Madhusudan shibapuri (1)घुमघामका लागि अनिवार्य शर्त हुन् पैसा, समय स्वास्थ्य र साथी । पैसा हुँदा समयले साथ नदिनसक्छ । समयले साथ दिँदा पैसा नहुनसक्छ । पैसा र समयले साथ दिँदा साथी नमिल्नसक्छ । यी तीनै चिजले जब साथ दिन्छ तबमात्र यात्रा सम्भव हुन्छ भन्ने छैन । स्वास्थ्यले पनि साथ दिनुपर्छ । अनिमात्र यात्रा सम्भव हुन्छ । हुन त पाँचौ कुरा पनि यात्राको साइतका लागि । त्यो हो मौसम । तर यात्राका लागि मौसमको त्यति ख्याल गरिँदो रहेनछ । मौसमभन्दा साइत जुराएर यात्रा गर्ने प्रचलन पनि पुरातनपन्थीहरूमा अद्यापि छँदै छ ।

मानिसका लागि मनोरञ्जनका अनेक साधन छन् । हाइकिङ क्यानोइंग, बन्जीजम्प, पाराग्लाइडिंग, र्‍याफ्टिङ्ग माउन्टेनरिङ्ग हनिहन्टिङ्ग, रक–क्लाइम्बिंग, लगायत थुप्रै साधनको उपयोग गरी मनोरन्जन लिन सकिन्छ ।

शिवपुरीदेखि सुन्दरीजलसम्मको हाइकिंगको इच्छा लामो समयदेखि थाती रहेको थियो । २०/२२ दिन यात्राहरू सम्पन्न गरिसक्दा पनि यो एक दिने यात्राका लागि समय जुर्नसकेको थिएन । पैसा त खासै के लाग्थ्यो र तर पनि पैसा समय र स्वास्थ्यले साथ दिँदादिँदै पनि यात्रा साथी जुर्न सकिरहेको थिएन । आरक्षण भित्रको यात्रा भएकाले जंगली जनावरको पनि ख्याल गर्नुपर्‍यो । साथी त चाहियो नै ।

भाग्यमा लेखेभन्दा बढी र समयभन्दा अगावै केही पाइँदैन भनेर त्यसै भनिएको होइन होला । समयले हामीलाई यो हाइकिंगका लागि २०७३ असार १५ गतेका लागि निर्धारण गरिदिएको रहेछ । असार १४ गते मित्र शंकरजी (शंकर मजगैंया) र मेरो भेट सिर्जनाकुटीमा भयो । उहाँले नै हाइकिंगको प्रस्ताव राख्नुभयो । मैले स्वीकृति जनाएँ । भोलिपल्टै हामी प्रस्थान गरिहाल्यौं । किरण (किरण पन्थी) भन्दै थिइन् वर्षातको समय छ । नगए पनि हुन्छ । हिँड्ने बेलैमा बाटामा भाइ शक्ति नेपालसँग भेट भयो । उनी पनि भन्दै थिए– ‘यस्तो मौसममा हाइकिंग ? जवाफ फर्काएँ– के होला र । हदै भए जुका लाग्ला । पानी पर्ला । भिजिएला । त्यही न हो । उनी फिस्स हाँसे । हामी आ–आफ्नो गन्तव्यतर्फ लाग्यौं ।

बिहान ठीक ८ बजे ब्रेकफास्ट लिएर घर छाडेका हामी सुकेधाराबाट माइक्रो चढी ९ बजे बूढानिलकण्ठ पुग्यौँ । यात्राका लागि चाहिने दाना–पानी किनमेल गरी उकालो लाग्यौं । मन्दिरनिरबाट पैदल हिँड्दा शिवपुरी आरक्षणको गेट पुग्न ठीक ४५ मिनेट लागेछ । आरक्षण प्रवेशका लागि ५० रुपैयाँको टिकट लाग्दो रहेछ तर नि:शुल्क प्रवेश पाइयो । जति–जति अगाडि बढ्दै गयौं । त्यति त्यति घना जंगल आउँदै गयो । मानव बस्तीविहीन जंगलमा अब जंगली जनावर र चराचुरुङ्गीबाहेक कसैसँग भेट हुने कुरै भएन । शंकरले मसँग सोधे ‘खुकुरी ल्याउनु भएको छ कि छैन’ ? जवाफ दिएँ ल्याछैन । आरक्षण भएकाले सेनाले लैजान दिँदैन होला भनेर नल्याएको बताएँ । मैले उनलाई सोधें– ‘तपाईँ नि’ ? उनले पनि जवाफ दिए– ‘ल्याछैन’ ।

