teejतीज नेपाली नारीहरूको एक महान र बिशेष चाड हो । यो पर्ब नेपालमा बस्ने नारीहरूले मात्र नभई विश्वभर छरिएर रहेका नेपाली मुलका नारीहरूले धुमधामसंग मनाउछन् । धार्मिक पुस्तकहरूमा यो पर्ब हिन्दु नारीहरूको महान पर्ब भनि उल्लेख भएतापनि तीजलाइ सम्पूर्ण नेपाली नारीहरूले उत्तिकै महत्व र हर्सोल्लासकासाथ मनाउने परम्परा रहिआएको छ । यो पर्बको लागि भाद्र शुक्ल तृतीयाको दिनमा ब्रत बसेर मनाउने चलन छ र यस अबधिमा गरिने ब्रत केवल स्त्री जातिहरूको सौभाग्यको निम्ति गरिने ब्रत हो । शास्त्रहरूमा बर्णन गरिए अनुसार हिमालय पर्वतकी छोरी पार्वतीले भगवान महादेवलाई पति पाउँ भनि धेरै बर्षसम्म जंगलमा लुकेर कठोर तपस्या गरिन । घनघोर जंगलमा कन्दमुल र सुकेका पत्र मात्र खाएर महादेवको ध्यान गरेकी पार्वतीको तपस्याबाट खुसी हुनुभएका महादेवले पनि तथास्थु भनि बरदान दिनुभयो र पार्वतीलाई आफ्नो अर्धांगिनीको रुपमा स्वीकार गर्नुभयो । पार्वतीको यहि कठोर तपस्या तथा महादेवको बरदानको आधारमा त्यसपछिका नारीहरूले अबिबाहित भए राम्रो पति पाउनको लागि र बिबाहित भए आफ्नो पतिको दीर्घ जीवन तथा सुस्वास्थ्यको मनोकामना साथ निराहार ब्रत गरि महादेवको पूजा आराधना गर्ने चलन चलेको कथा पढ्न र सुन्न पाइन्छ ।

तीजलाई हरितालिका पनि भन्ने गरिन्छ । किन तीजलाई हरितालिका भनिएको भन्ने बिषयमा शास्त्रहरूमा यसरि ब्याख्या गरिएको छ । आफ्ना बाबु हिमालय पर्बतले आफ्नो बिबाह भगवान बिष्णुसंग गरिदिन लागेको कुरा संगीहरू मार्फत पार्वतीसम्म पुगेछ । यो कुराले पार्वती दिक्क मानेर बसेकी रहिछन । ठिक यसै अबसरमा दिक्क मानेर बसेकी पार्वतीलाई संगीहरूले देखी दुखित हुनाको सम्पुर्ण बेलिबिस्तार थाहा पाएपछि यो अनमेल बिबाहबाट पार्वतीलाई जोगाउन संगीहरूले हरेर लुकाउन लगेको र त्यहि स्थानमा पार्वतीले कठोर तपस्या गरि महादेव पति पाएको हुनाले तीजलाई हरितालिका पनि भन्ने गरिएको रहेछ । हिन्दु धर्म शास्त्र अनुसार यो चाड मान्न स्त्रीहरूले अघिल्लो दिन दर खाने चलन छ । र यही दरको भरमा भोलिपल्ट निराहार ब्रत बस्नु पर्ने हुन्छ । यो ब्रत सनातन हिन्दु धर्मावलम्बी महिलाहरूले लिने गर्छन । ब्रतको दिन बिहान गङ्गा वा नदीमा गइ स्नान गर्ने र म हरितालिकाको ब्रत गर्छु भनि संकल्प गर्ने अनि दिनभर निराहार जाग्राम बसी महादेवको आराधना गर्ने, साँझमा गंगा वा तलाउमा गइ पुन स्नान गरि एक पूजा मण्डप तयार गर्ने, त्यस मण्डपमा वालुवाको गौरी सहित शिवलिङ्ग तयार गरि आ–आफ्नो कुल परम्पराले गर्दै आएको पूजा आराधाना गर्ने चलन छ ।

