यतिखेर नेपाल भित्र र वाहिर (प्रवासमा) रहेका नेपाली समुदायलाई चुनावी माहौलले छोपेको छ । एकातर्फ, झण्डै २० वर्ष पछि नेपालमा स्थानीय निकायको निर्वाचन हुँदैछ भने अर्कोतर्फ, प्रत्येक दुई–दुई वर्षमा हुने गैह्र–नेपाली आवसीय संघ (एनआरएन)को स्थानीय समिति तथा राज्यस्तरीय समितिहरूको निर्वाचनले प्रवासमा नेपाली समुदाय व्यस्त भएका छन् ।

अध्ययन, काम र अवसरको खोजिमा झण्डै ५० लाख नेपालीहरू विदेशिएका छन् । ५० लाख नेपाली मध्ये केही हजार नेपालीहरूलाई समेट्दै, प्राविधिक रुपमा विश्वभर रहेका नेपालीको स्वघोषित प्रतिनिधित्व गर्दै, एनआरएनको स्थानीय तप्कादेखि केन्द्रीय तहसम्म यसका नेतृत्वकर्ताहरू आफ्नो आवधिक निर्वाचनको जोड घटाउमा यतिखेर व्यस्त छन् । त्यसैगरि, काम र रोजगारीको सिलसिलामा विदेशीएका नेपाली नागरिकहरूलाई पनि निर्वाचनमा समावेश हुने तथा मतदातालाई निर्वाचनमा उमेदवार भएका व्यक्तिहरू मन नपरे नो भोटको व्यवस्था गर्न पाउने व्यवस्था मिलाउन सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशलाई लत्याउँदै नेपाल सरकार र निर्वाचन आयोग स्थानीय, प्रादेशिक तथा संसदको निर्वाचन गर्ने प्रक्रियामा अगाडि वढेको छ । २० वर्षसम्म स्थानीय सरकार विहिन नेपालका स्थानीय निकायले नयाँ संरचनामा आफ्ना जनप्रतिनिधिहरू पाँउदैछन् । हिमाल, पहाड, तराई, पूर्व मेचीदेखि पश्चिम महाकालिसम्म स्थानीयस्तरमा झण्डै लाखको हाराहारीमा स्थानीय व्यक्तिहरू निर्वाचनमा भिड्दैछन्, सर्वत्र स्थानीय निकायको निर्वाचनको चर्चा र माहोल छाएको समाचारहरू सुन्नमा आएको छ ।

यसैवीच, नेपालमा रहेका सम्पूर्ण राजनीतिक दलहरूलाई अहिले स्थानीय चुनावको चटारोले छोपेको छ । यद्यपि, निर्वाचन हुने नहुने अन्यौल भने यो आलेख तयार गर्दासम्म कायमै रहेकोछ । एकातिर मधेशी मोर्चाका पाँचघटकले नयाँ दलको रुपमा आफुलाई अगाडि सार्दै भद्र–अवज्ञादेखि सत्याग्रही आन्दोलनसम्मको घोषणा संग–संगै संविधान संसोधन गर्दै आफ्ना माग संवोधन भए दुई चरणमा निर्वाचन गर्नु पर्ने माग तेर्साएको छ । यसैगरि, पूर्वप्रधानमन्त्री वावुराम भट्टराई लगाएतका साना दलहरू निर्वाचन चिन्ह र थ्रेस होल्डको विषयलाई लिएर आन्दोलनरत छन् । त्यसैगरि, सरकारको तेश्रो ठुलो दल राप्रपा नेपाल आफ्नो आस्था, सिद्धान्त र प्रतिवद्धता माथि निर्वाचन आयोगले प्रश्न उठाएको भन्दै सरकार छाडेर सडकमा जाने वताईरहेकोछ ।

अर्कोतर्फ, प्रतिपक्ष दल एमाले जसरी पनि निर्धारित मिति मै चुनाव हुनपर्ने आफ्नो अडान त्यागेर सरकारले यदी दुईचरणमा निर्वाचन गर्ने हो भने आगामी वजेट अगावै दोस्रो चरणको निर्वाचन गर्नुपर्ने र संविधान संसोधनको विपक्षमा आफ्नो पुरानै अडान कायम राखेकोछ । त्यसैगरि, नेपाली काँग्रेस, मधेसी मोर्चाका मागहरूलाई कुनै न कुनै रुपमा सम्वोधन गर्दै पहिलो चरणको निर्वाचन वर्तमान सरकारले गराउने र दोस्रो चरणको निर्वाचन आफ्नो नेतृत्वको सरकारले गराउनेमा विश्वस्त छ । तर, एनेकपा माओवादी चुनावलाई आफ्नो सत्ता लम्व्याउने रणनीतिक खेलमा परिणत गर्दै दुईचरणको चुनावी माहौलको वकालतमा आगामी वजेट वर्तमान सरकारले नै ल्याउने वताउदै आईरहेको छ । यता प्रवासमा भने नेपाली राजनीतिक दलहरूको भातृ–संस्था, विभिन्न प्रवासी संघ–संगठनहरू देखि, जिल्ला, गाँउ, स्थान, जात–जाती तथा समुदाय विषेशका संघ–संस्थाहरूलाई एनआरएनमा आफ्नो भूमिका र स्थान वलियो देखाउन भेला तथा कोठे वैठकहरूमा व्यस्तछन् । यसै परिप्रेक्षमा, नेपाली समुदायमा व्यापार, व्यवसाय र लगानी गर्दै आईरहेका केही व्यक्ति र समुहहरू एनआरएनलाई कवच वनाई कमाई खाने भाँडो वनाउन विगत वर्षहरू देखि नै तल्लिन रहेको र यस्ता व्यक्तिहरूको वोलवाला एनआरएनमा भएको चर्चा नेपालमा मात्रै नभएर प्रवास तिर पनि व्यापक मात्रामा चलेको छ ।

हामी प्रवासमा रहेका केही स्व:घोषित कथित नेपाली वुद्धिजीविहरू नेपालमा हुन गईरहेको स्थानीय निर्वाचनलाई लक्षित गरि त्यहाँ आफ्नो पार्टी र सिद्धान्तप्रति प्रतिवद्ध व्यक्तिहरूलाई तेजोवध गर्नेदेखि युवा अभियानको नाममा फेसवुकको भित्तो रंग्याउने र प्रयोजित रुपमा पत्र–पत्रिकामा लेख तथा आलेख निकालेर कसैको राजनीतिक तथा चारित्रिक हत्या गर्न उद्देलित छौं । कुनै समय नेपालमा महाप्रलय जाँदा होस् या कुनै सुधारको कार्य गर्दा होस्, यसो सहयोगका लागि साथ मााग्दा ठुला कुरा गरेर “नेपाल नै छाडेर आएका हामी जस्ता व्यक्तिलाई नेपालको के वास्ता” भन्दै मुण्टो वटार्नेहरू अहिले सात समुन्द्रपारवाट फलानो वा ढिस्कानो त्यो पदमा सुहाउदैन यस्लाई यो जिम्मेवारी दिनु पर्छ भनेर भाडाका भरौंटेले जस्तो व्यवहार गरिरहेका छौं । म ति मित्रहरूलाई यस आलेख मार्फत के अनुरोध गर्न चाहन्छु भने, सक्नुहुन्छ भने लालुवावु पण्डितले भने झैं पिआर र ग्रीनकार्ड त्यागेर नेपाल गएर देशको विकास र परिर्वतनमा साथ दिदै राजनीति गर्नुस् । हैन भने भगौडाहरूलाई नेपालमा ठुला कुरा गर्ने अधिकार र हैसियत छैन । यस्ता वर्गहरूवाट नेपालमा रहेका व्यक्तिहरू मात्रै होईन विदेशमा रहेर केही समाजसेवा गर्छु भन्ने नेपालीहरू पनि मज्जैले प्रताडित भएकाछन् । उनीहरू आफ्नो वर्तमानको हैसियत विर्सिएर नेपालको निकै ठालु वुद्धिजीवि वर्ग हुँ भन्दै आदेशात्मक निर्देशन दिन पछि पर्दैनन् । च्याँउ उम्रे जस्ता उम्रेका र कपि–पेष्ट सिद्धान्तमा चलेका अनलाईन मिडियाहरूको सहारा लिई अनावस्यक, अनर्गल सामाग्रीहरू प्रकाशन प्रसारण गरेर निस्वार्थ रुपमा समाज सेवा गर्छु भन्ने व्यक्तिहरूलाई तेजोवध गर्दै अंकुश लगाउने काममा स्वघोषित बुद्धिजीविहरू उद्देलित एवं उत्प्रेरीत रहेकाछन् । अहिले उनीहरू निहित स्वार्थमा लिप्त भई निष्कलंकित व्यक्तिहरूलाई मानमर्दन गर्दै आफ्नो असली रुप देखाउदैछन् ।

यसैवीच, त्रिशूली नदीमा धेरै पानी वगिसक्यो, समयले निकै कोल्टे फेरिसक्यो । “हिजो सुको माना ध्यू खाको यो हात सुँघ सुघँ” को आडम्वरी अहिलेको नेपाली समाजलाइ न स्वदेशमा चाहिएकोछ न त विदेशमा नै । यो प्रवृत्तीलाई प्रवासमा होस् वा नेपालमा, पाखा लगाउने वेला आएकोछ । त्यसैले, समाज परिर्वतनमा केही भूमिका खेल्छु र उदाहरणीय वन्ने अभिलाषा वोकेका व्यक्तिहरू यस्ता तत्वहरू संग सावधान हुँदै “हात्ति चले वजार, कुकुर भुके हजार” भन्दै आफ्नो लक्ष्यमा अगाडि वढ्नोस्, आमजनता तपाईका साथ छन् । स्वदेश तथा विदेशको दुवै निर्वाचनमा यस्ता स्वार्थी तत्वहरू पराजित होउन् । प्रजातान्त्रिक शक्तिले सवै तिर विजय हाँसिल गरोस् । अग्रिम शुभ–कामना ।

लेखक: नेपाली काँग्रेस महासमिति सदस्य तथा समाजशास्त्र विषयमा अष्ट्रेलियामा शोध तथा अध्ययनरत हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार