घिउ बेचुवा र तरवार वेचुवा” यो नेपाली उखान ज्यादै प्रख्यात, प्रचलित र जनजिव्रोमा झुण्डिएको छ । तर, यस उखान र यसका पात्रहरू तथा कथावारे धेरैलाई थाहा नहुन सक्छ । त्यसैले, यस आलेखमा “घिउ बेचुवा र तरवार वेचुवा”उखानका पात्रहरू तथा कथाको सार र अभिष्ठलाई नेपालको केही महिनायतादेखि घटेको राजनीतिक घटनाक्रमहरू संग दाँजेर तुलना गर्ने जमर्को गरेको छु ।

वल्लो गाँउको रामे र पल्लो गाँउको कृष्णे दुवै महाचतुर थिए । उनीहरू दुवैलाई आफुहरूलाई कसैले पनि झुक्याउन सक्दैन भन्ने घमण्ड थियो । उनीहरू गाँउमा लाग्ने हटिया मेला (हाटवजार)महोत्सव अरु समयमा पनि केही न केही सामानहरू छिमेकी गाँउवाट मागेर, चोरेर वा झुक्काएर ल्याएर भएपनि आँफैले वनाएको भनेर वेच्ने गर्दथे । जसवाट उनीहरूले आफ्ना परिवारलाई मात्र नभइ केही लठैतहरू लाई पनि आश्रित वनाइ सकेका थिए । एकपटक रामेले पारी गाँउवाट आधा–माना घिउ र केही कुहिएको पिडालु वन्दोवस्तो गरेछ । उसले दुई मानाको भाँडामा कुहिएको पिडाँलुलाई तलतिर डेढ माना र शुद्ध घिउ आधा–मानामाथि पट्टि राखेर हटियामा वेच्न लगेछ । त्यसैगरि, कृष्णेले पनिवारी गाँउवाट एउटा लाहुरेलाई – “तरवार छोपेर राख्यो भने कसैले पनि देख्दैन, खिया लाग्छ र कसैले आक्रमण गर्‍यो भने म्यानवाट तरवार निकाल्न गाह्रो हुन्छ, त्यसैले म्यानको काम नै छैन अपरझटमा म्यानले गर्दा तरवार प्रयोग गर्न सकिदैन”भन्दै फस्ल्याङ–फुस्लुङ पारेछ र म्यान लगेछ । म्यान त भयो अव कसरी तरवार त्यसमा राखेर वेच्नलाने भन्दै परिकल्पना गरेछ र अन्त्यमा कार्डवोर्डको तरवार वनाएर स्टिलको रङलगाइ हटियामा वेच्न लगेछ ।

घिउ वेच्न वसेको रामेको घिउ किन्न आउने ग्राहकहरूले चम्चाले तलसम्मको घिउ हेर्न खोज्दा ऊ रिसाएर हेर्नै दिँदैनथ्यो । हेर्न नपाएपछि घिउ बिक्ने त कुरै भएन, कसैले पनि उसको घिउ किन्दैकिनेन । अर्कोतर्फ, तरवार बेच्न वसेको कृष्णेले पनि तरवार समातेर कसैले केही काटेर तरवार जाँच्नखोज्दा ऊ दिदैनथ्यो र हेरेर मात्र किन्नु पर्छ भन्थ्यो । आखिरमा राति हुँदासम्म पनि रामे र कृष्णे दुवैका तरवार र घिउ बिकेन । हटिया वन्द भयो पसलहरू सबै वन्दभए, ग्राहकहरू गए । उनीहरू दुईजना मात्रै हटियामा बाँकीरहे । उनीहरू दुवै आफलाई महाचतुर ठान्थे र दुवैले मन–मनै एक–अर्कोलाई झुक्याएर आफ्नो समान वेच्ने निधो गरे । रामे र कृष्णे दुवैले आ–आफ्नो मालको तारिफ गर्न कुनै कसर वाँकी राखेनन् । दुवैले एक–अर्कालाई आफ्ना सामान वेच्न सकेनन् । अन्त्यमा, दुवैले आफ्नो सामानको गुणगान गर्दैसाट्ने निर्णयमा पुगे । उनीहरूले तरवार र घिउ साटा–साट गरेर घर फर्किए । रामे र कृष्णे दुवैले एक–अर्कालाई झुक्याउन सफल भएकोमा दङ्ग भए । घरमा गएर कृष्णेले घिउ हेर्दा घिउको तलभएको पिँडालु पूरै कुहेको पाए र सँगै खन्याएकाले घिउ पनि काम लागेन । उता तरबार लाने रामेले पनि तरवार काठमा हान्दा काठलाई केही भएन तर तरबार भने भाँचियो ।भाँचिएको तरबार पनि कार्डवोर्डको थियो, उसले कार्डवोर्डवाट आगो वाल्छु भन्दा कार्डवोर्ड पनिराम्ररी वल्दै वलेन । कार्डवोर्डले दाउराको काम पनि गरेन ।  रामे र कृष्णे दुवै एक–अर्कावाट ठगिए । अन्त्यमा, आफुले पनि अर्कोलाई कामै नलाग्ने वस्तु भिडाएर मूर्ख वनाएको भन्दै दुवै दङ्ग परेछन् ।

नेपालको राजनीतिक इतिहासमा कम्युनिस्ट पार्टीहरूको जुट्ने र फुट्ने क्रम यसको स्थापनाकालदेखि नै भएको पाइन्छ । हाल एमाले र माओवादीबीचको एकताको कुरा जसरी अगाडि बढेको छ त्यसले माथि उल्लेख गरिएको रामे र कृष्णेको घिउ वेचुवा र तरवार वेचुवाको कथालाई अधिकार गरे जस्तो भएकोछ । चुनावी अभियानका क्रममा दुवै दलका नेताहरूका विचार, अभिव्यक्ति, भनाइ र गराइले पनि यसलाई थप प्रमाणित गरिरहेको छ । पहिला चुनावअघि नै यी दलहरूबीच एकता हुने भनिएको थियो । फेरि, केही समय पछि हाललाई एकता सम्भव छैन, चुनावपछि गरौँला भने । केही समयपछि एउटै चुनाव चिन्हमा निर्वाचनमा जाने निर्णय भएको कुरा वाहिर आयो । अन्त्यमा, प्राविधिक कुराले पार्टी एकिकरण गर्न मिलेन भन्दै छुट्टा–छुट्टै पार्टीको रुपमा आ–आफ्नै चुनाव चिन्ह लिएर चुनावमाजाने निर्णय भयो । अहिले भावनात्मक रुपले पार्टी एक भइसकेको र चुनावको परिणाम पछि एमाले–माओवादीपार्टी एकिकरण हुने कुुरा दुवै पार्टीका अध्यक्षहरूले सार्वजनिक रुपमै चुनावी आमसभामा वताइरहेका छन् । तर, उनीहरू वाम गठवन्धनले दुईतिहाइ मत ल्याउने र त्यसपछिको आँकडा अनुसार पार्टी एक हुने पनि बताउन चुकेका छैनन् । यसैगरि, यी दुईपार्टीका दोस्रो तहका नेताहरूद्वारा चुनावी–सभामा व्यक्त विचारहरूले पार्टी एकताको कुरा भन्दा पनि मतदातालाई एक–अर्काको चुनाव चिन्हमा मत हाल्न कार्यकर्ताहरू लाई निर्देश गरिरहेका छन् ।

एमालेप्रतिमा माओवादीको र माओवादीप्रति एमालेको पूर्ण विश्वास नरहेको कुरा विभिन्न स्थानमा माओवादी तथा एमाले कार्यकर्ताहरू बीच भएको दोहोरो झडपले पनि प्रमाणित गरेकोछ ।

माओवादीको कथित १० वर्षे हिंसात्मक गतिविधिमा भएका मानवता विरोधी कामहरूले उनीहरूलाई मानवता विरोधि अन्तराष्ट्रिय कानूनले सताएको छ । जसका कारणले उनीहरू जुनसुकै वेलमा अन्र्तराष्ट्रिय अदालत “हेग” जानु पर्ने अवस्था एकातर्फ रहेको छ भने अर्कोतर्फ द्वन्द्वबाट पीडित कांग्रेस र एमालेका मानिसहरूमा पनि त्यो पीडा सकिएको छैन । कानुनी कठघराबाट बच्न माओवादीलाई राम्रो सहयोगी चाहिएको छ । यस विषयमा कांग्रेसभन्दा एमालेवढि सहयोगी हुन सक्ने र कम्युनिष्टको बहुमतको भावना जगाएर बहुमत आएमा एमाले र माओवादी हिंसात्मक गतिविधिमा आममाफीका लागि तयार रहने कुरा वाहिरआएकोछ ।

यसैगरि, नेताहरूले जे भने पनिद्वन्द पिडितहरू आफ्ना बाबुआमा, काखका सन्तान तथा पति–पत्नी,इष्टमित्र, आफन्त तथा साथीभाइ गुमाउनेहरूले माओवादीलाई मतदिन कठिन नै हुन्छ । द्वन्द्वमा मरेका र सताइएका आफन्तभन्दा दलको निर्णय र मत ठूलो हुँदैन भन्ने अभिव्यक्तिहरू धेरैतिरबाट आइरहेका छन् । एमालेप्रतिमा माओवादीको र माओवादीप्रति एमालेको पूर्ण विश्वास नरहेको कुरा विभिन्न स्थानमा माओवादी तथा एमाले कार्यकर्ताहरू बीच भएको दोहोरो झडपले पनि प्रमाणित गरेकोछ । यसैगरि, एमालेले वामएकताको नाममा माओवादीबाट मतलिने र आफ्ना मत कांग्रेसलाई दिने सम्भावना पनि देखिएकोछ । एमाले र माओवादी दुवैलाई थाहा छ कि यो चुनावमा जुन दल ठूलो हुन्छ त्यो नै देशको कम्युनिस्ट विचारको मूलधार मानिनेछ । यही कारणले माओवादीबाट पीडितहरूले कांग्रेसलाई मतदिने सम्भावना पनि उत्तिकै छ । यसै क्रममा, वाम गठवन्धन बीच धेरै विवादास्पद् र एक–अर्कामा मेल नखाने काम कारवाहिहरू भएका छन् उदारणको लागि विपरित ध्रुवको राजेन्द्र महोतोलाई एमालेको साथ र राप्रपा नेपाललाई केहि क्षेत्रमा वाम गठवन्धन तथा केहि क्षेत्रमा लोकतान्त्रिक गठवन्धन आदी ।

यसैबीच, कतै ४०प्रतिशत सिट पाएको माओवादीले ३०–३२ प्रतिशत सिट तथा ६० प्रतिशत पाएको एमालेले ३५–४० प्रतिशत सिट जितेमा आगामी प्रधानमन्त्रीको दाबेदार माओवादी बन्ने मात्र होइनन् पाए पुन:कांग्रेससँग मिल्ने सम्भावना पनि विगतको इतिहासले प्रमाणित गरेकैछ । हिजोसम्म माओवादीले एमालेलाई कम्युनिस्ट पार्टी नै होइन भन्ने गरेको थियो । एमालेले माओवादीलाई उग्रवामपन्थी, अवसरवादी आदिको आरोप लगाएकै हो । एकले अर्कोलाई कम्युनिस्ट होइन भन्ने र कम्युनिष्टको रुपमा स्वीकार नगर्ने दलहरू एकाकार हुनचाहेको देखिएको छ । तर, माओवादीहरूले माओवादी–विचार छोड्ने कि नछोड्ने, चीनमा कम्युनिस्ट व्यवस्था आउँदाभन्दा नेपालमा बढी नै विकास भएकाले अब समाजवादमा जाने हो कि पुँजीवादकै विकास गर्ने हो भन्ने सवाल पनि छ । यदि समाजवादमा जाने भन्ने तर्क गर्ने हो भने एमालेको बहुदलीय जनवादको औचित्य समाप्त हुनेछ । त्यस्तै माओवादीले लिएको माओको नौलो जनवादको कुरा पनि समाजवादको चरणमा आवश्यक पर्ने छैन ।

चुनाव सँगै लडेको देखिए पनि को भन्दा को बलियो हुने भन्ने होडवाजिका साथ एकले अर्कालाई सिध्यायाउने र खुइल्याउने रणनीतिमा लागेको हो भन्ने आभाष विभिन्न घटनाक्रमहरूले पुष्टि गरेको छ ।

अर्कोतर्फ, नेपालमा कम्युनिष्टको अधिनायकवाद आयो भने के होला, हाम्रा सन्तान दरसन्तानको भविष्य के होला भन्नु र सोच्नु स्वाभाविकै हो । तर, नेपालमा कम्युनिष्टको नाम भजाएर अर्थ–आर्जन गर्नेहरू र एमाले निकटका एनजिओ कर्मीहरू, अस्पताल, सहकारी तथा विद्यालयका संचालकहरू र उर्जा क्षेत्रका जल माफियाहरू नै कम्यनिष्ट अधिनायकवादको विरोधमा उत्रन काफि छन्, जो हाल एमाले र माओवादीका मेरुदण्ड पनि हुन् । उनीहरू कसरी कम्युनिष्ट तन्त्रको नाम भजाएर खान पल्केका छन् भन्ने कुराको उदारण भर्खरै मात्र राष्ट्रिय चिकित्सा विधेयक संसदवाट पास हुन नसके पछि सरकारले अध्यादेश मार्फत विधेयक लेराउनु पर्‍यो । सो अध्यादेशको विरुद्धमा दुवै दलका नेताहरूले लयमा लय मिलाउदै उक्त विधेयक निस्तेज पार्ने सङ्कल्प झापामा मेडिकल कलेजको आँगन मै पुगेर दिएका छन् । त्यसैले आमनागरिकले यो पाटो तर्फ सोच्न आवश्यक नै छैन । ति मेरुदण्डहरू नै कम्यूनिष्ट अधिनायकवादको विरुद्धमा पहिला सडकमा उत्रन काफि हुनेछन् । कारण कम्युनिष्ट शव्दको आवरणमा उनीहरूलाई आफ्नो अकुत लगानी र सम्पत्तिको जोह गर्नु छ ।

अन्त्यमा, माथि उल्लेखित विषय वस्तुहरूलाई गहिरिएर सोच्ने हो भने यस आलेखको सुरु मै उठाइएको घिउ वेचुवा र तरवार वेचुवाका पात्रहरू रामे र कृष्णेको कथा जस्तै माओवादी एमालेको एकता दुई दल मिल्नका लागि एक भएकै होइनन् । उनीहरू चुनाव सँगै लडेको देखिए पनि को भन्दा को बलियो हुने भन्ने होडवाजिका साथ एकले अर्कालाई सिध्यायाउने र खुइल्याउने रणनीतिमा लागेको हो भन्ने आभाष विभिन्न घटनाक्रमहरूले पुष्टि गरेको छ । यसमा को सफल हुन्छ र यी दुइ दलबीच कस्ले कसलाई मूर्ख बनाउने हो हेर्न चुनावी परिणाम र त्यसपछिको राजनीतिक दाउपेच नै पर्खन पर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार