Sujit Sigdelसमयसंगै उब्जेका पीडाको उपचार स्वयं समय नै रहेछ । क्यालेन्डरका पानाहरू पल्टिदै करिव एक वर्ष हुन लाग्यो नेपालीले त्यो महाबिपत शक्तिशाली भूकम्प भोगेको । समयसँगै ती घाउहरूमा बिस्तारै खाटा लागेको भएपनि एउटा कहाली लाग्दो यो दुखद बिडम्बनासँग आफै हाम्रा जनहरूले अघोषित मनोबैज्ञानिक युद्ध लडे र कम्तिमा त्यो त्रासदीको केहि हदसम्म भए पनि सामना गरे । त्यसो त इतिहासकै महाबिपदको यो त्रसादी हामीले सायदै बिर्सन सकौंला, न त यसको क्षति हामीले कहिल्यै पूरा गर्न सक्नेछौं । त्यसो भन्दै गर्दा यो महाबिपदसँग लड्न देशदेखि विदेशसम्मबाट नेपाल पुगेका बर्दीवाला हाम्रा वीर प्रहरी र सैनिक अनि बर्दी बिनाका सबै सहयोगी मनहरूलाई हार्दिक नमन । तर विडम्बना ढलेका घरहरू जस्ताका तस्तै छन् भने त्यहि जगमा उठाइएका त्रिपालहरू अझै दुरुस्तै देख्दा आखिर पूर्ननिर्माणका लागि भएका प्रयासहरू अझै सिहदरबारबाट बाहिरिएको रहेनछ भन्न सकिन्छ ।

आफ्नै आँखा अगाडि धरहरा लडेको, आफ्नै आँखा अगाडि हाम्रा साँस्कृतिक धरोहर र भौतिक संरचना गल्र्यामगुर्लुम लडेका दृश्य, त्यो भन्दा पनि आँखै अगाडि आफन्तहरूलाई गुमाउनु परेको बिभत्स दृश्यको दुखद साक्षी कम्तिमा हामी विदेश बसेका नेपाली हुनु परेन । तैपनि त्यो बेला, त्यो हप्ता र त्यसका कयौ हप्ता कुनैपनि विदेश बसेका नेपालीको मन यता रहेन उतै पुगी रह्यो । केहि दिनमा नै संसार भरबाट सक्नेहरू र मिल्नेहरू नेपाल नै पुगे, नसक्नेहरूले सक्दो सहयोग नेपाल पुर्‍याए, यसो भनौ त्यति बेला विदेश बसेका सबै नेपालीहरू एकाकार भए । एनअरएनएले त्यसमा सहजकर्ताको भूमिका निभायो । दिन गन्दा हामी नेपालीहरूले भोगेको त्यो महाबिपदको एक वर्ष पुगे पनि अझ कयौको बलेसीहरूमा त्यो महाबिपद आलै छ, बर्षायाम र जाडोसँग संघर्ष गर्दै गरेका अस्थाई पाल र टहरोमा दिन बिताउनेहरूको संख्या अझै प्रसस्तै छ ।

अष्ट्रेलियाबाट एकाकार सहयोगी मनहरू

बिश्वभरका गैर आबासीय नेपालीहरू जस्तै त्यो पुण्य कार्यमा अष्ट्रेलियामा रहेका नेपालीहरूले मन खोले, सयौको संख्यामा नेपाल नै पुगे यता रहेकाहरूले सानो ठुलो सहयोग सबै ठाउँबाट जम्मा गरे । डाक्टर—नर्सजस्ता विज्ञहरू आफ्नो सीप लिएर जिरो ग्राउण्ड मै पुगे, कयौं सहयोगीहरू मन लिएर खुल्ला ह्दयले पुगे, आ—आफ्नो क्षमताले भ्याएसम्म जे सकिन्छ सहयोग गरे । एनआरएनए अष्ट्रेलियाका कोषाध्यक्ष डिला खरेलका अनुसार त्यस बखत गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आह्वानमा मात्र संकलित रकमबाट करिव ११ करोड ३० लाख रकम नेपाल पठाई सकेको र हाल पूर्नर्निर्माणमा के कसरी सहयोग गर्ने भन्ने वारेमा छुट्टै टास्क फोर्स वनाई योजना तर्जुमा गर्दै गरेको छ ! एनआरएनए आइसीसीले घोषणा गरेको एक हजार घर निर्माणमा एनआरएन अष्ट्रेलियाले हर सम्भव सहयोग गर्ने र करिव दुई सय घर निर्माणका लागि एनआरएन आइसीसीलाई प्रतिबद्धता जनाइसकेको छ । त्यसका लागि सिंगो संस्था एक भएर जुट्नेछ । नेपाल पठाईएको कुल रकम ४ज्ञज्ञघज्ञछद्धघ।ठड अष्ट्रेलियन डलरमध्ये एनआरएनए भिक्टोरियाको खाताबाट ४ज्ञडघण्ण्ढ।ठड, एनआरएनए एसिटिको खाताबाट ५ हजार डलर र बाँकि रकम एनआरएनएको मुख्य खाताबाट नेपाल पठाईएको थियो । हाल एनआरएनएन अष्ट्रेलियाको भूकम्प सहयोग खातामा ४छद्दटडघ।डट रकम बाँकि छ । खरेलका अनुसार यसको सम्पूर्ण जानकारी एनआरएनए अष्ट्रेलियाको वेबसाइटमा रखिएको छ, यसको अलावा यदि कसैलाई कुनै जिज्ञासा भएमा आफु हरबखत जिज्ञासा समाधानमा सहयोगी हुने पनि उनले बताए । त्यसैगरि एनआरएनए अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलका अनुसार एनआरएनए अष्ट्रेलिया नेपालको पूर्नर्निर्माणमा सच्चा सहयोगी र पहरेदार वनेर काम गर्नेछ । त्यसैले अष्ट्रेलियामा रहेका सवै दाजु भाइ तथा दिदीबहिनीहरूलाई यस पूर्नर्निर्माणको पवित्र कर्ममा आ—आफ्नो ठाउबाट जुट्न अनुरोध गरेका छन् ।

