‘हार्मोनी डे’ सेलिब्रेसनमा वेस्टर्न सिड्नी युनिभर्सिटीका नेपाली विद्यार्थीहरु सहभागी

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, चैत्र २६, २०७४
ईस्माईली कम्युनिटिले (Imami Ismaili Council) वेस्टर्न सिड्नी युनिभर्सिटी र कम्युनिटि माईग्रेन्ट रिसोर्स सेन्टर संगको सहकार्यमा वेस्टर्न सिड्नी युनिभर्सिटीको परिसरमा गत  ७ अप्रिल २०१८ शनिबारका दिन आयोजना गरेको हार्मोनी डेको सेलिब्रेसन कार्यक्रममा वेस्टर्न सिड्नी युनिभर्सिटीका नेपाली विद्यार्थीहरु ले नेपाली स्टुडेन्ट्स ईन वेस्टर्न सिड्नी युनिभर्सिटीको (NSWSU) अगुवाईमा नेपालको प्रतिनिधित्व गर्दै सक्रिय सहभागिता जनाएका छन । NSWSU युनिभर्सिटीद्वारा आयोजना हुने विभिन्न कार्यक्रममा यस अगाडी सहभागि हुँदै आएको भएपनि समुदायमा हुनेबृहत कार्यक्रममा भने संस्थाको तर्फबाट यो पहिलो सहभागिता रहेको उक्त संस्थाकी सचिव ऋचा शर्मा अर्यालले जानकारी गराईन । 
अष्ट्रेलियामा नेपालीहरुको संख्या बढ्दै गर्दा नेपालीहरुको पहिचानलाई अष्ट्रेलियन समाजमा बलियो बनाउनुपर्छ र उनीहरुको योगदानको उचित कदर हुनुपर्छ भन्ने आवाजलाई अझ बुलन्द पार्न नेपाल र नेपाली संस्कृितको प्रचार हुने यस्तो कार्यक्रममा विद्यार्थीहरुले सहभागि जनाउनु अझ सान्दर्भिक हुने बुझाई सहित क्लबले आफ्नै पहलमा उक्त दिनको वाक फर हार्मोनी  (Walk for Harmony) र सांस्कृतिक प्रदर्शनीमा (Cultural Performance) भाग लिएको क्ल्बकी अध्यक्ष दिव्य श्री क्षेत्रीले द नेपाली टाईम्स अष्ट्रेलियालाई जानकारी दिइन् । क्षेत्रीका अनुसार प्रदर्शनीमा नेपालको पहिचान झल्कने नेपालको झन्डा, नेपालका प्रमुख पर्यटक स्थल तथा खानाको फोटोहरु पनि राखिएको थियो ।
उक्त कार्यक्रममा पाहुनाहरुलाई नेपालको प्राकृतिक सुन्दरता तथा सांस्कृतिक विविधता सम्बन्धी जानकारीदिदै “नमस्कार” र “धन्यवाद” जस्ता नेपाली शब्द पनि सिकाईएको थियो भने विद्यार्थीहरु ले दुई वटा नेपाली लोक नृत्य पनि प्रस्तुत गरेका थिए । नर्सिङ र सोसल वोर्क मा स्नात्तोकर गर्दै गरेकी विद्यार्थी सन्ध्या शर्मा र दिपा अधिकारीले नेपाली लोक बाजाको धुन र गीतको तालमा नाँच्दा  कार्यक्रम स्थल नेपाली लोक बाजामा गुञयमान भएको थियो ।  आउने दिनहरुमा पनि यस्ता  सामुदायिक कार्यक्रमहरुमा समयले भ्याए सम्म संस्थाले सहभागिता जनाउने पनि संस्थाकी अध्यक्ष क्षेत्रीले बताईन।