राजन शर्मालाई ‘मास्टर योग टिचर” को उपाधि प्राप्त

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, कार्तिक २०, २०७७
अष्ट्रेलियामा रहेर लामो समय देखि बिश्वका भिन्न देश र शहरहरु मा योग, सधान र ध्यान शिबिरहरु संचालन गर्दै आउनु भएका राजन शर्मालाई विश्वका योग प्रशिक्षकको समूह ‘योग अलायन्स ईन्टरनेशल’ तथा ‘योग आलायन्स अष्ट्रेलिया’ ले अन्तर्राष्ट्रिय क्षेत्र मै प्रभावशाली योग शिक्षकको सूचीमा दर्ता गर्दै  ‘मास्टर योग टिचर” को उपाधिले सम्मान गरेको छ।
हाल सम्म बिश्वभर २९ जना  योग गुरुलाई सम्मान गरिएको ‘योग अलायन्स वल्र्ड’ ले जनाएको छ ।  जस मध्ये पछिल्लो समय यो सम्मान पाउने राजन शर्मा रहेका छन् । अलायन्सले आफ्नो वेबसाईटमा योग गुरु आचार्य राजन शर्माको परिचय सार्वजनिक गरि सकेको छ ।  दुई हजार पांच सय  घण्टा भन्दा बढी योग प्रशिक्षण अनुभव हासिल गरेको वा योग, ध्यान, प्राकृतिक उपचारको क्षेत्रमा लामो अनुभव हासिल गरेका वा योग विधामा शोध, अनुसन्धानमा बिताएका योगगुरु, स्वामी तथा विशेषज्ञलाई यो उपाधि दिने अलायन्सको प्रावधान छ ।
नेपाल, भारत र अष्ट्रेलियाका शिक्षालय र गुरुकुलबाट योग शिक्षा तथा प्राकृतिक उपचार सम्बन्धी अध्ययन र अनुसन्धान गरेका योगी आचार्य राजन शर्माको बस्ताबिक नाम भीमसेन सापकोटा हो  । उनले योगका तीनवटा विश्व कीर्तिमान कायम गरेको आलायन्सले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा जन्मिएका शर्माले सन् २०१७ मा अमेरिकी आकाशमा उडिरहेको विमान ‘एटलान्टा’ मा न्युयोर्कबाट लस एञ्जेलस सम्मको पाँच घण्टे उडानमा उत्प्रेरणात्मक योग शिविर सञ्चालन गरी विमानभित्र योग शिविर सञ्चालनको पहिलो कीर्तिमान राखेका थिए ।
विश्वका ४२ देशका ८२ स्थानमा ‘द आर्ट अफ ह्याप्पिनेस’ नामको उत्प्रेरणा शिविर मार्फत् विश्वलाई योगमया बनाउंने कार्यमा संलग्न शर्मालाई फिजी सरकारले नेपाल–फिजी सांस्कृतिक राजदूत र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले विश्व सद्भावना दूतको रुपमा समेत नियुक्त गरेको छ । लेखक र कविको रुपमा समेत परिचित शर्मा चर्चित उत्प्रेरणात्मक कृति ‘सुखसूत्र’ का सर्जक हुन्।