कांग्रेस महाधिवेसन शुरु हुनु केहि दिन बाँकी हुँदा नेतृत्व कसले हत्याउला भन्ने कुराले फेरी एक पटक नेपाली राजनीति तातेको छ । नेपाली कांग्रेस स्थापना भएको हिसावले ६९ वर्ष पुग्यो । मुलुकको पुरानो र सबै भन्दा ठूलो पार्टी भएकोले पनि अब आउने नेतृत्व कस्तो होला भन्ने कुरामा राष्ट्रिय र अन्तर्राष्ट्रिय चासो हुनु स्वभाविक पनि छ । यसबीचमा कांग्रेसका जम्मा ६ जना सभापति भएछन् । तीमध्ये कोइराला परिवारका चार दाजुभाइले ४८ वर्ष र कोइराला परिवार इतरका दुईजनाले २१ वर्ष पार्टी प्रमुखको जिम्मेवारी लिएछन् । एकै परिवारका चार कोइरालाले दुई तिहाइभन्दा बढी समय पार्टी सम्हाले भने सुवर्णशमशेर राणाले २ वर्ष र कृष्णप्रसाद भट्टराईले १९ वर्ष सभापति भएका रहेछन् । यो ईतिहास हेर्दा नेपाली कांग्रेसमा विरासतको राजनीतिले राम्रै जरा गाडेको भएपनि त्यो जरा यसपाला उखेलिने निश्चित हुँदै गएको छ । लोकतान्त्रिक पार्टीमा पारिवारिक विरासत गौण हुन्छ, राष्ट्र र समाजले अपेक्षा गरेको नेतृत्वले जिम्मेवारी पाउनु पर्दछ ।
स्थापनाकालमा वीपी कोइरालाले टंकप्रसाद आचार्यलाई सभापति बनाएर आफू कार्यबाहक सभापति हुँदै स्थापना गरेको नेपाली कांग्रेसको नेतृत्व परिवर्तनको संघारमा छ । त्यसपछि सुवर्णशमसेर जवरा र कृष्णप्रसाद भट्टराईको दुई कार्यकालबाहेक कोइराला परिवारबाट कांग्रेस नेतृत्व बाहिरिएको थिएन । वीपीपछि तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले १५ वर्ष र सुशिल कोइराला ५ वर्ष पार्टीको नेतृत्वमा रहे । सुशिलको निधनसंगै कांग्रेस नेतृत्व कोईराला परिवारबाट बाहिरिने देखिएको छ । कांग्रेसको नेतृत्व अब कसले गर्ने भन्ने निर्णय आउन अब केहि दिन कुर्नुपर्ने छ । कस्तो परिणाम आउला केहि अनुमान त गर्न सकिएला तर फागुन २० देखि २३ मा हुने १३ औं महाधिवेशनको परिणाम नआई यसै भन्न सकिन्न । यति कुरा भन्न सकिन्छ की यो पटक विरासतकै रुपमा रहेको कांग्रेस नेतृत्व कोईराला परिवारको हातमा रहनेछैन, कारण प्रष्ट छ की कोईरालाका विरासत धान्छु भन्नेहरू सभापतिको चुनावी दौडमा नै छैनन । सुजाता कोईरालाले कुनै पदमा एडजष्ट हुनका लागि बाहेक कोईराला परिवारको डा. शेखर र शशांकले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । वीपी पुत्र भएकोले होला यतिखेर डा शशांक कोईरालाको मुख ताक्ने र विचार बुझ्नका लागि उनको निवासमा भिडभाड बढ्न थालेको छ । विरासतको राजनीति हुनुहन्न भने पनि कांग्रेस कार्यकर्ताहरू अझै राजनीतिमा उनी भन्दा कयौं वरिष्ठ हुँदा हुँदै पनि शशांकको मुख ताक्न पुग्नुले विरासतको राजनीतिलाई निरन्तरता दिन खोजिएको भान हुन्छ । अबको राजनीति कसको परिवारमा जन्मेको भन्दा पनि योग्यता क्षमताका आधारमा हुनु पर्दछ ।

कांग्रेसको नीति
राणादेखि शाही शासनकाविरुद्ध लडेको कांग्रेसले कस्तो नीति धारण गर्ला भन्ने कुराले मुलुकको अर्थतन्त्रदेखि राजनीतिक रुपमा निकै अर्थ राख्दछ । महाधिवेसन नजिकिंदै गर्दा सञ्चारमाध्यममा आएका सुझावदेखि वौद्धिक बर्गले उठाएका कुरा तिनै हुन । कांग्रेसले लिदै आएको तीन खम्बा नीति राष्ट्रियता, प्रजातन्त्र र समाजवादका बारेमा पार्टीभित्र पुर्नव्याख्याको माग बढीरहे पनि प्रस्तावित पार्टीको नीति र कार्यक्रममा यसको पुर्नव्याख्या गरिएको छैन । बदलिदो समाज अनुसार नीति तथा कार्यक्रम आउन नसकेको भन्दै अहिले आएको नीति तथा कार्यक्रम काम चलाउ मात्रै हो भन्न सकिन्छ त्यसैले त पार्टीभित्रको एक पक्षले त्यसलाई अस्विकार गर्ने रणनीति लिएको छ ।
समाजवादका कुरा गर्दा कांग्रेसमा कृष्णप्रसाद भट्टराई, सुशिल कोइराला, भीमबहादुर तामा∙संँगै कांग्रेसभित्रको समाजवाद अस्ताएको छ । किनकि बीपीको समाजवाद गान्धीवादबाट प्रभावित थियो र समाजवादी बन्नु भनेको नेताको चरित्र, लवाइ—खवाइ र रहनसहनका साथै व्यवहारमा देखिनुपर्छ । सुशिल कोईरालाको निधनसंगै अव नेता तथा कार्यकर्ताको जीवन शैली हेर्दा त्यो पार्टीबाट समाजवाद निकै दुर भैसकेको अनुमान गर्न सकिन्छ । जिल्लास्तरीय निर्वाचनमा सुकिला मुकिला र डनवाद हावी हुँदा वीपीले केवल भित्तामा बसेर गिज्याई रहेको भान हुन्छ । कांग्रेसको चुनौती भनेको झन्डै ६० वर्ष पहिले बीपीले गरेको समाजवादको समय सान्दर्भिक व्याख्या कसरी गर्ने भन्ने नै हो । वीपीको नाममा राजनीति गर्दै आएको कांग्रेसले अव साच्चिकै वीपीको समाजवाद व्यवहारमा लागु गर्ने हो भने कि त्यो समाजवादलाई पुर्नव्यख्या गर्नु पर्दछ की भने जीवनशैली नै परिवर्तन गर्नु पर्दछ अन्यथा समाजवाद केवल मागी खाने भाँडो मात्र बन्नु हुन्न ।
समाजवादको व्याख्या गर्दा कांग्रेसले समीक्षा गर्नु पर्ने कुरा पहिलो, पुँजी निर्माण र उत्पादकत्व बढाउन खुला बजार, उदारवादी अर्थतन्त्र र निजी क्षेत्रको विकासका लागि कांग्रेसको नीति तथा कार्यक्रम के हो ? सामाजिक न्यायको अवधारणा अनुसार पिछडिएको क्षेत्र र वर्गको सशक्तीकरणमा कांग्रेस कहाँ चुक्यो ? संघीय संरचनामा गएका बेला कांग्रेसको सबै प्रदेशलाई सन्तुलनमा राख्ने विकास नीति के हो ? छिमेकी चीन र भारत एक्काइसौं शताब्दीका दुई आर्थिक शक्ति बनिरहेका बेला नेपालको विकासका प्राथमिकता के हुने ? नारामा मात्र सीमित हुने विकास नीतिलाई कांग्रेस फेरि सरकारमा गयो भने कार्यान्वयन हुन्छ भनेर विश्वास गर्ने आधार के ? त्यसैले पनि काँग्रेसले आफ्नो प्रष्ट धारणा पर्नु यो महाधिवेसनको अर्कौ चुनौति पनि हो । यो महाधिवेसन नयाँ सविधानको कार्यन्वयन र संघीय संरचना व्यवहारिक कार्यन्वयनको दोसाँधमा रहेकोले पनि निकै महत्वका साथ हेरिएको छ । कांग्रेसले लिने नीति र व्यवहारमा तादम्यता देखियो भने वौद्धिक वर्गको आकर्षण पनि बढ्नेछ ।

खस्कदो छवि
पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको एकपछि अर्को पुस्तामा जाँदा यसको सैद्धान्तिक धरातल खस्किँदै गएको छ । हुँदा खाने र हुनेखानेबीच बढ्दै गएको खाडलका कारण पनि अबको चुनौति समतामूलक समावेसी राज्य संरचनामा कांग्रेसको स्पष्ट दृष्किोण आवश्यक छ । बीपी र उनको पुस्ताले व्याख्या गरेको ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’को नारामै कांग्रेस टिकेको छ । बीपीपछि कृष्णप्रसाद भट्टराई, सीके प्रसाईं, ढुण्डीराज शास्त्री आदिले बीपीको सिद्धान्तको व्याख्या गर्ने कोसिस गरेको देखिन्थ्यो भने तेस्रो पुस्तासम्म आइपुग्दा कांग्रेसमा सिद्धान्तका व्याख्याता हराउँदै गए । कांग्रेसको अहिलेको नीतिगत समस्या भनेको ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’को समयसापेक्ष व्याख्याको सवाल नै हो । २०४६ सालपछि धेरै समय सत्तामा बसेको कांग्रेसले आफ्नो सिद्धान्त र नीतिमा ‘राष्ट्रियता’ लेखे पनि भारतमुखी पार्टीको आरोप लाग्दै आएको छ । त्यो कुरालाई प्रधानमन्त्रीको पछिल्लो निर्वाचनमा दिएको सुशिल कोईरालाको उम्मेदवारीले समेत पुष्टि गर्दछ । त्यसरी नै समाजवादको विषयमा जे सुकै भनोस उदारवादी र पुँजीवादी पार्टी हो भन्ने आरोपबाट मुक्त हुन सकेको छैन उसले व्यवहारबाट त्यसलाई चिर्नु पर्दछ ।
यतिखेर नेतृत्व नीति तथा कार्यक्रमलाई बलियो बनाएर पार्टीको सैद्धान्तिक पक्ष बलियो बनाउनु पर्नेमा कसरी नेतृत्व हत्याउने भन्ने प्रयासमा मात्रै केन्द्रित देखिन्छ । नत अघिल्ला महाधिवेसनमा पारित गरेको विषय वस्तुको कुनै समीक्ष नै भएको छ । १३औ महाधिवेसनमा मुख्य रुपमा शिक्षा, स्वास्थ्य, आवास, खाद्य सुरक्षा र रोजगार मर्यादित जीवनका पाँच आधार हुन भन्दै तय गरेका यी विषय सायदै त्यसपछिका कुनै बैठकमा छलफलसम्म भएन । महाधिवेसन सकिएपछि ती सबै सकिएर महाधिवेसन नजिकिंदा उठ्ने गर्दछ । वास्तवमा नेपाली कांग्रेसको महाधिवेसनमा यस्ता थुप्रै कुराहरू उठ्छन् अनि बस्छन । विचार र दृष्टिकोणका हिसावले पछिल्ला २, ३ वटा महाधिवेसन कर्मकाण्डीय हिसाबले नाम मात्रको हुने गरेको छ । अहिलेसम्मको तौरतरिका हेर्दा तेह्रौ महाधिवेसन पनि यस्तै हुने निश्चित छ ।
नेतृत्व दाबी गर्ने र अझ ठूलो पदमा जान चाहने दाबीकर्ताहरूले आफू कार्य समितिमा रहँदा यो कार्यनीति सफल पार्न के के गर्नु भयो ? के त्यो सबै काम सभापतिको मात्रै हो र ? पाँच बर्षे कायकालमा के के सफलता मिल्यो ? जबाफ दिनु पर्छकी पर्दैन कांग्रेसीजनहरूले । संगठन सुदृढीकरणका २८ वटा कार्य योजना महाधिबेशनले पारित गरेको थियो । सायद यी कुराहरू धेरैले बिर्सिए । कांग्रेसले आफ्नो विधानमा प्रत्येक वर्ष महासमिति बैठक गर्नुपर्ने उल्लेख छ तर त्यो गएको पाँच बर्षे कार्यकालमा एकपटक मात्रै भयो । हरेक क्षेत्रले क्षेत्रिय सम्मेलन गर्ने भन्ने उल्लेख छ त्यो पनि गरिएन, केन्द्रिय समितिको बैठक बस्नसमेत कन्जुस्याई भनौ वा के न्यूनतम् अवस्थामा मात्रै औपचारिकता दिनका लागि मात्रै बसियो । कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा कहिल्यै छलफलबाट विषय वस्तुको टुंगो लागेको खासै देखिन्न । केहि विवाद भयो भने शिर्ष नेतालाई जिम्मा दियो टन्टै साफ । संसारको लोकतान्त्रिक ईतिहासमा त्यस्तो प्रयोग सायदै छैन । के २१ औ शताब्दिको लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस यस्तै हुनुपर्ने हो ? एउटा सञ्चारकर्मीका हिसावले यी कुराहरूको जवाफ कहिं कतै पाईन्न ।
केन्द्रिय सदस्यदेखि सभापतिसम्मका उम्मेदवारहरूले आ–आफ्नो उम्मेदवारी दावी प्रस्तुत गर्दै गर्दा सञ्चार माध्यममा कांग्रेस कस्तो बनाउने भोलिको कांग्रेस र त्यो कांग्रेसले देशका यी एजेण्डाहरू अगाडि सारेको छ भन्ने समाचार सायद एक प्रतिशत पनि आएका छैनन् । यसको मतलव कांग्रेसले नीति तथा कार्यक्रमलाई महत्व नै दिएको छैन । फलानो गुट र ढिस्कानो गुटका मात्रै कुराहरू आएका छन् । यो पार्टीले कस्तो नीति ल्याउला भनेर पर्खेकाहरूका लागि खासै नयाँ कुरा दिन सक्ने देखिन्न ।

ध्वस्त नर्सरी
यतिखेर कांग्रेसको नर्सरी ध्वस्त छ । त्यहाँ नत बेर्नाहरू छन् नत विऊ नै । २०६३ मा कांग्रेस एकिकरणपछि संगठनका हिसावले कांग्रेसको भातृसंस्थाहरू प्राय: अस्तित्वमा छैनन् भन्दा हुन्छ । यो हेदा कांग्रेसले नयाँलाई तत्काल पार्टीमा भर्ना लिन नचाहेको पुष्टि हुन्छ । कुनै पनि पार्टीको नेतृत्व जन्माउने थलो भनेको उसको भातृसंगठन नै हो तर कांग्रेसको प्राय: भातृ संस्थाहरू अस्तित्वविहिन छन् । नेतालाई जो मन पर्छ त्यहि नेतृत्वमा पुगेका छन् । टिके प्रथाले नेतृत्वका लागि गणेश प्रवृतिले बढवा पाउँदा यतिखेर कांग्रेस चाकडी र चाप्लुसी गर्नेहरूको झुण्ड बन्न पुगेको छ । महाधिवेसन गर्न कयौपटक राजधानी आई पुगेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरू नेतृत्वको हिसाब नमिल्दा रित्तै फर्किए । वर्तमान नेतृत्व जिवित नभएपछि पार्टीको भातृसंस्थाहरूको महाधिवेसन नगर्नमा उहाँका कोटरीका हैसियत नभएका सल्लाहकारहरूको भूमिका उल्लेख्य रह्यो । जव महाधिवेसनको मिति तोकिएर मिति नजिक आउँथ्यो ती सल्लाहकारहरूको एउटै सुझाव हुन्थ्यो यसपाला हाम्रो अवस्था राम्रो छैन भन्दै स्थगित गर्ने । त्यहि भनेको भरमा भए भरका भातृसंस्थाहरू नेतृत्वविहिन बनेर रह्यो । तैपनि यो पटकको महाधिवेसनमा कांग्रेसमा युवाहरू बढी नै छानिएका छन् । भातृ सस्थाहरू निष्कृय रहँदा राजनीतिक छवी भएकाहरू आ–आफ्नो क्षेत्रबाट उनै गणेश प्रवृतिका नेताहरू हराउँदै प्रतिनिधि छानिएका छन् ।
यो महाधिवेसनमा ६० प्रतिशत नयाँ युवाहरू आएका छन् कारण कांग्रेसको भातृसस्थाहरू अर्थात नर्सरी ध्वस्त भएपछि स्वस्फुर्त रुपमा युवाहरू आ–आफ्नो क्षेत्रमा सक्रिय रहे । आफ्नो भाग हडप्ला भनेर नेतृत्वले ध्वस्त बनाएको नर्सरी पार्टीमा रुपान्तरण हुँदा तिनै बुढापाका नराम्ररी पाखा लागेका छन् ।

मौलाउँदो विकृति
पार्टीमा बढेको चाकडी प्रथाले धमिराले खाएको काठ हुँदैछ कांग्रेस । पार्टीको संयन्त्रको कुनै पनि नेतृत्वमा पुग्न नेताको घरमा विहान बेलुका पुग्नै पर्ने नयाँ रोगले कांग्रेस ग्रस्त छ । सुरा सुन्दरीको कुरा सामान्य बन्दै गएपछि क्षमता भएका देश विदेशको ज्ञान लिएर राजनीति गर्न खोज्नेहरू पलायन हँुदै गर्दा ठूलो पार्टीमा देखिएको विचलनले भोलिको मुलुक हाँक्नेहरू कस्ता होलान चिन्ताजनक अवस्था छ । त्यसैले यतिखेर नाम मात्रका युवा होईन विचारले युवा नेतृत्व आजको आवश्यकता हो । कांग्रेसको नेतृत्वको शैली, नीति र उसको संगठनको ढाँचा हेर्दा उसको अधोगति शुरु भएको छ । यहि नियति दोहोरिने हो भने कांग्रेस पतनको बाटो अग्रसर देखिन्छ । यो महाधिवेसन नीति र नेतृत्व दुवै कुरामा ख्याल गर्नु पर्ने देखिन्छ । पछिल्लो पटक जहाँ जति विवाद भएका छन् धेरैजसो स्थानमा आफन्त नभै नहुने सस्कारले बढवा पाउँदा यस्तो अवस्था देखिएको हो । कांग्रेसको छवी र मुलुकको अग्लो पार्टी कायम राख्ने हो भने यी र यस्ता संस्कारहरू तत्कालै सुधारको आवश्यकता छ अन्यथा ईतिहासमा थुप्रै यस्ता पार्टी कागजको पानामा सीमित भएका छन भोलिले कसलाई कहाँ पुऱ्याउला यसै भन्न सकिन्न । गल्ती हुनु कमजोरी होइन तर गल्तीलाई सुधार्न नखोज्नु ठूलो कमजोरी हो । अवको नेतृत्वले यो कुरालाई बेलैमा विचार पुऱ्याओस् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार