– होमप्रसाद लम्साल

विश्व सर्वशक्तिमान राष्ट्र अमेरिकामा मध्य जनवरीमा एकसय वर्ष यताकै उच्च हिमपात भयो । विश्वलाई जितेको अमेरिकाले प्रकृतिलाई जित्न सकेन । हिमपातले जनजीवन अस्तव्यस्त मात्रै पारेन, ३१ जनाको ज्यान लियो । तर पनि त्यो हिमपातले यहि वर्ष २०१६ को नोभेम्बर ८ तारिकमा हुन गैरहेको राष्ट्रपतिय चुनावी माहौललाई भने कत्ति पनि चिसो पारेन । राष्ट्रपति निर्वाचनको बहसले अमेरिकी राजनीति निरन्तर ताती रह्यो । राष्ट्र्पति निर्वाचनमा कसकसले बाजी मार्ला भन्ने तातो बहसले यतिखेर सेताम्य हिउँको चिसोलाई पनि बेमतलवी बनाईदिएको छ । अमेरिकी राष्ट्रपति निर्वाचनको रमाईलो पक्ष भनेको सन् १८४५ देखि नोभेम्बर पहिलो हप्ताको सोमबार नै राष्ट्रपतिको निर्वाचनको लागि मतदान हुन्छ । दुवै पार्टीले यतिखेर आ–आफ्नो लोकप्रिय उम्मेदवार छान्ने स्थानीय प्रतिस्पर्धामा चुनावी मैदानलाई भरपुर प्रयोग गरिहेका छन । राष्ट्रपतीय निर्वाचनको कार्यतालिका अनुसार मार्चसम्म स्थानीय तहको छलफल र नेतृत्वको लोकप्रियता नाप्ने कार्य जारी रहन्छ । यस क्रममा विभिन्न राज्यहरुमा भएका प्राईमरी ककसमा डेमोक्र्याटिक र रिपब्लिकनका आ–आफ्नै आन्तरिक प्रतिस्पर्धाले राष्ट्रपति पदका लागि दुवै पार्टीबाट को को उम्मेदवार हुन्छन भन्ने सामान्य छनक देखिन थालेको छ । डेमोक्रेटिक उम्मेदवारतर्फ डेमोक्रेटिक सोसलिस्ट भनेर आफूलाई चिनाउने बर्नी स्यान्डरप्रति अमेरिकी जनताको ठूलो समूहले विश्वास जनाएको पाइन्छ । विधानका पक्का, विश्वसनीय र स्वाभाविक पहिचान बोकेको भनिएका स्यान्डरले डेमोक्रेटिक पार्टीबाट राष्ट्र्रपतिको सम्भावित अन्तिम उम्मेदवार हिलारी क्लिन्टनलाई नै कडा चुनौती दिइरहेका छन् । तैपनि, क्लिन्टनको संगठनात्मक बलियो पकड रहेको र एक पटक फ्रस्ट लेडी नै भईसकेको कारण पार्टीका तर्फबाट राष्ट्र्रपतिको अन्तिम चुनावी प्रतिस्पर्धामा यदि कुनै नाटकीय र अनपेक्षित घटना भएन भने उनलाई रोक्ने सामथ्र्य सायद कसैसँग देखिन्न । क्लिन्टनको सर्वाधिक ठूलो चुनौती भनेको नै मतदानका दिन मतदाताको उत्साहमा हुने कमी मात्र भएको विश्लेषहरुले बताई रहेका छन् । अन्यथा क्लिन्टन आफ्ना पार्टीबाट राष्ट्रपति उम्मेदवार हुने निश्चित जस्तै छ । उता रिपब्लिकनका तर्फबाट टेड क्रुज र डोनाल्ड ट्रम्पबीच अन्तिम प्रतिस्पर्धा भैरहेको छ । चुनावी दौडमा रहेका फ्लोरिडाका सिनेटर मार्को रुबिओ त्यति प्रभावशाली ठानिएका छैनन् । युवा प्रतिभा रुबिओले इरानको आणविक सम्झौता लगायतमा राखेको अडानले सिनेट रिपब्लिकनमा प्रभाव स्थापित गरेको थियो । तर पनि विभिन्न सर्वेहरुले डोनाल्ड ट्रम्प नै उम्मेदवार हुने संभावनाहरु देखाई रहेको छ । संसारकै राजनीतिक चलन जस्तै अमेरिकी राजनीतिमा पनि जनता आफ्नो पक्षमा पार्न विविध राजनीतिक तिकडम र नाराहरु बन्छन् । फरक यति हो की ती नाराहरु कति व्यवहारमा प्रयोग होला कति नहोला । अमेरिकी राष्ट्र्रपतिय निर्वाचनमा यतिबेला उम्मेद्वारहरुले जनतालाई भन्दै आएको आ–आफ्ना सुधारवादी कुराले स्टक बजार नराम्ररी खस्किएको, रोजगार बजार प्रभाबित भएको, लगानिकर्ताहरुमा नैरास्यता छाएको, थप लगानिकर्ताहरुमा अन्यौल पर्न गएको, तेल, पेट्रोलको मुल्य खस्किदै जाँदा उपभोक्ताहरुले लाभ लिन नसकेको, अन्तरर्राष्ट्रिय क्षेत्रमा डलरको भाउ र स्थिरतामा उतारचढाब भएको भन्दै टिकाटिप्पणी पनि हुन थालेको छ । अमेरिकामा राष्ट्रपतिय चुनाव हुने बेला यस्तै हुने भएकोले पनि अरु बेला चुपचाप बसेका जनता राजनीतिमा चासो दिन्छन् र मतदानको प्रतिशत बढ्ने गरेको बताईन्छ, अन्यथा अमेरिकामा मतदानको प्रतिशत अत्यन्तै न्यून हुने गरेको छ । अमेरिकी राष्ट्रपतिय निर्वाचनमा सबैभन्दा बढी ८१ प्रतिशत र सबै भन्दा कम ४९ प्रतिशत मतदान भएको ईतिहास छ । राष्ट्रपति ओबामाले दोश्रो कार्यकालको चुनावमा ५४ दशमलव ९ प्रतिशत मत खसेको थियो । संसारभर छरिएका आफ्ना मतदातालाई संसारको जुनसुकै कुनाबाट पनि मतदान गर्न पाउने व्यवस्था हुँदा पनि मतदानको प्रतिशत कम हुने गरेको छ । अमेरिकामा पहिलोपल्ट सन् १७८८ मा पहिलो निर्वाचनबाट जर्ज वासिंटन निर्वाचित भएका हुन् । उनी दोश्रो कार्यकाल पनि राष्ट्रपतिमा निर्वाचित भएका थिए । त्यतिखेर सम्म राजनीतिक हिसावले अमेरिका यो वा त्यो पार्टीमा विभक्त नभैकन मुलुक निर्माणमा महत्व दिएको पाईन्छ । राजनीतिक हिसावले १८०० तिर मात्रै डेमोक्र्याट र रिपब्लिकन पार्टीहरुले आफ्नो राजनीति शुरुवात गरेको पाईन्छ । त्यतिखेर पनि छुट्टै पार्टी भएपनि जसको नीति राम्रो थियो उसैलाई दुवै पक्षका मानिसले मतदान गरेर छान्ने चलन थियो । पहिले मुलुक विकास गर्नु पर्दछ अनि मात्र राजनीति भन्ने मुलमन्त्रलाई आत्मसाथ गरेको अमेरिकाले सन् १८२८ मा आएर मात्रै छुटाछुट्टै पार्टीका रुपमा उम्मेदवार उठाएर राष्ट्रपति छान्न थालेको ईतिहास पाईन्छ । जुन दुई पार्टीलाई पालैपालो जस्तोगरी अमेरिकी सत्ता सम्हान्न जनमत प्राप्त भैरहेका छन् । १८२० मा मात्रै एन्ड्र्यू ज्याकक्सनले डेमोक्र्याटबाट एकल राष्ट्रपति चुनाव जितेका हुन । जब लोकतन्त्रकाा खम्बाहरु बलिया भए त्यसपछि मात्रै पार्टीका रुपमा विभक्त भएर आज संसारको सम्मुनत राष्ट्र बन्न सफल भएको छ । संसारमा नै पहिले अन्तरपार्टी निर्वाचनको अभ्यास गरेर राम्रो मान्छे छानेपछि मात्रै विपक्षीसंग चुनावी मैदानमा उत्रिनु पर्दछ भन्ने मान्यताका कारण अमेरिकाले त्यस्तो अभ्यासको शुरुवात गरेका हुन । त्यसैले होला अन्य अविकसित मुलुकमा जस्तो जेल बसेको वा प्रहरी हिरासतमा बसेको अमेरिकाको राजनीतिमा खासै गणना हुन्न । जसको असल नीति त्यहि नेता हुन्छ । सन् २००४ सम्म चुपचाप कतै नदेखिएका बाराक ओबामा एक्कासी अमेरिकी राजनीतिमा सलह सरी छाए र अन्तत: दुई कार्यकाल राष्ट्रपति बनेर इतिहास लेखाए । पार्टीमा योगदान र लगानीको कुनै मुल्यांकन नै नहुने भन्ने पनि होईन हुन्छ त केवल आन्तरिक रुपमा पार्टीमा हुन्छ । जव विपक्षीसंग लडाईको कुरा हुन्छ त्यतिखेर कुन नेताले मुलुकको लागि सम्मुनत बनाउन सक्दछ र विश्वमा नम्बर एक बनाउन सक्दछ त्यहि आधारमा उसको चुनावी एजेण्डाको अनुसार चुनिदै आएका छन् । अमेरिकामा जुनसुकै चुनाव हुँदा पनि उठ्ने मुल कुरा भनेको अमेरिकी अर्थतन्त्र, रोजगारी र लगानीमा देखिएको वातावरण, लागुऔषधको बढ्दो प्रयोगलाई नियन्त्रण, थप लगानी र आम्दानीका थप श्रोतहरुको निर्माण नै हुन् । त्यसमा पनि समानताका कुरामा तेश्रो लिंगीहरुको कुरा पनि जोडदार रुपमा उठ्ने मुद्दा हुन । मुलत: जसले मुलुकलाई सर्बशक्तिमान कायमै राख्न सक्छ र जसले अमेरिकी स्वभिमान र सर्बश्रेष्ठतालाई निरन्तरता दिन सक्छ उसैलाइ नै छनौट गर्न आतुर छन अमेरिकी जनता । भोलिका दिनमा राष्ट्रपति निर्वाचनमा कसले बाजी मार्ला भन्ने कुराको विश्लेशण गर्न यति नै बेला हतारो हुन्छ तर पनि सतहमा आएका अडकलबाजीहरु हेर्दा रिपव्लिकनका तर्फबाट डोनाल्ड ट्रम्प र डेमोक्र्याटबाट हिलारी नै अन्तिम प्रतिष्प्रर्धी हुन् भन्ने देखिन्छ । अघिल्ला चुनावहरु हेर्दा रिपव्लिकनको पालो जस्तो देखिए पनि यदि ट्रम्प नै उम्मेदवार हुने हो भने यतिखेर कमजोर र विवादित उम्मेवार भएका कारण रिपव्लिकनको पालो नआउन सक्ने संभावनाहरु बढेर गएको छ । उनले केहि समय अघि क्यालिफोर्नियामा मुस्लिमको बन्दुकबाट मानिस मारिएपछि अब अमेरिकाले मुस्लिमहरुलाई अमेरिका भ्रमण गर्न र भित्र्याउन प्रतिबन्ध लगाउनु पर्छ भन्ने मन्तब्यले अमेरिका तात्यो र उनी निकै आलोचित  पनि भए । आप्रवासीको बाहुल्यता बढ्दै गएको अमेरिकामा डोनाल्डको विरुद्धमा ठूलै समुह निर्माण भए । रिपब्लिनहरुले घृ्रणित धारणाको रुपमा राख्न नपाउदै ड्रम्पलाई रिपब्लिकनहरुले निस्कासन गर्ने सम्भाबनासमेत बढेको थियो । सन्काहा, भौजाहा र अमेरिकाका सफल व्यबसायी यि डोनाल्ड ट्रम्पको अव्यबहारिक र अमेरिकी सिद्धान्त बिपरितको यो भनाइले दुई कुरा गम्भीर ढंगले उठाइदिएको छ । एक अमेरिकाको सम्पूर्ण जनसख्याको १ प्रतिशतको सख्या ओगटेको मुस्लिमहरुको हैसियत, उनीहरुमाथि अब हुने ब्यबहार र ति मुस्लिम अमेरिकनहरुले कसरी लिन्छन ? यसलाई अर्को ससारकै दोश्रो ठूलो धार्मिक समुदाय र धर्म इस्लाम र उग्र, उदण्ड र आतंककारी मुस्लिमहरुका कारण राम्रा र इमान्दार मुस्लिम एवं र अमेरिकाकै सहयोगी मुस्लिम देशहरुले यसलाई कसरी लिने हो गम्भीर प्रश्न उठेको छ । यस अबस्थाले रिपब्लिकनहरु कमजोर भैरहदा हिलारीको राष्ट्र्रपति हुने सम्भाबना बढेर गएको देखिन्छ । अर्कोतिर अमेरिकिन धनाढ्यहरुले जलबायुको सन्तुलनका लागि सफा उर्जामा जसले नयाँ, दीर्घकालिन र राम्रो एजेण्डा ल्याउन सक्छ उसैलाई आर्थिक सहयोग गर्ने घोषणाले हिलारीको पक्षमा अर्को माहौल बढेर गएको छ । पहिलो काला जातिका राष्ट्र्रपतिपछि पहिलो अमेरिकी महिला राष्ट्र्रपति हिलारी र लोग्ने स्वास्नी राष्ट्रपति भएको दुई वटै रेकर्ड एकै पटक तोडिने त होईन भन्ने संभावना पनि बढेर गएको छ । त्यससंगै अमेरिकी राष्ट्रपति ओवामाले खुलेर गरेको सहयोगका कारण पनि हिलारीलाई निकै सहयोग पुगी रहेको छ । यतिखेर चुनावी दौरानमा भएका महत्वपूर्ण कुराहरुमा डेमोक्र्याटिक पार्टीकी सम्भाबित उम्मेदवार हिलारी क्लिन्टनले फेडेरल सरकारको न्युनतम ज्यालादर ७ डलर २५ पैसाबाट १२ डलर पुऱ्याउनु पर्ने तर्क दिएपछि यसको अर्थतन्त्रमा पर्ने सकारात्मक र नकारात्मक प्रभाबले अहिले बजार तातेको छ । त्यति नै बेला रिपब्लिकन उम्मेदवारहरु कसैले ९ डलर त कसैले १० डलर त कसैले बढाउनै हुदैन भन्ने तर्क सारिरहदा श्रमिकहरुको ध्यान चाहि हिलारीले खिचिदिएकी छिन् । ५१ मिलियन जनता फुडस्टाम्प र सरकारी सामाजिक लाभ लिइरहेको अमेरिकामा करको दर सामान्य तलमाथि हुँदा त्यसले दीर्घकालिन असर पर्ने देखिन्छ । आन्तरिक उम्मेदवारको छनौट भैरहेपनि अमेरिकी चुनावमा फेरी पनि आप्रवासीलाई हेर्ने दृष्टिकोण अनुसार चुनावी नतिजा आउन सक्ने संभावना रहेको विश्लेषकहरु बताउँछन । संधै झै डेमोक्र्याट पार्टी आप्रवासीको पक्षमा रहँदै आएको छ भने रिपव्लिकन विपक्षमा त्यसले पनि चुनावी परिणामलाई फरक पार्नेछ । झण्डै तीन लाखको हाराहारीमा रहेको नेपाली समुदाय पनि अमेरिकी राष्ट्रपतिको चुनावका बारेमा चासो राख्दै आएको देखिन्छ । अमेरिकाको ईमिग्रेसनको तथ्यांक हेर्दा सन् १९७४ मा ५८ जना नेपाली भेटिएका थिए । त्यतिबेला सोझो बाटो नभएकोले भारत हुँदै अमरिका पुगेको अनुमान गर्न सकिन्छ । त्यो बढेर ३ लाखको हाराहारीमा पुगे पनि मतदानको अधिकार पाउनेहरुको सख्या भने मुस्किलले २५ हजारको हाराहारीमा पुगेको अनुमान गर्न सकिन्छ । राज्य तहमा भैरहकेका प्रतिस्पर्धाले दुवै पार्टीले राष्ट्रपतिमा आकाक्षीहरुको उम्मेदवारको नामावली छोटिदै गएको छ । राष्ट्रपतिय निर्वाचनको क्यालेण्डर अनुसार नोभेम्बर ८ को निर्वाचनपछि निर्वाचित राष्ट्रपतिले २०१७ को जनवरी २० मा पदस्थापन गर्नेछ । त्यसैले पनि अमेरिकी राष्ट्रपतिको निर्वाचनले विश्वको ध्यान केन्द्रित गरिरहेको छ । – See more at: http://www.nepalitimes.com.au/?p=796#sthash.nEAcd1pT.dpuf

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार