प्रसंग मातातिर्थ औंशिको

  • आ—आफ्ना रहर बाध्यताका कारण आफै भोकभोकै बसेर सन्तानलाई छाति चुसाएर बचाउने आमाहरु आज तिनैलाई लाखौं खर्च गरेर विदेशिने भिसा पाउनुलाई महान उपलब्धी र भाग्यको ढोका खुलेको महसुस गर्नु आजका नेपाली आमा बाबुको एक तरंग नै बनेको छ ।

  • यस वर्ष बैशाख १३ अथवा अप्रिल २६, हाम्रो धर्म र संस्कृति अनुसार मातातिर्थ औंशी तथा आमाको मुख हेर्ने दिन । चार जात छत्तीस वर्णको साझा फुलवारीको नामले चिनिने हाम्रो देशमा विभिन्न जनजातीहरुले आ—आफ्नो रिती रिवाज अनुसार परम्परागत हिसाबले चलिआएका छुट्टाछुट्टै चाडपर्वहरु मनाउने चलन छ । ती मध्ये सबै धर्म, जाती र वर्गका परिवारले बाबु आमाको मुख हेर्ने दिनलाई एक पूण्य पर्वका रुपमा विशेष महत्वका साथ मनाउने गरेको पाईन्छ । आफूलाई जन्मदिई हुर्काउने ममतामयी आमाको संझना र सम्मानमा यो पर्व हरेक बर्ष बैशाखकृष्ण औंशीका दिन मनाउने गरिन्छ । जीवित आमाहरुका लागि मीठामीठा परिकार खुवाउने तथा बस्त्र, गरगहना उपहार दिने, आशिर्वाद ग्रहण गर्ने गरिन्छ भने दिवंङ्गत आमाहरुको संझनामा श्राद्ध गरी तर्पण, पिण्ड, दान दक्षिणा गरी सम्झने चलन छ । यस पर्वलाई नेपालमा मात्रै नभएर पूर्वेली र पश्चिमेली सभ्यतामा पनि छुट्टाछुट्टै तिथि मितिमा धुमधामले मनाउने गरेको पाईन्छ ।
    कथन अनुसार एकदिन गाई चराउन गएको गोठालोले आफूसंग खाजा खान लगेको रोटी जब पोखरीको किनारमा बसेर खान खोज्दा जती पटक रोटी निकालेर खान खोज्यो, उतीनै पटक सबै रोटी तलाउमा झरे अनी उ आँफै तलाउमा हाम फालेर हेर्दा उसकी स्वर्गवासी आमाले उसका रोटीजती सबै हातमा लिएर बसेको देख्यो । अनि गोठालाले आमालाई जिद्दिका साथ आफूसंगै घर लैजाने अनुरोध गर्दा आमा मानिनन् तर केहिसीप नलागेपछि प्रत्येक वर्ष आजकै दिन आफू त्यहि पोखरीमा आउने र आमाले दर्शन दिने बताए पछि त्यो गोठालो घर फर्कियो र त्यो कुरा गोठालोले गाउँघरमा सबैलाई फैलायो । अनि गाउभरिका मानिसहरु प्रत्येक वर्ष उक्त तलाउमा जादै आफ्नी स्वर्गवासी आमाको दर्शन गर्न थाले र त्यहि दिनलाई मातातिर्थ औंशीको रुपमा मनाउने चलन चल्न थाल्यो । अन्त्यमा एउटी नारी धेरै दिनसम्म पर्खदा पनि आफ्नी आमाले दर्शन नदिएपछि उक्त तलाउमा हाम फालेर आत्महत्या गरीन् र त्यस दिनबाट तलाउमा आमाका तस्वीरहरु देखिन छाडेको किंबदन्ती छ । आजपनि आफ्नी आमा गुमाई सकेकाहरुले उक्त तलाउमा मातातिर्थ औंशीका दिन स्नान गर्दछन् जसलाई मातातिर्थ कुण्ड भनेर चिनिन्छ ।

    जब एक बच्चा जन्मिन्छ तब एक आमा पनि जन्मन्छिन् । उनी पहिले एक नारी मात्र थिईन् तर बच्चा जन्मिए पछि एक आमा बन्छिन् । अर्कोतर्फ जब बच्ची जन्मिन्छिन् पहिलो परिचय छोरी त दोस्रो परिचय पत्नी हुदै तेस्रो परिचय आमा हुन पुग्छिन्

    संसारको सबैभन्दा प्रिय, वजन्दार, स्नेह, सम्मान र आदरका साथ लिईने शब्द “आमा” जसको कुनै ब्याख्या र नाताको सीमा नै रहेनछ । ममता र श्रृष्टिकी भण्डार, जती मायाँ बाँडे पनि नरित्तिने, सन्तानको हित र खुसीका लागि आफूलाई त्याग र बलिदान दिन सक्ने । जब एक बच्चा जन्मिन्छ तब एक आमा पनि जन्मन्छिन् । उनी पहिले एक नारी मात्र थिईन् तर बच्चा जन्मिए पछि एक आमा बन्छिन् । अर्कोतर्फ जब बच्ची जन्मिन्छिन् पहिलो परिचय छोरी त दोस्रो परिचय पत्नी हुदै तेस्रो परिचय आमा हुन पुग्छिन् र यिनै आमाभित्र लुकेको ममता र संघर्षले नै सन्तानको भविष्य निश्चित र तय गरेको हुन्छ भने आमाकै नाताले खुसी भएर जिउन सिकाउने अनि सन्तानकै खुसीको लागि आफ्नो खुसीको पर्वाह नगरी लड्न सिकाउँदो रहेछ । तोतेबोली सिक्नेदेखि लिएर जीवनका उपयोगी पाठका साथसाथै समाज र देश प्रतिको उत्तरदायी बनाउन सिकाउने पनि आमानै रहिछिन् । “आमाको काख अरुको लाख” भन्ने भनाई प्रचलित मात्र नभएर उत्तिकै सान्दर्भिक पनि रहेछ ।
    हुनपनि आमा हुनुको महत्व र यसको पूर्णताको अनुभव गर्न गर्भमा बच्चा हुनु, कोखमा बच्चा चलमलाउनु, जसले काउकुती लगाएको अनुभव हुनु सबैभन्दा प्रिय र मनोरञ्जक हुँदारहेछन् । प्रसब पीडा सबैभन्दा दुःखदायी तर सन्तोष र आनन्दको पीडालेनै यो आमा भन्ने शब्द र सन्तानको मायाँ, संसारका अरु कुनै नाताले विस्थापित गराउन सक्दो रहेनछ भन्ने कुरा स्वयंले तीन सन्तानकी आमा भएर अनुभव गरेको कुरा पनि हो ।
    आमा र सन्तान बीचको सम्बन्ध यति गाडा हुँदाहुँदै पनि नेपालको प्रसंगमा विगत दुई दशकभन्दा बढीको राजनीतिक अस्थिरता र युद्धको चपेटाले पिल्सिन बाध्य हामीहरु प्राथमिक तहको शिक्षादेखि माध्यामिक र उच्च शिक्षा हुदै उज्वल भविष्यको खोजीमा बैदेशिक रोजगारको लागि आफ्ना बाबु आमा र सन्तानबाट टाढा हुने क्रम दिनरात बढ्दो छ । गुणस्तरीय शिक्षाको खोजिमा गाउँका टाठाबाठा र अगुवाहरुले सहरमा र सहरका धनीमानी भनाउदाहरुले छिमेकीमुलुक भारतका विभिन्न सहरहरुमा आफ्ना दुधे बच्चाहरु छात्रावासमा राखि पढाउने होडवाजी नै चलेको छ । युवा जनमासहरु कोहि उच्च शिक्षाको लागि विदेशिने त कोहि केहि आफ्नी आमालाई मीठा खुवाउने, राम्रो लगाउने, ईच्छा पूरा गरिदिने आशा, सन्तानलाई सुखले पाल्ने र, खरको चुहिने छाना टाल्न, साँझ बिहानको मानो जुटाउन विदेशी मरुभूमिमा ४५ डिग्रीको रापमा दिनको १८ घण्टा समेत खटिन बाध्य भएका छन् । त्यसैले समयको खेल, देशको अवस्था र सुखको खोजीमा भौतारिदा मानवीय स्वभावले कामको दुःख र पैसाको सुखमा केहि रमाएतापनि अधिकांशहरु दुःखमा पिल्सेका पनि होलन ।
    आफ्ना सन्तानलाई मुटुको टुक्रा ठान्ने हरेक आमाहरु सन्तान सात समुद्र पारी भए पनि तिनै संगका मीठा याद र भविष्यका मीठा सपनालाई आफ्ना आँखाले हेर्दै एकमुठी श्वास फेर्न सकिरहेका हुन्छन् । आमा यी रहिछन् जसले हरेक श्वास र कसैले दिएको गासमा पनि त्यो शरीर लास नहुन्जेलसम्म सन्तानकै पीडामा बेचैन हुन्छिन् । आफूले बोरा ओडेर हुर्किए पनि, झुपडिमा बसे पनि, खोले र सिस्नु नै खाए पनि आफ्नो छाति सन्तानको लागि रसिलो बनाएर दश धारा दूध पिलाएकै हुन्छिन् । सन् २०१५ को महाभूकम्पले घरवार विहिन भएर झुपडि र टहराको बासले आमाहरुको जीवनमा त्यति कठिन भएको छैन होला जती सन्तानको यादले पीडा हुन्छ । पेटमा लातमार्दादेखि सात समुद्र पार रहदासम्मका हरेक पलहरु  ओडेर त्यसको न्यानो र तिनै मायाँहरु खाएर बाँच्न बिवस रहेका हुन्छन् । कहिले काहिं कुनै साथीभाइ छरछिमेक संगका आवत जावत संगै मीठो चोखो र पवित्र खानेकुरा दिदा खाँदा समेत सन्तानलाई नै पहिले संझिएर कतै उनीहरु भोकै पो छन् कि ? भन्ने पीडाको बेचैनीमा बाँचेका हुन्छन् । आफूलाई भोक लाग्दा सन्तान भोकाएको देख्ने, प्यास लाग्दा तिर्खाए कि ? भनेर झस्किने आमाहरु आफू कराउदा सन्तानलाई दुखेजस्तो लाग्ने ? कस्तो अचम्मको मन हुने रहेछ यो सम्बन्धको । सन्तान विदेशिदा वा टाढिदा एउटा तस्वीर नै भएपनि हेरेर चित्त बुझाउन बाध्य छन् आजका धेरै आमाहरु । आ—आफ्ना रहर बाध्यताका कारण आफै भोकभोकै बसेर सन्तानलाई छाति चुसाएर बचाउने आमाहरु आज तिनैलाई लाखौं खर्च गरेर विदेशिने भिसा पाउनुलाई महान उपलब्धी र भाग्यको ढोका खुलेको महसुस गर्नु आजका नेपाली आमा बाबुको एक तरंग नै बनेको छ । आफ्ना सन्तानहरु पश्चिमेली मुलुकहरुमा छन् भन्दा धेरै गर्व गर्ने र भिसा लागेको खुसीमा उत्सव मनाउने, विदेशिन लागेका सन्तानसंग एयरपोर्टमा सयपत्री फूलका माला लगाएर गाला जोडिएर खिचिएका रंगीन तस्वीरहरु सामाजिक संजालका भित्ताहरुमा छाउने लर्को एकदमै चर्को हुदै गएको छ भने यसरी सन्तानहरु विदेशिदा कालान्तरमा जीवन कष्ट र सकसपूर्ण हुन थालेको कुराको विस्तारै महसुस पनि नभएको होईन ।
    यसरी हजार जिब्रो भएका शेषनागले पनि “आमा” शब्दको बर्णन गरेर नसकिने यो नातालाई आज हामीले आमाको मुख हेर्ने दिनले पुकार्दै छौं । यसै क्रममा, मेरो आफ्नो अनुभवमा पनि लगभग दुई दशकको विदेश बसाईका क्रममा शुरुशुरुका दिनमा आमाको मुख हेर्ने दिन भन्ने थाहै नपाई उडे । त्यसपछिका केहि दिनहरु फोनबाटै “आमाको मुख हेरें” भन्ने दिनहरु पार गर्दै आईयो । आज समयको परिवर्तन आधुनिकीकरण र संचार माध्यमको विकासले गर्दा यो दिवस मनाउने चर्चामा पनि धेरैनै आधुनिकीकरण हुँदै गईरहेको पाईन्छ । आजका दिनमा सामाजिक संजाल फेसबुक र टुइटरका भित्तामा Happy Mother’s day Mum,  I love you Mum, I miss you Mum, You are the best Mum यी शब्दहरु कोर्दै आमाका साथमा हुने भाग्यमानीहरुले संगै फोटोखिची अपलोड गर्ने त संगै नहुनेले पनि ईतिहासलाई कोट्याउदै पुराना फोटोहरुले भित्ताहरु रंगीन पुगेका हुन्छन् । जसले मलाई कता कता लाग्दछ यो दिवश पनि फेसबुक मार्फत आमाहरुको ब्यूटि कन्टेष्ट चलाउँदै त छैन भनेर ? हो आमाको मुख हेर्ने दिन त्यतिबेला पनि थिए होलान् जतीबेला सामाजिक संजालको दिन थिएन त्यतिबेला यो दिनले त्यति धेरै चर्चा पाए जस्तो लाग्दैन थियो । आमाको नाममा शुभकामना दिई आशिर्वाद लिनु त सार्थक हो तर यसलाई अत्याधुनिक रंगले जलप लगाउदा कता कता फुस्रो र खोक्रो पनाको महसुस हुदै गएको त होईन ? हो आजका दिन जती समाचार र रंगीन तस्वीरहरु आमाको मुख हेर्ने बहानामा राखिएका हुन्छन्, धेरैजसो सन्दर्भमा तिनै आमाहरुलाई त्यतिपनि थाह हुदैन कि, उनीहरुका छोराछोरीहरुले कसोगरी आमा दिवश मनाए र तिनै भावुक शब्द देखावटी रुपमा लेख्नेहरुलाई फुर्सत र मन पनि भएको हुदैन कि आफ्नी आमालाई एक कल फोन गरेर वास्तवमै I Love You Mum भन्ने । हो आजका दिनका यिनै आमाका फोटोहरु र आमाको बहानामा लेखिएका सन्देशहरु हेर्दा वास्तविक दैनिक जीवनमा पनि हामीले यत्तिकै मायाँ देखाउन सक्ने हो भने हामी नेपालीहरु सायद यो बाबु आमालाई मायाँ, प्रेम र सम्मान गर्ने कुरामा संसारकै प्रथम श्रेणीमा सम्मानित हुने थियौं होला । अर्कोतर्फ यिनै शब्दहरुलाई नियाल्दा नेपालमा बृद्धाश्रमहरु किन छन् ? खुल्दैछन् र खुल्नेक्रम किन बढ्दो मात्रामा छन् ? हरेक आमा खुसीले जीउनु पर्ने, किन सन्तानको मायाँ ममताबाट बञ्चित भएर तड्पिएर बाँचिरहेकी छिन् ? भन्ने प्रश्न पनि नउठेको होईन । वास्तवमा अहिले नेपालमा हाम्रा आमाहरुको पिडीलाई नियाल्दा, वास्तविकता अर्कै छ । पशुपति चोकको बृद्धश्रमदेखि गाउघर डुल्दा, हरेक आमा बाबुको ढुकढुकि सुन्दा जुन हामीले आजका दिनमा लेखेका र देखेका शब्दहरु छन् ति सबै झुटा सावित हुन्छन् ।

    वर्षमा एकदिन आउने यस बैशाखे औंशीमा एकदिन भेटेर अनि मीठो खुवाएर के हुन्छ र जाबो एकसरो कपडा दिएर अनि एक पटक आमा भनेर देखावटी स्वाङ पारेर, एकदिन सामाजिक सञ्जालका भित्तामा फोटो झुण्ड्याउनुको सट्टा आमालाई दैनिक दिलमा पूजेर राख्नु, दैनिक उपभोग्य सामानको समस्या पर्न नदिनु,

    कतिपय अवस्थामा हामीले आधुनिकताको आडम्बरमा आफ्नो मायाँ आमाप्रति रित्याएर वाहिरी देखावटी संसारका चिल्ला, सुकिला, मीठा स्वरहरु पछ्याउदै नक्कली आमाहरुको ढोंगमा मस्त नभएका पनि होईनौं । आजका हाम्रा आमाका पिडिका अधिकांस नारीहरु, हिजोका दिनहरुमा चुला चौकामा सिमित रहि, सामाजिक चौघेरामा रहेर जीवन यापन गर्न वाध्य थिए । जसले गर्दा अधिकांस हाम्रा आमाहरु आजकलका छोरा, बुहारी, छोरी ज्वाई जस्तो आधुनिक बोल्न नजान्नु मीठो पकाउन नसक्नु, फेसनको नक्कल गर्न नचाहनु, चिटिक्क सजिएर घरमा बस्ने अथवा बाहीर जावत आवत गर्न नसक्नुले कता कता यी दुई नाताबीच एउटा ठूलो भ्वाङ पर्दै गएको र बढ्दै गएको महसुस नगरिएको पनि होईन । हाम्रो पिडिले आजका दिनमा, आमाहरुका दिनका बन्धनलाई तोड्दै आर्थिक, सामाजिक, बौद्धिक हिसाबले सफलता हासिल गर्दै ईतिहास कोर्न थालेका छौं भने यी कुराहरुलाई मनन् गरी आमाहरुलाई कतिपय कुरामा मौका दिन सक्नु पर्छ । आर्थिक, पारिवारिक, मनोवैज्ञानिक र सामाजिक हिसाबले सशक्त बनाउने मौका दिएर, सिकाउनु पर्ने पनि हुन सक्छ । जसले गर्दा उहाँहरु प्रतिको सम्झना, आदरभाव र परिवारको जेष्ठ अभिभावक संगको सम्बन्ध न्यानो र श्रद्धापूर्ण बनाइराख्न सकियोस् । बाबु आमाको  सेवालाई सर्वोत्तम ठान्ने संस्कार संगै हुर्किएको हाम्रो समाजमा तिन प्रकारका ऋणबाट मुक्त हुनु पर्नेमा मातृऋण नै पहिलो मानिएको रहेछ । “आमा” जसलाई हामी हरेक पीडामा पुकार्छौ्र वहाँको दसधारा दूधको र न्यानो काखको ऋण त तिर्न के सकिन्छ र ? सकिन्छ त केवल दुईहात जोडी दण्डवत् र आत्मैदेखि मान, सम्मान । “नेपालीहरु वर्षभरी सर्प मार्छन् अनि नागपञ्चमीका दिन नागको पूजा गर्छन” भनेझै बर्षभरी आमालाई विर्सेर, अपहेलना गरेर आजको एकदिन मात्रै सम्झने चिज होईनन् आमा । आमा रगतको थोपा थोपामा छिन्, बोलिबोलिमा छिन कहिले विर्सिएकि थिइन् र आज सम्झनु ?
    “भनिन्छ शिक्षा पहिलो संस्कार हो ,
    व्यापार भन्दा पहिलो व्यवहार हो ,
    र भगवान् भन्दा पहिला बाबु आमा हुन्”
    त्यसैले वहाँहरुलाई अग्र स्थानमा राख्न सके वहाँहरुकै आशिर्वादले जीन्दगीमा कहिल्यै दुःख र कष्ट भोग्नु पर्दैन । पौराणिक कथा अनुसार पनि शिव पार्वतीका छोराहरुमध्ये माता पिताको आज्ञा पालन गर्न कुमार आफ्नो बाहन मयुर चडेर सुमेरु पर्वत परिक्रमा गर्न गएका थिए भने गणेशले आफ्नै बाबु आमाको पूजा गरी परिक्रमा गरेको हुँदा उनी माता पिताका सर्वश्रेष्ठ सेवक हुन पुगे । त्यसैले वर्षमा एकदिन आउने यस बैशाखे औंशीमा एकदिन भेटेर अनि मीठो खुवाएर के हुन्छ र जाबो एकसरो कपडा दिएर अनि एक पटक आमा भनेर देखावटी स्वाङ पारेर, एकदिन सामाजिक सञ्जालका भित्तामा फोटो झुण्ड्याउनुको सट्टा आमालाई दैनिक दिलमा पूजेर राख्नु, दैनिक उपभोग्य सामानको समस्या पर्न नदिनु, दुःख, बिरामी पर्दा औषधि उपचार गराएर मृत्युको मुखबाट बचाउनु, हातगोडा चल्न छाडेपछि स्याहार सुसार गर्नु अथवा व्यवस्था मिलाउनु र हरेक आमाको भावना, ईच्छा, आकांक्षा बुझ्न सकिन्छ भने खुसी राख्नु, सन्तानका पीडामा जलेका अन्तर मनका घाउमा मलम लगाउनु, नसके तिनै घाउमा घ्यू नथप्नु र झिना, ससिना पिलन्धरे कुराहरुले आमासितको सम्बन्धलाई खुकुलो नबनाउनु र वर्षमा एकदिन मात्रै नभएर हरेक दिन आमा सम्मान र सम्मानको दिन बनाउन सक्नु पर्छ ।
    “आमाको कोख नै बच्चाको पहिलो पाठशाला हो” भने झै मेरी आमा पनि मेरो पहिलो गुरु हुन्, आज म जे छु उनैको योगदानले छु । मेरी आमा जति शिक्षित, अशिक्षित, आधुनिक वा पुरातन बिचारधाराकी भएपनि मेरा लागि उनीनै Princess Diana उनी नै मेरा लागि Indira Gandhi हुन्, Taslima Nasrin हुन्न्, Queen Victoria हुन् , Angela Merkel हुन् ।
    आमा भनेको यस्तो व्यक्तित्व रहेछ जसलेः
    “मायाँ फिजाउदा संसारभरी पुग्छ,
    आँशु पोख्दा सगरमाथा डुब्छ,
    छाति खोलिदिदा माछापुच्छ्रे सुक्छ,
    मनको तिर्खा मेट्न चाहे फेवाताल नै सुक्छ ।”
    त्यसैले आजको दिन संसारभरी छरिएर रहेका सबै नेपाली आमाहरुलाई सम्मान र आदर गर्दै यो संसारको सबैका लागि सबैभन्दा प्रिय शब्द आमा सदैब सबले बोलिरहन पाउन्, हरेक आमाको सुस्वास्थ्य, दीर्घ जीवन, स्नेही र हसिलो अनुहारहरु सधै सबै सन्तानका लागि शक्ति बनिरहोस् । यस दिनले सबै सन्तान र आमाबाबु बीच पवित्र र अबिचलित गठबन्धनलाई थप न्यानो गर्न र गहिराइपूर्ण बनाउन सकोस्, यहि छ मेरो शुभकामना ।
    अन्त्यमा अनेक दुःख सुख झेल्दै जीवनका ८४ वटा पानाहरु पल्टाएर भर्खरै मात्रै हिन्दू धर्मको विधिपूर्वक ८४ पर्व मनाईएकी मेरी सासु आमा र बैवाहिक जीवनको भर्खरै मात्र ५० औं वर्ष पार गरेकी तीन सन्तान (छोराछोरी) र ६ वटा नातिनातिनाकी धनी मेरी आमाप्रति कोटी कोटी नमन गर्दछु । यहि यो मेरा लागि “मातातिर्थ औंशी तथा आमाको मुख हेर्ने दिन ।”

    मातृ देवो भवः  पितृ देवो भवः

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार