गजलमय बन्दै गजल मुशायरा सम्पन्न 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, अशोज ११, २०७५
नसोध्नुस् बा चाहिन्छ कि आमा चाहिन्छ,
बालकका अगाडि यत्ति त सभ्यता चाहिन्छ ।
मलाई हावा भनेर उडाउनेहरू हो बुझ,
तिमीलाई नि बाँच्नका लागि हावा चाहिन्छ ।
बुहारीसँगै छोरीलाई पनि सिकाइदिनुस्,
पतिसँगै सासू चाहिन्छ ससुरा चाहिन्छ । – जितेन्द्र मल्ल

बिगतका चार गजल मुशायराको सफल श्रृंखलामा रमेका सिड्नीका गजल पारखीहरु का लागि अभुतपुर्व गजलमय बन्दै  ‘गजल मुशायरा  २०१८’ सम्पन्न भएको छ । गजल मुशायरा परिवारद्वारा आयोजित यस पटकको कार्यक्रम गत सेप्टेम्बर २३ का दिन  सिड्नी हर्स्टभिलस्थित सिभिक थिएटरमा  सम्पन्न भएको हो । नेपालका प्रथम गजलकार एबम साहित्यकार मोतीराम भट्ट प्रति सम्मान व्यक्त गर्दै सम्पन्न  यस पटकको गजल मुशायरामा पनि  बिगतमा जस्तै गजल प्रेमीहरुको बाक्लो उपस्थिती सहित शुरूबाट अन्त्यसम्म नै दर्शकहरुको तालीको गड्गडाहट र वाह वाह सँगै सम्पन्न भयो।

गजलको एउटा सम्पूर्ण कार्यक्रम यस कार्यक्रममा अस्ट्रेलियामा रहेका २५ जना गजलकारहरुले आफना  बिबिध  स्वादका गजलहरु पस्केका थिए। सबैलाई लट्ठ पर्दै गजल सुनाउने  गजलकारहरु मा  सिड्नीबाट गणेश गौतम, गणेश कंडेल, शिवजी भण्डारी, सुशील शर्मा सापकोटा, गोविन्द दवाडी, निष्प्रभ सजी, नैना निर्झरा, सजल नयन, दिपक निरौला, राज गुरुङ, सिर्जना थापा, बुद्धिसागर दवाडी, निमेष भण्डारी, प्रेम अधिकारी, जितेन्द्र मल्ल, आदर्श कार्की, ऒमकार अधिकारी, र बिष्णु प्रसाद अधिकारी, बौरल, न्यू साउथ वेल्सबाट निरज जोशी, अल्बेरी न्यू साउथ वेल्सबाट दुर्गा प्रसाद रिमाल, क्यानबेराबाट  विनायक अधिकारी, ब्रिसबेनबाट केशव शर्मा र मन्दिरा सापकोटा, मकाई, क्विन्सल्याण्डबाट  सन्तोषी लामिछाने, र एडिलेडबाट प्रकाश धमला रहेका थिए।
कार्यक्रममा गजल वाचनका अलावा स्थानीय प्रतिभाहरु निखिला चापागाईं, मनिषा न्यौपाने र शमिका जिसिको गजलमा नृत्य र निशान ढकालको गायन पनि प्रस्तुत गरिएको थियो। कार्यक्रमलाई बाबा एजुकेशनले प्रयोजन गरेको  थियो।
(फोटो : बिवस फोटोग्राफी)