Madhusudan shibapuri (2)नि:शस्त्र दुई जवान । राष्ट्रिय निकुञ्जभित्रको ८ घण्टे यात्रा । मानव बस्तीविहीन स्थान । धृष्टता गरिएकै हो । अबको विकल्प के नै थियो र ∕ बेला–बेलामा ठूला–ठूला स्वर निकाल्दा बाघ, चितुवा, भालु नजिकमा रहेछन् भने आफ्नो बाटो लाग्लान् भन्ने सोचेर त्यही उपाय निकाल्यौँ ।

घरबाट हिँड्ने बेलामा पानी पर्लाजस्तो मौसम थियो । शिवपुरी आरक्ष प्रदेश गर्दा चर्को घाम थियो । एक घण्टापछि हल बदली भयो । दिनभरि घाम पनि लागेन । पानी पनि परेन । झोलामा राखेको छाता निकाल्नै परेन । पानी मात्रै परेको भए पनि निकै कष्ट हुने रहेछ । साइत जुरैकै रहेछ भनी मनमनै खुसी प्रकट गर्‍यौं ।

कतै होटेल भएको भए चिया–कफी पिउँथ्यौं होला । दोकान भएको भए खानेकुरा किन्थ्यौं होला । अहँ ∕ कहीँ कतै केही छैन । एकैपटक तारेभीर पुगेपछि बल्ल केही बस्ती र मान्छे देख्यौँ । होटेल कतै नभएको पनि उनीहरूबाटै जानकारी पायौं । हुन त हामीसँग खाने कुरा प्रशस्त थिए । चियाको तलतल मात्रै मेटाउन पाएको भए धेरै आनन्द आउने थियो भन्ने लागिरहेको थियो ।

आरक्षभित्रको यात्रा । हिँड्ने बेलामा जति डर त्रास लागे पनि वास्तविकता एकदमै भिन्न देखियो । दुई ठाउँमा पन्ध्र–पन्ध्र मिनेट सुस्ताएको बाहेक लगातार आठ घण्टा हिंडेर सुन्दरीजल बसपार्क आइपुग्दासम्म जंगलभित्र कुनै पनि वन्यजन्तु तथा चराचुरुङ्गी देख्ने अवसर जुरेन । हिंस्रक् जनावरको सामना गर्नुभन्दा देख्न नपाएकै बेस भन्ने लाग्यो । केही बोटबिरुवा भने कहिल्यै नदेखेका देख्न पाइयो ।

सुन्दरीजल ड्याम आइपुग्दा मात्रै दिनभरिको यात्राको कष्ट बिर्साउने क्षण बन्यो । ड्यामसाइड मजाले घुम्नुपर्छ है भन्दै आएका थियौं तर त्यसै दिन बिहान एक जना मान्छे ड्याममा खसेको हुँदा सेना र प्रहरीको खोजी कार्य जारी रहेकाले निषेधित क्षेत्र तोकिएको रहेछ । सुरक्षा निकायले अघि बढ्न नदिँदा ड्याम साइड घुम्ने धोको अधूरै रह्यो । अलि तल आएर झरनाको कलकल, केटाकेटीहरूले झरनामा भिज्दै गरेको रमाइलो हेरेर झण्डै आधा घण्टा बिताइएछ । त्यहाँबाट तल झरेर बसपार्क पुग्यौं । बसपार्क पुगेपछि बल्ल दिनभरिको चियाको तलतल मेटाउन पाइयो । घर आइपुग्दा ७ बजेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार