वेस्टर्न सिड्नी युनिभर्सिटीका नेपाली विद्यार्थीहरु ले युनिभर्सिटी मै दशैं मनाए

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, अशोज २८, २०७६

वेस्टर्न सिड्नी युनिभर्सिटीको नेपाली विद्यार्थीहरुको क्लबले (Nepali Students in Western Sydney University NSWSU) विश्वविद्यालयको पारमाटा साउथ क्याम्पसको प्राङगणमा दशैंको एकादशी अक्टोबर नौं तारिखको दिन विश्वविद्यालयको Chaplaincy सङको सहआयोजनामा दशैं मनाएका छन ।

झण्डै १५०० को संख्यामा नेपाली विद्यार्थीहरु अध्ययन गर्ने वेस्टर्न सिड्नी युनिभर्सिटीमा नेपाली विद्यार्थीहरुलाई एक अर्काको सहयोग आदानप्रदान गर्ने तथा विश्वविद्यालयको विभिन्न कार्यक्रमहरुमा सहभागि हुन क्लबले सक्रिय रूपमा गएको ३ वर्षदेखि भूमिका खेल्दै आएकोमा दशैं मनाउने जमर्को भने पहिलो पटक जुरेको  क्लबकी संस्थापक तथा सल्लाहकार समिति सदस्य दिव्य श्री क्षेत्रीले जनाउनुभयो । विश्वविद्यालयको Chaplaincy को सहआयोजनामा भएको दशैंको टिका तथा जमरा लगाउने कार्यक्रममा नेपाली विद्यार्थीहरु मात्र नभएर अन्य देशका विद्यार्थीहरु समेत सहभागी भएर रमाईलो गरे ।

नेपाली खाना सेलरोटी , अचार र मःमः को पनि व्यवस्था गरिएकोले दशैं कार्यक्रम अझ आकर्षक बनेको कार्यक्रमकी  संयोजक करुणा राउतले जानकारी गराउनुभयो । विश्वविद्यालयको Chaplaincy ले अग्रसर भएर दशैं कार्यक्रमलाई सफल बनाउन ठूलो सहयोग गरेको भन्दै आईटी संयोजक सजित गुरुबाचार्यले वेस्टर्न सिड्नी युनिभर्सिटीले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई दिने अवसरहरु धेरै रहेको भन्दै विश्वविद्यालयको नीति सरहानिय रहेको बताउनुभयो । दशैं कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै जनालाई धन्यवाद व्यक्त गर्दै अब हरेक वर्ष क्लबले यसरी दशैं कार्यक्रम गर्ने र छिट्टै नयाँ कार्यसमितिको चयनको लागि आहवान गरिने क्लबकी अध्यक्ष ऋचा शर्मा अर्यालले जानकारी गराउनुभयो ।  साथसाथै  वेस्टर्न सिड्नी युनिभर्सिटीमा रहेका नेपाली विद्यार्थीहरुलाई फेसबुक पेज मार्फत क्लबसँग जोडिन पनि वहाँले अनुरोध गर्नुभयो ।