एनआरएनए अष्ट्रेलियाका सहसचिब भिष्म भण्डारीले एनआरएनए अस्ट्रेलियाले भूकम्प पूर्नर्निर्माणको योजनालाई उच्च प्राथमिकतामा राखेको र यहाँका लगभग सबै कार्यक्रमहरूमा यसलाई हाम्रो अभियान र युवा साथीहरू माझ यसलाई कर्तब्यबोधको रुपमा लगिएको पनि बताए ।

यो बाहेक उक्त दुखद बेलामा र अहिलेसम्म पनि अष्ट्रेलियाका कयौ अन्य संघ संस्थाहरूले धेरै ठुलो सहयोग गरे । जुन सहयोग अभियान अबको पूर्नर्निर्माणसम्म जारी रहने छ । अष्ट्रेलियामा रहेका गुठि अष्ट्रेलिया, तमु समाज जस्ता संस्थाहरूले अस्ट्रेलियामा राहत संकलन गरि स्वयम सेवकको रुपमा भूकम्प प्रभाभित क्षेत्र मै पुगेर नै राहत वितरण र औषधि उपचार अस्थाई पूर्नर्निर्माण कार्यमा सक्रिय भूमिका निभाए । त्यसैगरि अन्य धेरै सामाजिक संघ संस्थाहरूले आ—आफ्नो नेटवर्क भित्र राहात संकलन गरेर एनआरएनएन अस्ट्रेलिया र अन्य रेडक्रस वोर्ल्ड भिजनजस्ता संस्थाहरू मार्फत यो पुण्य कार्यमा सहयोगी बने ।

भूकम्प संगै आएको संबिधान

करिब ८ हजार नेपाली दाजुभाइ दिदिबहिनीहरू, करोडौको भौतिक संरचनाहरू बिश्व सम्पदा सूचिमा सुचिकृत कयौ धरोहरहरू केहि मिनेटकोको त्यो डरलाग्दो कम्पनले सदाको लागि लग्यो । त्यस पछि दर्जनौ पटक आएका कम्पनहरूले मनोबैज्ञानिक रुपमा धेरैलाई धेरै पटक शिथिल र कमजोर बनायो । हुनी कसले रोक्न सक्छ र त्यसमा प्रकृति महाबिपद मानब बश भन्दा धेरै बाहिरको कुरा । तैपनि समय त्यही रोकिएन बच्नेले बाच्नै परयो पीडाका घाउहरू बिर्सदै प्रत्येक नेपालीले आ–आफ्नो ठाउँबाट धेरै ठूलो संयमता अप्नाए । परिणाम हामी फेरि उठेका छौ, हाम्रा सोचहरू जुर्मुराएका छन् । यहि सन्दर्भमा भूकप्मको केहि महिना पछि मात्र देशमा ऐतिहासिक संबिधान घोषणा भयो । यो त्यही जनताद्वारा लेखिएको संबिधान हो जुन प्राप्तिको लागि नेपालीहरू बिगत ६ दशक प्रतिक्षारत थिए । भूकम्ंपको यो दुखद घटना संग जुट्न पनि हामीलाई राजनीतिक स्थायित्वको निक्कै खाँचो थियो । जसको लागि बिगत आठ वर्षदेखि जन प्रतिनिधिहरूले बिभिन्न चरणका प्रक्रिया पार गरि भूकम्पको केहि महिनामा संबिधान घोषणा भयो । यो विषम परिस्थिति संग जुध्न राजनीतिक स्थायित्व पहिलो अबशय्कता थियो किनकि अब हामी राजनीतिको नीति होइन व्यवहारको नीतिमा लाग्नु थियो त्यसैले मुख मुखमा आएको संबिधान घोषणा भयो । संबिधान घोषणा त भयो तर सोचे अनुसार यसले भर्खरै एउटा त्रासदी सँग पैठेजौरि खेल्दै अगाडि बढेको देशलाई सम्हाल्न सकेन । संबिधान आफैमा साध्य होइन यो स्रोतको निकाश थियो । यहि स्रोतलाई सबैको हितमा लगाउदै यो विपदबाट उठ्नु पर्नेमा त्यस्तो भएन । सरकार परिवर्तनका खेल तराई आन्दोलन र भारतले गरेको अघोषित नाकाबन्दी लरन तरन उठ्न खोजेको देशलाई यी मानब निर्मित पीडाहरूले फेरि धेरै पटक लडाई दियो, थिलो थिलो परेर पछारिदियो । तै पनि इतिहास साक्षी छ नेपाल उठेको छ उठ्दै छ र उठाउनु छ । यस मानेमा नेपालीहरू महान छन् इतिहासका यस्ता कयौं मोडमा नेपालीहरू आफैं तंग्रिएर उठे अगाडि बढे आहिले पनि लगभग त्यही परिस्थितिको सामना नेपालले गरेको छ । लगभग शून्यबाट उठ्नु पर्ने नेपालका कयौं ठाउँहरू कयौ कार्यहरू अझै पनि राजनीतिक भाग बन्डाको शिकार बनेको छ । यो दुखद बिडम्बनामा मन फराकिलो गराउनु देश भित्र र बाहिरका नेपालीहरू र नेपाललाई माया गर्नेहरू प्रतिको ऋण हामीले त्यति सहज तिर्न सक्ने छैनाैं ।

पूर्नर्निर्माणमा मित्र राष्ट्र र दाताहरू

प्रकृति विपद कुन बेला कहाँ कसरी आउछ केहि थाहा हुदैन । प्रबिधिले सारा संसारलाई जोडेको छ, त्यसैले हैटीको भूकम्पको खबर, फिलिपिन्सको विपद लगायतका घटना छिन्भर मै युरोप अमेरिका हुदै नेपालको कुना काप्चामा पनि पुग्छ । त्यसरी नै पुग्यो नेपालको यो महाबिपदको घटना । शान्त प्रकृतिले सम्पन्न हाम्रो देशमा परेको यो महाबिपदमा पनि संसार भरका नेपालीलाई माया गर्नेहरूले मन खोले, तत्कालै सबै सामाजिक संजालहरू सहयोगको आह्वान र प्रतिबद्दताले भरियो । त्यसको अलावा सरकारले विनासकारी भूकम्पपछि विकास साझेदार अर्थात दाताहरूबाट सहयोग जुटाउन दाता राष्ट्रहरूको सम्मेलन नै आह्वान गर्‍यो । जसमा धेरै देशले सरकारी तबरमा नै उपस्थित भइ प्रतिबद्दता जनाए । सरकार, राजनीतिक दल, बिबिध संघ संस्थादेखि हलिउडसम्मका परोपकारीहरूले नेपालप्रति देखाएको तत्कालिन प्रतिबद्दताले साच्चै नै नेपाल र नेपालप्रतिको बिश्व जनमानसमा रहेको एक किसिमको स्नेह प्रष्ट झल्कन्थ्यो । दाता राष्ट्रहरूको सम्मेलनबाट मात्रै सबा चार खर्ब रुपैया बराबरको सहयोगको प्रतिबद्दता आयो । त्यसबाहेक यदि नेपाल सरकार ले बिश्वभरका पूर्नर्निर्माण क्षेत्रका बिज्ञहरूलाई अनुरोध मात्र गर्ने हो भने संसारभरबाट हजारौको संख्यामा स्वयंसेवकहरू निशर्त आउने निश्चय छ । त्यो बाहेक भूकम्पपछिको पूर्नर्निर्माणमा काम गर्न सरकारले करिब साढे २४ सय (ईन्जिनियर, सव ईन्जिनियर, असिस्टेन्ट सवईन्जिनियरका लागि आवेदन माग गरेको छ । सहरी विकास तथा भवन निर्माण विभागले सूचना प्रकाशित गरी १३ सय ईन्जिनियर, ५७९ सब ईन्जिनियर र ५७५ असिस्टेन्ट सव ईन्जिनियरको अस्थायी दरबन्दीका लागि आवेदन मागेको हो । यसले लाग्दैन हामीसंग टिम वा जनशक्ति छैन, लाग्दैन हामी सँग श्रोत छैन । तर अभाब देखिन्छ सरकारी समन्वयको त्यसको लागि फेरि पनि राजनीतिक दल र सरकारका प्रतिनिधिहरूले यो इतिहास कोर्ने क्षणमा मन फराकिलो पार्नु पर्दछ ।

पूर्नर्निर्माणमा ढिलासुस्ती

देशभित्र र बाहिरबाट यति ठूलो उत्साहका साथ सहयोगीहरू पाउँदासमेत नेपाल सरकार स्वयं कै अलमलका कारण पूर्नर्निर्माणमा ढिला सुस्ती भएको प्रष्ट देखिन्छ । भूकम्पले विनाशलीला मच्चाएको एक वर्ष पुग्दासमेत थातबास गुमाउने नागरिकलाई पूर्नर्वास गराउने र तिनको जीवन पूर्ववत् पार्ने कार्यमा आहिलेसम्म जनस्तरमा जनताले महशुस गर्न सक्ने गरि कार्य हुनु पर्ने हो त्यसमा सरकार निक्कै असफल देखिन्छ । सोही कामका निम्ति सरकारले छुट्टै निकाय ‘पूर्ननिर्माण प्राधिकरण’ गठन गरेको छ तर त्यो पनि राम्रोसँग काम सुरु नगर्दै अख्तियारको फन्दामा पर्नु निक्कै दुखद कुरा हो । तर, त्यस अधिकार सम्पन्न निकायले भूकम्पपीडितलाई राहत पुग्ने कुनै पनि काम अघि बढाउन भने सकेको छैन । अन्य सरकारी कार्यालयबाट प्राधिकरणमा सरुवा भएर जान कर्मचारीहरू अनिच्छुक देखिएका छन् । जसले गर्दा प्राधिकरण आफै राष्ट्रसेवक कर्मचारीको शंकाको घेरामा देखिन्छ ।

पीडितले अस्थायी टहरा, त्रिपाल तथा सामान्य ओतका भरमा एउटा वर्षा, एउटा जाडो र एउटा हुरीबतासको याम कटाइसकेका छन् । यसरी झन्डै एकवर्षसम्म कष्टपूर्ण जीवन बिताउन बाध्य नागरिकको संख्या कति छ ? यसको स्पष्ट जवाफ अहिलेसम्म पनि प्राधिकरणले दिन सक्ने स्थिति छैन । प्राधिकरणको पहिलो काम पीडितको वास्तविक तथ्यांक संकलन गर्नु हो । त्यसपछिमात्र राहत वितरण तथा पूर्नर्निर्माणमा पाइला बढाउन सकिन्छ । विडम्बना त के छ भने, अहिलेसम्म केवल आधा तथ्यांक संकलन गरिएको छ । तथ्यांक संकलनपछि गाउँमा रिसोर्स सेन्टर स्थापना गर्ने अनि पीडितलाई घर निर्माणका लागि पहिलो किस्ता रकम दिने योजना प्राधिकरणको रहेको छ । प्राधिकरणले यही सुस्त गति कायम राख्ने हो भने थप ६ महिनामा पनि तथ्यांक संकलन हुन सक्दैन । अचम्मको कुरा त के छ भने, संकलन भएका तथ्यांक पनि ‘सर्भर’ बिग्रिएका कारण अपलोड हुन नसकेको तथ्यांक विभागले बताएको छ ।

सहयोग पठाएका र प्रतिबद्दता जानाएका दाता राष्ट्रहरूले उल्टै आफुले सहयोग कहिले पठाउने हो ? के के काम भयो ? जस्ता प्रश्न सोधी सक्दा समेत नेपाल सरकारको तर्फबाट आधिकारिक उत्तर नआउँदा जर्मन सांसदहरूको टोलीले भूकम्पपीडितलाई पठाएको अनुदान फिर्ता गर्ने चेतावनी दिइसकेको छ । जर्मन संसद्को आर्थिक सहयोग तथा विकास समितिकी अध्यक्ष डाग्मर जी ओर्डले यस्तो चेतावनी दिएकी हुन् । गत महिना पाँचदिने नेपाल भ्रमण सकेर स्वदेश फर्किनुअघि पत्रकारहरूसँगको अन्तरक्रियामा उनले पूर्नर्निर्माण प्रभावकारी नभएको, सत्य निरुपण र बेपत्ता आयोग प्रभावकारी नभएको, स्थानीय निर्वाचन तत्काल गर्नुपर्ने बताएकी थिइन् । यस्तै अन्य कयौ देशहरूले हामी दिन्छौ भन्दा पनि राम्रो सँग माग्ने सरकारी समन्यवयको अभाबमा कतै सहयोगका रकम कागजमा सीमित हुने हुन् कि भन्ने शंका यति बेला ब्याप्त छ । अर्कोतिर कम्तिमा यस्तो पूर्नर्निर्माणको समयमा लामो र टिकाउ सरकार या सर्बमान्य साझा सरकार हुनु पर्ने मा राजनीतिक अस्थित्व सरकार परिबर्तन संगै प्रभावित हुने प्राधिकरण लगायतमा हुने सरुवा नब नियुक्तिले गर्दा यो अलमलमा झन् टेवा पुगेको छ ।

राष्ट्रिय धरोहरहरू नेपाली कै पसिनाले बनुन्

गत सालको महाभूकम्पले करिब ९ हजारको ज्यान र ८ लाख भन्दा बढी घर मात्र भत्काएन सांस्कृतिक र बिश्व सम्पदा सूचिमा सुूचिकृत कयौं धरोहरहरू पनि बिनाश गर्यो । त्यसैमध्यको हामी सबैले सम्झने र दुखद स्मृतिमा रहेको एक हो धरहरा । काठमाडांैको मुटुमा रहेको धरहरा धरहरा मात्र नभई भीमसेन थापादेखि आजसम्मको आफैमा इतिहास पनि हो । यसैगरि रानी पोखरी, बसन्तपुर दरबार क्षेत्र, भक्तपुर र पाटन दरबार क्षेत्रका कयौ हाम्रो इतिहास प्रतिबिम्बित हुने धरोहर आहिले हामीसंग छैनन् या क्षत् विक्षत छन् । यसैले पनि यस्ता ऐतिहासिक महत्व राख्ने र राष्ट्रको अस्मितासँग जोडिएका यस्ता धरोहर नेपालीको आफ्नै परिश्रम, सहयोग र योगदानबाट बनोस् भन्ने धेरै नेपालीको चाहना छ । यसै सिलसिलामा प्रधानमन्त्री के पी ओलीले ‘मेरो धरहरा म बनाउँछु’ अभियानको घोषणा खुद आफ्नो तलब धरहरा बनाउने कोषमा जम्मा गरि सुरु गर्दा धेरैलाई उत्साह थपेको थियो । उक्त कोषमा मन्त्रिपरिषद्का सदस्यले १८ लाख जम्मा गरे, अहिलेसम्म २० लाख जम्मा भएको समाचार आयो तर केहि दिनको मिडियाबाजी बाहेको त्यो कार्यले पनि खास गति लिन सकेन । हालै स्वय प्रधानमन्त्रीले एक कार्यक्रममा ‘मेरो धरहरा म बनाउँछु’ भन्ने अभियानलाई पनि सम्बन्धित निकायले गम्भीरतापूर्वक नलिएको आफूले महशुस गरेको बताए’ प्रधानमन्त्रीले भने ‘मलाई लाग्दैन जनता धरहरा बनाउनमा उत्साही छैनन् तर हामीले त्यसमा पनि राम्ररी काम गर्न सकेका छैनौं ।

यसै गरि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले गत माघ २ गते सुरु गरेको पूर्ननिर्माण महाअभियान अहिले पनि उही हालतमा छ । ‘चार महिना अगाडि राष्ट्रपतिको उपस्थितिमा हामीले रानीपोखरीबाट पूर्नर्निर्माण अभियानको शंख फुकेको यो अभियान जहाँको त्यहीँ छ । भावनात्मक सम्बन्धसँग जोडीएका यस्ता बिषय बस्तुहरूलाई समयमै सम्बोधन गर्न नसके यी आफै सुस्त बन्दै सेलाएर जाने निश्चित छ ।

अन्त्यमा, पूर्नर्निर्माणमा हामी सबैको सहभागितालाई राष्ट्रले एउटा महाआभियनको रुपमा लिन सक्नु पर्दछ । सरकारी स्तरका निर्णय तब मात्र दुरुस्त कार्यान्वन हुन्छन जति बेला सारा नेपालीले त्यसलाई अपनत्व महसुश गर्न सक्छन् या ति जनमैत्री हुन्छन् । सरकारी आकडाले अहिलेसम्म प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमार्फत लगभग २३ अर्ब खर्च भइसकेको जनाइएको छ तर खर्च पारदर्शी छैन । अख्तियारले पनि सरकारको भूकम्पपछिको खर्च पारदर्शी नभएको जनाएको छ । यो परिस्थितमा साँच्चै नै काम गर्न गाह्रो हुन्छ । किनकि अब हामीसंग श्रोतको अभाब छैन । सरसर्ति हेर्दा समेत करिब साढे ४ खर्ब रुपैया बराबर सहयोगको प्रतिबद्दता अहिले नेपाल सरकार सामु छ । हाम्रो जस्तो संयन्त्र भएको देशमा यो निक्कै ठूलो रकम हो । किनकि अर्थ मन्त्रालयका अनुसार विकास बजेट खर्च गर्ने सरकारको अहिलेसम्मको क्षमता भनेको वार्षिक ६०/७० अर्ब रुपैयाँ मात्र हो । त्यसैले यहि संरचनाले खर्च गर्ने हो भने बार्षिक एक खर्ब खर्च गर्यो भने पनि यो सबै खर्च गर्न ८ वर्ष लाग्ने देखिन्छ । आठ वर्षसम्म पूर्नर्निर्माण लम्ब्याईरहदा देशको हालत के होला । किनकि उपचार न्याय र सहयोग भनेको समय घर्के पछि बिकम्मा सरह हुन्छन् । धनजन भूकम्पले तहस नहस गरेका नेपालीको मन तहसनहस गर्न सकेको छैन । हाम्रा भौतिक संरचना लडे, कयांै प्रियजनहरू बिलाप भए तर हामी सम्हाली सकेका छौ, त्यसैले हामी उठ्छौ, हामी उठाउँछौ । महाभूकम्पको एक वर्ष बित्दै गर्दा फेरि पनि त्यो महाबिपदमा ज्यान गुमाउनेहरूप्रति भाबपूर्ण श्रद्धाञ्जली, यसबीचमा सरकार फेरिए, मन्त्रीहरू फेरिए तर विडम्बना पीडितको त्रिपाल फेरिएन । जसले ती पीडितलाई सहयोग गरे सहयोगी सबै मनहरु, स्वयं सेवक, राष्ट्र सेवक कर्मचारी, प्रहरी सैनिक र सबै प्रति नमन ।

—————————————————————————————————————————–

केहि दिनकै छोटो समयमा नै विश्व भरि रहेका नेपालीहरू मध्ये साधन स्रोत र समयले भ्याएसम्मका धेरै स्वयंसेवीहरू स्वत:स्फुर्त नेपाल पुगेका थिए । केहि दिनमै अस्ट्रेलियाबाट पनि एउटा ठुलो समुह नेपाल पुगेको थियो । अस्ट्रेलियाबाट गएको भिन्न क्षेत्रमा भिन्न—भिन्न दक्षता भएका नेपालीहरूको टिममा एक जान उस्तै मन लिएर तर हातमा क्यामरा बोकेर जिरो ग्राउण्ड मै पुगिन्, उनी थिइन् फोटोग्राफर सुधिरा शाह । जम्मा एक महिनाको कार्यक्रम बनाएर गएकी शाहको बसाई दोब्बर होइन तेब्बर भयो । कति ठाउँमा उनले क्यामराको लेन्स तेर्साईन त कति ठाउँमा क्यामरा झोलामा राखिन् र जानी न जानी मलम—पट्टि गरिन् त कति ठाउँमा भारी बोकिन् धेरैको आँँशु पुछिन् ।

१९९९ तिर क्यामरा बोकेर फरक विधामा हात हालेकी सुधिरा सायदै क्यामरा बोकेर कार्यक्रम र समाचार पछ्याउदै हिड्ने एक्ली चेली हुँदी हुन् । नेपालको कान्तिपुर पब्लिकेशन्सबाट फोटोग्राफीलाई आफ्नो पेशा बनाएकी शाहले छोटो समयमा नै फोटो पत्रकारिताजगतमा आफ्नो स्थान बनाउन सफल भइसकेकी थिइन् । एक सानी बालिकाले कठिनताकासाथ रोपवेबाट त्रिशुली नदी तर्दै गइरहेको उनको तस्वीरले सन् २००२ मा राष्ट्रिय फोटो प्रतियोगितामा दोस्रो उत्कृष्ट तस्वीरको उपाधि जितेको थियो र उनका तस्वीरहरूले अहिलेसम्ममा चीन, मलेसिया, बेलायत र अष्ट्ेरलियामा थुप्रै उपाधिहरू जित्न सफल भइसकेका छन् । सन् २००४ मा बेलायतको University of Westminster बाट फोटो पत्रकारितामा स्नाकोत्तर गरेकी शाहले अस्ट्रेलियामा विगत ६ वर्षदेखि आफ्नै स्टुडियोमा धेरै समय सिर्जनात्मक फोटोग्राफीमा बिताउने गरेकी छिन् । नयाँ जीवनशैलीमा आधारित आफ्ना जीवन्त तस्वीरहरूलाई पारखी सामु पुर्‍याउन खप्पीस शाहको सिर्जना हजारौको घरमा सजिएका छन् । यसका साथै उनी दक्षिण अष्ट्रेलियाबाट प्रकाशित हुने इन बिजनेश पत्रिकामा संलग्न थिइन् ।

जति बेला पत्तै न पाई तिन महिना बित्यो र उनि अस्ट्रेलिया फर्किन उनले जीबनमा कमै मानिसले देख्ने कारुणिक दृश्य मुटु भरि लिएर फर्किन र संसारले बुझ्ने गरि सबैले महशुस गर्ने गरि क्यामरा भरि त्यहाका चित्र हरू कैद गरेर ल्याईन । स्वतन्त्र फोटोपत्रकारका रुपमा बिभिन्न पत्रपत्रिकामा संलग्न् शाहका तिनै तस्बिरहरू मध्येको पनि भूकम्पबाट प्रभावित ४ मध्ये ३ वटा तस्वीरहरूले डकुमेन्ट्री विधामा पुरुस्कार जित्न समेत सफल भयो । फलस्वरुप उनी २०१६ एन एस डब्लु डकुमेन्ट्री फोटोग्राफर अफ द इयर फाइनलीष्टको उपाधि जित्न सफल भएकी छन् ।

निश्चय नै एक फोटो बराबर सयौ शब्दहरू हुन्छन, त्यस्तै छन् शाहले भूकम्प बखत खिचेका फोटाहरू । यस पंक्तिकारसँगको कुरामा गतवर्ष भूकम्प प्रभावित क्षेत्रमा बिताएका ३ महिनाको स्मरण गर्दै निक्कै भाबुक बनिन् । अहिले बाहिर आएका केहि तस्बीरहरू बाहेक पनि सुधिराका क्यामरामा धेरै तस्बिरहरू छन् जुन आफैमा जिवन्त पीडाका कथाहरू हुन् । वियोगका ती कथाहरू एकै साथ भन्दा बिस्तारै मानवीय पीडाहरू कम हुँदै गएपछि प्रकाशन गर्ने अथवा मिडियामा ल्याउने सुधिराको सोच छ । मानबिय सम्बेदनासँग जोडिएका यी तस्बिरहरूलाई तस्बिरको रुपमा मात्र नहेरी जीवनको अमूल्य भोगाइ र पीडाका सागरबीच जीवन सामान्य बनाउन खोजेका तमाम दाजुभाइ तथा दिदीबहिनीहरूप्रति समर्पित गर्दै आफुलाई त्यही बिडम्बनाको प्रत्यक्षदर्शीको रुपमा सम्झना चाहन्छिन् उनी ।

उनको हालै पुरस्कृत तस्बीरको कथा पनि कम्ति मन छुने छैन । तस्बीरमा देखिएका दुई बालिकामध्ये एकले देब्रे र अर्कोले दाहिने खुट्टा भूकम्पमा परि गुमाएर बैशाखीको साहारामा छन् । संयोगले जोडिएको उनीहरूको मित्रता गजबको छ । निस्ठुरी प्रकृतीले उनीहरूमाथि गरेको अन्यायलाई ममताको झोली र मित्रताको मलमले उनीहरूले प्रतिकार गरेका छन् । कुनै दाताले दिएको एक जोर चप्पल उनीहरू बाँडेर लाउन उनीहरू सक्षम छन् भने खुट्टामा देखिएको पाउजु पनि एक जोडी हो जुन उनीहरू दुवैलाई पर्याप्त हुन पुग्यो । पानीमा देखिएको धुमिलो तीनका छायाँबाहेक सुधिराको क्यामराले कैद नगरेका यस्ता कैयौ घटना होलान्, कयौ पीडादायी यथार्थ होलान् ।

sudhira photo awardded

सुधिराले पुरस्कार जित्दै गर्दा निश्चय नै नेपालका ती तस्बिरहरू संसारका कुना कुना र प्रसिद्ध छापाहरूमा ढिलोचाँडो पुग्ने छन् । हामीलाई अझ धेरैको सहयोग र सद्भाब चाहिएको महाबिपदको यो क्षणमा आशा गरौ प्रविधिसँग अंकमाल गर्दै सुधिराका तस्बिरहरू आफै बोलुन्, हाम्रा दु:खका भावना सबैतिर पुगुन, पूर्नर्निर्माणमा पाईला टेक्दै गर्दा हामीलाई अझ ठुलो भरोसा, सहस र ढाडस मिलोस् ।

Sudhira Shah

तस्वीर आत्मसन्तुष्टीको लागि खिच्छु – सुधिरा शाह 

फोटो किन खिच्नु हुन्छ ?

राम्रो प्रश्न लाग्यो । किन तस्वीर खिचिरहेको हुन्छु, जुन बेला जे खिचिरहेको हुन्छ, त्यही बेलाको अवस्थाले प्राय: बताउँछ । कहिल्यै म कुनै विषयबस्तुमा दर्शकको ध्यानार्कषण गर्न तस्वीर खिचिरहेको हुन्छु, भने कुनै बखत कुनै विशेष क्षणलाई आफ्नो बनाउने धोकोले खिचिरहेको हुन्छु सायद । त्यसैलाई यसरी पनि भन्न सक्छु – तस्वीर आत्मसन्तुष्टीको लागि खिच्छु । त्यस्तै जीवन धान्नको लागि पनि तस्वीर नै खिचिरहेको हुन्छु ।

फोटो कहिलेबाट खिच्न थाल्नु भो ?

व्यवसायीक रुपमा १९९९ मा कान्तिपुर पब्लिकेशन्समा आबद्ध भएपछि ।

तपाई फोटोग्राफर हो कि, तपाईलाई फोटो पत्रकार भन्दा हुन्छ र ?

दुवै हुन्छ ।तर यता धेरैजसो समय स्टुडियोमा रहेर तस्वीरहरू खिच्दा भने फोटोग्राफरै भन्दा सुहाउला कि ?

फोटो खिच्दा हास्ने मुस्कुराउने चलन छ, भूकम्पको पीडाको बखत क्यामरा बोकेर हिडदा कस्तो अनुभब भयो ?

विपदको बेलामा त कसैलाई पनि हास्न त गाह्रै हुन्छ नि हैन । कोही मुस्कुराउन वा क्यामरा कन्सियस भयो भने त त्यो तस्वीर नै बन्दैन । त्यसैले कुनै पनि स्थितीमा खिच्दा परिस्थिती ध्यान त दिनै पर्ने हुन्छ । यस पटक कयौं अवस्थामा मान्छेहरू आफ्ना कथा सुनाउदा भक्कानिएर रुन्छन्, म पनि एकदमै इमोश्नल मान्छे भएकोले, कयौंपटक उनीहरूसंगै रोएँ पनि तर तस्वीर लिनु त पर्ने नै हुन्छ जस्कोलागि म त्यहाँ गएको हुँ ।

कस्ता अनुभूति भयो भूकम्प काको बिनाशलाई फोटोमा उतार्दा ?

त्यस्तो विषयमा काम गर्दा धेरै गाह्रो हुन्छ । त्यो अवस्थामा पुग्दा पहिले त आफुनै सक्ड भईसकेको हुन्छ, मन दुखित भईरहेको हुन्छ तर आफुलाई सम्हालेर काम गर्नु नै पर्ने हुन्छ । त्यहाँको स्थितीलाई जस्ताको तस्तै तस्वीरमा उतार्नु कुनैपनि फोटोपत्रकारको पहिलो जिम्मेबारी हुन्छ । यसपटकको अनुभवमा, धेरै त्यस्ता घटनाहरू भए जुन सम्झँदा पनि डर लाग्छ । हुन त भूकम्पमा मानिसहरूले जुन अबस्थाका कतिपय अवस्थामा तस्वीरहरू भग्नाबशेसको नजिक गएर खिचियो, पछि याद हुन्छ । त्यतिबेलामा यदि भूकम्प जान्थ्यो भने, ज्यान जान सक्ने अवस्था पनि रहन्थ्यो ।

कहाँ–कहाँ पुग्नु भो भूकम्प प्रभावित क्षेत्रमा ?

थुप्रै ठाउँहरू पुगेँ । गैर आवासीय संघको स्वयंसेवक भएर सिन्धुपाल्चोक, गोरखा र दोलखा गएँ । स्वयंसेवकको रुपमा पछिल्लो पटक गोरखाको अति बिकट गाउँबाट करिव ९ दिनमा मात्र पुग्ने शमागाउँमा हेलिकप्टरको पाइलट र म, खाद्य सामान लिएर गएको अविश्मरणीय रह्यो । सायद खाना लिएर जाने हामी नै पहिलो समुह थियौ, फर्कदा एक बिरामी लामा विद्यार्थी र २ बृद्धहरूलाई लिएर फर्किएका थियौ । त्यसपछि म नेपाल/भारतीय सैनीकसंग मिलेर ओखलढुंगा पुगेँ । लगत्तै बिभिन्न साथी समुहहरूसंग मिलेर रसुवा, भूकम्पको केन्द्र बिन्दु रहेको बारपाक, नुवाकोट, काभ्रेपलान्चोक जस्ता ठाउँहरू बिभिन्न समय मिलाएर क्षतीग्रस्त ठाउँहरू पुगेको थिएँ । पछिका समयहरू मैले राजधानीको किर्तीपुर, भक्तपुर, खोकना, साँखुमा पिडितहरूलाई भेट्न गएँ । त्यसैगरी राजधानीमा छरिएर बसेका शरणार्थी शिविरहरूमा पनि गएको थिएँ ।

भूकम्पको बखत खिचेको फोटो पुरस्कृत भयो कस्तो अनुभब गर्नु भएको छ ?

सन्तुष्टिको अनुभव भएको छ ।

के भन्न चाहनु हुन्छ विपदमा खिचिएका यी तस्बीरहरू मार्फत ?

जस्तोसुकै आपतविपत आईपरे पनि मान्छेले शाहसका साथ आशावादी जिन्दगी जिउने प्रयास गर्छ । मेरा तस्वीरहरूले तीनै आशावादी जिन्दगीहरूलाई केलाउने प्रयास गरेको छ । विपतमा पीडामा फैलीएको बेला पनि कयौं राम्रा सम्बन्धहरू गाँसिन्छन्, पराईपनि आफ्ना हुन्छन्, कहिल्यै नचिनेकाहरू पनि देउतासरी मद्दतका लागि देखिए । यस्तै कुराहरूलाई मैले तस्वीरमा उतार्ने प्रयास गरेको थिएँ । जुन संभवत निरन्तर गरि रहने विषय हुन सक्छ ।

 तपाईका फोटाहरू आफैमा सन्देशमूलक छन् र तपाईको विविध मिडियासम्म राम्रै पहुच छ, यी फोटोहरू ति मिडियामा दिए नेपालको संदेश पुग्थ्यो कि ? सहयोगी मनहरू बढ्थे कि ?

 बिगतमा आफ्ना अरु कामहरूको कारणले त्यति ध्यान दिन पाइरहेको थिइन । अब त्यतातिर पनि चाडै नै केही गर्ने सोचमा छु ।

अब के गर्दै हुनु हुन्छ ?

अहिले म मेरो अष्ट्रिेलियन नेपालीहरूको किताबको अन्तीम चरणमा काम गर्दै छु । त्यसपछि चाडै नै पूर्न: स्टुडियोमा फोटोग्राफीको लागि उपलब्ध हुनेछु ।

अन्त्यमा केहि भन्नु हुन्छ कि ?

सबै शुभेछुकहरूलाई सधै हौसला प्रदान गरिदिनुभएको धेरै धेरै धन्यबाद । मेरो आफ्नो अनुभब र यहि क्षेत्र कै लामो समयको अनुभबले मैले तपाईहरूलाई पनि केहि सहयोग गर्न सके भने मलाई पनि खुसी अनुभूति हुनेछ । त्यसैले आफ्नो विषेश तस्वीर खिचाउन इच्छा भएमा ०४११७८९९९४ मा एसएमएस गरी सम्पर्क गर्न सक्नु हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

पहिचानको लागि जुट्दै हामी

/शुक्र, मंसिर २९, २०७४