घरघरमा द्यौसी-भैलो खेलेर मनाइयो ताज्मानियामा तिहार

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शनिबार, मंसिर १३, २०७७

ताज्मानिया । अष्ट्रेलियाको ताज्मानिया राज्य स्थित लन्चेस्टनमा बसोबास गर्ने नेपालीहरुले हिन्दुहरुको महान चाड दिपावली धुमधामसँग मनाएका छन् ।
करिब तीन महिनादेखि समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण नदेखिएकाले लन्चेस्टनमा मानिस भेला हुन कुनै प्रतिवन्ध छैन । यही मौकामा यहाँ बसोबास गर्ने  नेपालीहरु ले नेपालकै शैलीमा द्यौसी खेलेर, सेलरोटी पकाएर अथवा भाइटिका लगाएर आफ्नो चाड मनाए ।  सारंगी, मादल तथा अन्य परम्परागत बाजागाजा सहित नेपालीहरु बसोबास गर्ने घरमै पुगेर द्यौसी खेल्दा स्थानीयहरु पनि रमाइलो मानेर हेरेका थिए । यसरी घरमै गएर द्यौसी खेल्ने कार्यक्रम लन्चेस्टन सकर क्लबले आयोजना गरेको थियो ।
करिब २० जनाको समूहमा नेपाली परम्परागत बाजासहित नेपाली पोशाकमै उपस्थित एकजनाले भट्याएका थिए भने अन्य सहभागीहरुले “द्यौसी रे” भन्दै साथ दिएका थिए ।
त्यस्तै नेप्लिज सोसाइटी अफ नर्दन ताज्मानियाले पनि लक्ष्मी पूजाको दिन एक विशेष कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा लन्चेस्टन काउन्सिलका मेयर अल्वर्ट भ्यान जेटन लगायत अन्य पदाधिकारीहरुले पनि द्यौसी भैलीलाई नेपालकै शैलीमा दक्षिणा दिएका थिए । बदलिँदो परिवेशमा विदेशमा आएर पनि आफ्नो परम्परालाई बचाइराख्नु र अर्को पुस्तालाई हस्तान्तरण गर्नु सह्रानीय काम भएको मेयलर जेटनले बताएका थिए ।
यहाँ जन्मिएका पछिल्लो पुस्ताका नेपालीहरुलाई नेपाली चाडपर्वको महत्वबारे जानकारी दिने उद्येश्यले आयोजना गरिएको कार्यक्रममा सयौंको संख्यामा नेपालीहरुले दक्षिणा दिएका थिए । उक्त भैलो बाट उठेको रकम लन्चेस्टनमा नेपाली सँस्कृति बचाउने अन्य किसिमका कार्यक्रमहरु आयोजना गर्न खर्च गरिने सोसाइटीका अध्यक्ष नवराज मुडवरीले बताए ।

*फोटो र न्युज – प्रतीक सिग्देल, ताज्मानिया