औं महाधिवेसन सम्पन्न भएको छ । मुलुकको एकमात्र लोकतान्त्रिक पार्टी भएकोले पनि विश्व जगतको आशा र भरोसा पनि त्यहि पार्टी प्रति रहेको छ । ठूलो पार्टी हो, पूरानो पार्टी हो जसले गर्दा यसमा नेतृत्वका आकाँक्षीहरु धेरै हुन्छन् । त्यसका कारण नेतृत्वमा हुने हरेकले सोच्नु पर्ने हुन्छ । संधैभरी आफ्नै महत्वकाँक्षा राख्नु हुँदैन । एउटै कार्यकाल चार वर्ष हुन्छ त्यस माथि समयमा अधिवेसन नहुने अर्को समस्या पनि छ । एउटा कार्यकाल आफ्नो नेतृत्वमा पार्टी चलाएपनि पुनः अर्को कार्यकालको लागि त्यसैमा टाँसिइरहने अहंम् कसैले पनि राख्नु हुँदैन । पार्टीमा भएका अरु व्यक्तिहरुलाई पनि अवसर दिनु पर्दछ तव मात्र पार्टी गतिशिल हुन्छ । यदि एउटै व्यक्ति पटक पटक नेतृत्वमा बसिरहने हो भने त्यो पार्टी  र व्यक्ति दुबैका लागि घातक हुन्छ । त्यसैले विधान संसोधन गर्ने र त्यसलाई कार्यन्वयन गर्ने पार्टीको मुख्य जिम्वेवारी हो । बुढी मरी भन्दापनि काल पल्क्यो भन्ने चिन्ता हुन थालेको छ अहिले पार्टीमा । जो नेत्तृत्वमा हुन्छ उसले आफू अनुकुल विधान संसोधन गर्दै जाँदा पछि त्यही घाँडो बन्न जान्छ । त्यसैले पार्टीमा विचार भएका क्षमता भएका युवा पिडीलाई स्थान दिनु पर्दछ । राजनीति पेशा बनाउनेहरुले त्यसलाई विकृतिपूर्ण बनाई रहेको यो बेला राजनीति समाजसेवा भन्ने बनाउनु पर्दछन ।
वास्तवमा कांगेसको अवस्था यस्तो छ कि कसैले पनि कसैलाई अगाडि बढेको देख्न नसक्ने खालको ईगो देखिन्छ । आन्तरिक राजनीति गुटबन्दीले निकै कमजोर बनाउदै लगिएको छ । एउटा साथी अगाडि बढ्न खोज्यो त्यही पार्टीको अर्को लाग्छ कसरी त्यसलाई लडाउने, पछार्ने भन्ने खेलमा बढी समय खर्चेको देखिन्छ । यसरी पार्टीभित्रको आन्तरिक कलहले अहिले नेपाली कांग्रेस कमजोर बन्दै गएको छ । कांग्रेस भित्र बढ्दै गएको यो रोगलाई अबको नेतृत्वले जरैबाट फाल्न सक्नु पर्दछ । अहिले नेतृत्वमा भएको व्यक्तिले आफ्नो व्यक्तिगत स्वार्थलाई भन्दा कसरी पार्टीलाई सदावहार जनताको पार्टी बनाउने भन्नेतिर खोज्नु पर्दछ । नेपाली काँग्रेस नै जनताको पार्टी हो भन्ने  जनतामा पार्न सक्नु पर्दछ । वास्तवमै नेपाली कांग्रेस ठूलो पार्टी हो । यदि पार्टी भित्र घात प्रतिघात हुन्थेन भने यसले देशमा भएका अरु पार्टीलाई विस्थापित गरि सक्थ्यो अफसोस त्यो हुन सकेन । यो सबै पार्टीभित्र भएको चम्चागिरीकै परिणाम हो । दुई चार जना यस्ता पनि छन् कि, आफ्नो कुनै हैसियत छैन नेतृत्वको चम्चागिरी गरेरै पार्टीमा पकड जमाउन खोज्छन् । कहि नबिकेका र समाजमा बद्नाम भएकाहरु राजनीति गर्न आएको यो बेला त्यस्ता विकृतिलाई रोकेर काँग्रेसले युवा त्यसमा पनि पढेलेखेकाहरुलाई आकर्षण गर्न सक्नु पर्दछ । समाजसेवागर्न आउने व्यक्ति स्वार्थ भन्दा माथि उठेर अग्रसर हुनु पर्दछ ।
नेपाली कांग्रेस पार्टीलाई साँच्चिकै जनस्तरको पार्टी बनाउनको लागि सबभन्दा पहिले पार्टीमा भएको गुठ उपगुठलाई हटाउनु पर्दछ । यसलाई सबैले व्यवहार मै नेपाली कांग्रेस एक पार्टी हो यसमा कुनै गुठ उपगुठ छैन भन्ने बनाउनु पर्दछ । पार्टीभित्र कसैले कसैको नाम लिएर राजनीति गर्न नपरोस् मात्र नेपाली कांग्रेसको नाम आओस् । पार्टी एक हुन्छ भनेर मात्र हुँदैन विधान नै संशोधन गरेर पार्टीको कुनैपनि तहको निर्वाचनमा कसैले पनि प्यानल खडा गर्न पाउनु हुँदैन । प्रजातान्त्रिक प्रकृया हो व्यक्ति व्यक्ति लडुन् तर प्यानल कसैले पनि खडा गर्न नपाउन् । त्यसो हुने हो भने पार्टी बल्ल एक हुन्छ । कांग्रेसका जुनसुकै कमिटीमा पनि प्यानल खडा नहोस् मात्र नेपाली कांग्रेस बनोस् । गाउँ, नगर, जिल्ला,  क्षेत्र, केन्द्र लगायत जनसम्पर्क, भातृ संगठनहरुमा समेत प्यानलगत चुनाव हुँदा काँग्रेस कहिल्यै एक हुन सकेन भन्ने गलत सन्देश गएको छ । त्यसैले अबको नेतृत्वले कुनैपनि कमिटीमा प्यानलको घोषणा गर्न नपाउने नियम विधान संसोधन गरेर भएपनि बनाउनु पर्दछ र त्यसलाई कडाइका साथ लागु गर्नु पर्छ । एउटा यो कारणले कांग्रेस व्यवहारमै एक हुन्छ भने अर्को पार्टीको नेतृत्व र सरकारको नेतृत्व फरक फरक व्यक्तिले गर्नु पर्दछ । पार्टीलाई कसरी गतिशिल र जनस्तरको पार्टी बनाउने भन्ने कुरा पार्टी नेतृत्वले गर्नु पर्दछ भने पार्टीको विश्वासनीयता कसरी जनतामा स्थापित गराउने भन्ने कुरा सरकारको नेतृत्व गरेकाले बुझ्नु पर्दछ । त्यसो भयो भने सरकारले राम्रो काम गर्दछ र पार्टीप्रति जनताको विश्वास बढ्दै जान्छ । त्यस्तो अवस्थामा पार्टी नेतृत्वले जनतालाई पार्टीमा समाहित गर्दै पार्टी विस्तार गर्दै लैजाने काम गर्नु पर्दछ ।
यसरी नेतृत्वमा हुने व्यक्तिमा लोभ नवसोस्, पार्टीका सम्पूर्ण कार्यकर्ता समान हुन् कोहीलाई काखा कोहीलाई पाखाको स्थितिको सृजना नहोस्, सबैलाई आफ्नो हैसियत अनुसारको जिम्बेवारी दिँदै जाओस् । आम कार्यकर्तामा आफ्नोपनको महशुस होस् । नेतृत्वमा हुने व्याक्तिमा लोभ बढ्दै गयो भने त्यो कालान्तरसम्म पनि घाँडो बन्दै जान्छ । यदि नेतृत्वले आफ्नो स्वार्थलाई नहेरेर पार्टीलाई नियम र अनुशासनमा चलाउँछु भनेर लाग्ने हो भने पुस्तौं पुस्ताले सम्मानजनक रुपमा सम्झिरहने छन् । यो सम्मानको लागि अबको नेतृत्व नचुकोस्, पार्टी आसेपासे र चम्चागिरीको स्वार्थ अनुसार नचलोस् योग्य र कर्मठ पुस्तामा हस्तान्तरण हुँदै अगाडि बढोस् ताकी एउटै व्यक्ति लिसो झैं नेतृत्वमा टाँसिइरहने प्रवृतिको अन्त्य होस् । नयाँ नेतृत्वलाई पार्टी साँच्चिकै नयाँ ढङ्गले अगाडि बढाउने प्रेरणा मिलोस् । सफल कार्यकालको हार्दिक शुभकामना !!!

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

सकसमा एनआरएनका छ महिना

/बिहि, अशोज ५, २०७४