भाद्र शुक्ल ऋषि पञ्चमी

यो सम्पूर्ण तीज अर्थात हरितालीकाको अन्तिम दिनमा मनाइने पर्ब हो । धर्म शास्त्र अनुसार पनि यो पर्ब स्त्री जातिहरूको लागि बिशेष महत्व राख्दछ । बिभिन्न स्थानको रित अनुसार स्त्री जाति रजस्वला भएको समयमा हप्ता दिनसम्म घरमा वा छुट्टै स्थानमा अलगै बस्ने चलन गाँउ घरमा अझैसम्म कायमै छ । यसरी रजस्वला भएको समयमा जानी नजानी छुवाछुतबाट भएको पापको प्रायाश्चित गर्नु पर्ने हुँदा स्त्रीहरूले ऋषि पंचमीको दिन बिहान स्नान गर्ने, दिउसो पूजा लगाई यथासक्य दान दिने र बिशेष पाक्य सामा, काउनो, चामल, कर्कलो जस्ता खाद्यवस्तु भोजन गर्ने गर्दछन् । यसबाट उपरोक्त अबधिको सम्पूर्ण पापबाट मुक्ति पाउने धार्मिक विश्वास रही आएको छ । यो बिषयमा अध्ययन गर्दा यदाकदा पाइने व्याख्या अनुसार धेरै बर्ष पहिले इन्द्रले बिस्वरुपको शिरलाई तीन टुक्रा पारेर ब्रह्महत्या गरेछन् । सो ब्रह्महत्याको पापबाट मुक्ति पाउन इन्द्रका गुरुले हत्याको दोष पृथ्वी, बृक्ष, जल र स्त्री गरि चार भाग लगाउनु भएछ र चार स्थानमा फ्याकिदिनु भएछ । त्यहि कारणले स्त्रीको रजमा यो पाप रहेको र त्यसकारण पनि स्त्रीजाति रजस्वला हुँदा छुवाछुत नगरी अलग्गै बस्नुपर्छ भन्ने बिश्वासको रुपमा पनि रहिआएको पाइन्छ । मेरो बुझाइमा स्त्री जाति रजस्वला हुनु प्रकृतिको एक नियम हो र यस्तो अबस्थामा महिलाको शरिरले तीब्र गतिमा रक्तकोशहरूको निर्माण गर्नु पर्ने हुँदा खाना र महिला स्वास्थ्यमा बिशेष ध्यान पुर्याउनु पर्ने हुन्छ । यस अबधिमा पालना गर्नु पर्ने परम्परागत नियमहरू स्त्रीहरूको आफ्नो रोजाइ र जीवन शैलीले निर्धारण गर्दछ भन्ने मेरो मान्यता छ ।

तीज पर्बको आधुनिक रुप

धेरैबर्ष अघिदेखि नेपाली समुदायमा तीज पर्बमा माइती पक्षका नातेदारहरूले विवाह गरेर दिएका आफ्ना चेलीहरूलाई माइती घरमा निम्तो गरी हरितालिकाको अघिल्लो दिन बेलुकी दर खुवाउने चलन चलिआएको हुनुपर्छ त्यसैले गर्दा पनि तीज पर्ब पहाडी मुलका नेपाली महिलाहरूको मौलिक पर्बको रुपमा रहिआएको छ । यसरी बर्ष दिनपछी आफ्ना बुवा, आमा, दिदी, बहिनी, दाजु, भाइसँग भेट हुँदा महिलाहरूले आफुले बर्ष दिनसम्म भोगेका सुख दु:ख लाई गीतको रुपमा उतारेर साथी संगीहरूसँग नाच गान गर्दै आफ्नो बोझ हल्का गर्ने परम्पराले पनि यो पर्ब नारीहरूको लागि निकै लोकप्रिय बन्न पुगेको हो ।

लेखिकाको आफ्नो अनुभवमा पनि आज भन्दा कारीब २०/२५ बर्ष अघिसम्म तीज पर्ब ग्रामीण र शहरी दुबै परीबेशमा उत्तिकै रुपमा लोकप्रिय थियो । यो पर्बले खास गरी भर्खर विवाह गरी श्रीमानको घरमा गएका चेलीहरूले उपरोक्त समयका रमाइला तथा दु:खका क्षणहरू आफ्ना संगी वा आफन्तहरूसँग भेटमा मात्र कुराकानी गर्ने मौका पाउँथे । त्यो समयमा अहिलेको ग्रामीण तथा शहरी नेपाली समुदायमा झै यातायात र संचारको ब्यापकता थिएन । उनीहरूको भेटघाटको मौका नै तीज पर्ब हुने गर्दथ्यो । तसर्थ पनि तीजमा माइत जान नपाउने महिलाहरूले मुटु छुने बेदनाका गीतहरू गाउने गर्थे । त्यति बेलासम्म महिलाहरू यस पर्बमा फेशन शो गर्ने गरगहना शो गर्ने भन्दा पनि छिटो भन्दा छिटो आफ्ना माइती वा साथी संगीहरूसँग भेटघाट गरेर मीठो दर खाइ नाचगानमा ब्यस्त रहने क्रियाकलापहरूमा ध्यान केन्द्रित हुन्थ्यो ।

बिगत केही दशक यता नेपालीहरूको तीज पर्बप्रतिको लगावमा निकै नै परिवर्तन आएको मैले पाएको छु । अबसरको खोजिमा आज नेपाली महिलाहरू पनि पुरुष सरह गाउबाट शहर र बिदेशसम्म बसाइ सर्ने क्रम तिब्र रुपमा बढ्दै गएको छ । यसले पनि रितिरिवाज र परम्परालाई बिदेशको नयाँ स्थान र परीबेशमा ल्याउन समय लाग्न सक्छ तर आफ्नो रितिरिवाज र परम्परालाई भुल्न हुँदैन भन्ने मेरो मान्यता छ । नेपालको परीबेशमा भने तीज जस्तो पवित्र साँस्कृतिक तथा धार्मिक महत्व बोकेको चाडमा समेत भड्किलो बिलाशिता बढ्दै जादा कतै हामी सामाजिक तथा साँस्कृतिक अबसानतिर त उन्मुख छैनौ भन्ने प्रश्न आउँछ । महिनौसम्म दर खाने होडबाजी चल्नु, महँगा कपडा र गरगहनामा मात्र सामाजिक प्रतिष्ठा देख्नु , र यस पर्बको साँस्कृतिक पक्षलाई भन्दा पराय साँस्कृतिक नक्कललाई बढी महत्व दिनु जस्ता कुप्रवृ्रतिले सामाजिक सद्भाव खलबल्याउने मात्र नभै तीज जस्तो नारी मात्रको पर्बको अस्तित्व समेत सँकटमा धकेलिन सक्छ । तसर्थ यस मौलिक नेपाली संस्कृतिलाई जोगाएर राख्न र यो महत्वपूर्ण पर्बको बस्ताविक महत्व आफ्ना भावी सन्ततिहरूमा समेत पुर्याउनको निम्ति हामी आजको शिक्षित नारीले बिलाशिता र तडक भडकबाट टाढा रही पर्ब मनाउने, संस्कृति र रितिरिवाजहरूका राम्रा र मौलिक पक्षको जगेर्ना गर्दै अन्धबिश्वास र कुरीतिहरूबाट शुद्धिकरण गर्दै जाँदा नै यस पर्बको निरन्तरताको निम्ति ठुलो योगदान हुन सक्छ । तीज पर्ब २०१६ (बि स २०७३) को उपलक्ष्यमा म लेखिकाको तर्फबाट सम्पूर्ण तीज पर्ब मान्ने नारीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार