“धर्म, संस्कृति, मर्यादा – यी हाम्रा पहिचान हुन् ।
छोड्न नहुने यी गौरव  जो छोड्छन् ती अबुझ हुन् ।। ”
प्रत्येक देश देशबासी आ–आफ्नो विशिष्ट पहिचान हुन्छ । त्यसैको आधारमा चिनारी हुन्छ । त्यस्ता चिनारीको आधारमा मान, सम्मान बढ्ने हुन्छ । ती चिनारीहरु धर्म, संस्कृति, मर्यादा, परम्परा, संस्कारहरु नै हुन् । यिनै देशका संंपत्ति र गौरव हुन् । यिनको संरक्षण, संंर्वधनबाटै त्यस देशको महिमा र गौरव बढ्ने हो । महिमा र गौरव भए मात्रै त्यो देशमा शान्ति र प्रगति हुन्छ, विश्वबाट पर्यटन आउने सम्भाबना बढ्छ । जसले देशलाई आर्थिक रुपले टेवा समेत पुर्याउँछ साथै त्यहाँको धर्म संस्कृति परम्परा विदेशमा समेत फैलिन्छ । यसै पृष्ठभूमिमा हामीले २०६४ साल श्रावण २१ गते सोमबारका दिनदेखि हाम्रो आस्थाको केन्द्र श्री पशुपतिनाथ मन्दिर, बागमती नदीतट, आर्यघाट, ब्रह्मनालको पूर्वी किनारा खुल्ला  प्रीगण, पवित्र स्थलमा आ–आफ्नो धर्म संस्कृति, परम्परा, संस्कार नछोडौं । यसलाई संरक्षण, संबर्धन गर्दै अगाडि बढाऊँ भन्ने आध्यात्मिक भावनाको जागरण गराउने उद्देश्यले सुरु गरिएको प्रभावकारी मन्त्रगायन सहितको “श्री पशुपतिनाथ एवं वागमती गंगा आरति” प्रत्येक साँझमा साँगितिक रुपले भजन कृतन  सहित सुभारम्भ भइ सोही अनुसार हाल सम्म निरन्तर रुपमा संचालन भैरहेको छ ।
विधिपूर्वक संस्था दर्ता गरी सुभारम्भ गरिएको यो “श्री पशुपतिनाथ एवं वागमती गंगा आरति सेवा समिति–२०६४” मा हालसम्म करिव २०० सदस्य पुग्नु भएको छ । आजिवन सदस्यको निमित्त न्युनतम रु एक लाख र सहयोगी सदस्यको निमित्त न्युनतम रु दस हजार रहेको छ । यस्ता सदस्यले आरति गराउन छुट्टै आरति खर्चबापत रकम तिर्नु पर्दैन । देवी देवता सहित वागमती गंगा र आरध्यदेव पशुपति नाथको आरति गरिने यस आरतिमा जोसुकै श्रद्धालु व्यक्तिले आरति गराउन चाहेमा सो गराउने व्यवस्था पनि छ । आ–आफ्ना मनका इच्छा, चाहना, उद्देश्य परिपूर्ति हुन् भनि भक्तजनहरुले यहाँ आइ सम्पर्क गरि तोकिएको आरति खर्च  बुझाई आरतिमा पूजनकर्ता भक्त बनि संकल्प पूजन गरि, आरतिका दीप प्रज्वलन गरी आरति गराउने चलन छ । यस्तो आरति गराउँदा सहभागी आरति गराउन रु १५००।– र एकल गराउन रु १००००।–आरति खर्च बुझाउनु पर्ने हुन्छ । पूजनकर्ता भक्त बन्न नचाहेमा पनि आरतिको दर्शन गर्न, आरति हेर्न आउनुहुन सबैमा निमन्त्रणा सहित अनुरोध गरिन्छ ।
यस आरतिलाई प्राप्त भएका र पछि पनि प्राप्त हुन आउने सदस्यता शुल्क बापतको रकम र अन्य प्राप्त सहयोग रकम अक्षयकोष बनाई राखिएको र राखिने छ । यसबाट प्राप्त हुने व्याज मात्र देनिक आरतिकार्य मा खर्च गरिने छ । यो आरति कार्य निरन्तर चलाउन अक्षयकोष सुरु गरिएको छ ।
यो आरतिको कार्यक्रम  “पशुपति वागमती आरति”, “वागमती आरति”, “पशुपतिनाथ एवं वागमती गंगा आरति” आदि नामबाट यूट्युव, वेवसाइट, फेसबुक आदिमा हेर्न सकिन्छ । हिमालय टिभिको विहान करिव ६ बजेतिर ओमकार ध्वनि कार्यक्रम अन्तर्गतबाट नित्य प्रसारण हुन्छ । यसको सम्पर्क स्थान प्रत्येक बेलुका ५ वजेपछि आरति हुने ठाउँमा र त्यसैको छेउको राममन्दिर परिसरमा रहेको सम्पर्क गर्ने कार्यकक्षमा अपरान्ह ५ बजे तिर टेलिफोनबाट जुनसुकै बेलापनि सम्पर्क गर्न सकिने छ । सम्पर्क नम्बरहरु ०१–४४७३८७०/ ९८५१०४४०८६ / ९८४१९६३२२८ रहेका छन् ।
यो आरति संचालन अभियानको मूल लक्ष्य हामी सबै आँफू असल बनौं र अरुलाई पनि असल बन्न प्रेरणा र जागरण गरौं अनि हामी सबै सुख, शान्ति, आनन्द सँग बाँचौं भन्ने नै हो । यसो गर्न हामीले हामी भित्र भएका काम, क्रोध, लोभ, मोह, अहंकार, ईष्या, द्धेष, शत्रुता आदि दूर्गुण हटाई सबैमा प्रेम सहयोग, सदभाव, सदाचार, परोपकार, सेवा, सहकार्य र सत्यव्यवहार गर्ने असल गुण र सोचको जागरण गराउँ भन्ने सन्देश दिनु नै हो । हामी यही प्रयत्न गरिरहेका छौं । हामी देश विदेश जहाँ रहे बसेर जे जस्तो काम गरेपनि आँफू, आफ्ना माता र पिता, आफ्नो देश आफ्नो धर्म, संस्कृति, संस्कारलाई नछोडौं, नविसौं । यी सबै हाम्रा पहिचान हुन्, गौरव हुन् । आफ्नो भाषा, भेषभुषा पनि नछोडौं । सदाचार र चरित्र नै ठूलो सम्पति हो । चरित्र भष्ट भयो भने विद्या, ध, पदले मात्र केही हुँदैन । यो ध्रुवसत्य नविसौं । आफ्ना सन्ततीहरुलाई पनि यी कुराहरु सिकाउँ यो जिम्मेवारी सबैले पूरा गरौं । ओम शान्तिः शान्तिः शान्ति ।।
फूर्सदमा मनन चिन्तन गर्ने कुराहरु
काठ, पथ्थर, धातु र माटो आदिले निर्मित – मूर्तिमा मात्र बस्दैनन् देवी देवादी ईश्वर ।।
विश्वास र भावनामा परमेश्वर बस्दछन् – विश्वास भावना जहाँ छ त्यही ईश्वर पुग्दछन् ।।
विद्याले, धनले, पदले मात्र ठूलो हुँदैन है – असल चरित्र नभए त्यसको इज्जत छौन है ।।
कर्ममा मात्र हक हाम्रो फलमा हक छैन नि – छोड्नै हुँदैन कर्म गर्न फल आँफै छ आउने ।।
ईश्वर भगवान भेटन कतै दगुर्न पर्दैन, श्रद्धापूर्वक दृढ भावना गर्नसाथ त्यहीँ आउँछन् । उत्साह र इमान्दारी साथ  काम गर्ने जति मिल्छ त्यसैमा सन्तुष्ट रहने । बढी लोभ र इच्छाले अशान्ति मात्र गराउँछ । सन्तुष्टिले शान्ति र आनन्द हुनछ ।
आजको संसार भौतिक रुपले विकसित, प्रविधि सम्पन्न, सुविधायुक्त र सहज आवागमनको भएको छ । यसमा बसेका र बस्ने मानिस अत्यन्त भाग्यमानी र सुखशान्तिले भरपुर छन् भन्ने लाग्छ । तर यथार्थ यस्तो छैन । आजका मानिस भौतिक रुपले सम्पन्न भएपनि मानसिक रुपले अत्यन्त दुःखी र अशान्त छन् । किन भने अझै केही पाउन बाँकी नै छ । अर्थात मानवसँग जोडिएको एक पक्ष जोडिएको छ । जसले गर्दा अपूर्ण छ अधुरो छ मानव जीवन । फलत ऊ सुख शान्ति र आनन्दबाट बञ्चित छ । त्यो छोडिएको पक्ष हो अध्यात्मिक पक्ष । जसलाई हामीले आफ्नो जीवनमा जोड्नु पर्छ ।
देखिने सबै बस्तु भौतिक हुन्, नदेखिने तर मन, बुद्धि, विवेकले महसुुस गर्ने थाह पाउने तत्व आध्यात्मिक हो । यी दुवैको सुसंयोजन भए मात्र मानव जीवन सार्थक बन्छ र सुख, शान्ति, आनन्दको महसुस हुन्छ ।

हाम्रो शरीर भौतिक – आत्मा हाम्रो अध्यात्म हो ।
स्थुल बस्तु सबै भौतिक – आत्माको क्षेत्र ज्योति हो ।।

भौतिक तत्व र आध्यात्मिक तत्वको बारेमा जान्न दुवै पक्षको शिक्षण हुनु पर्ने हुन्छ । आँफैले जिज्ञासु भावले यस विषयका सामग्री  हेर्ने, पढ्ने, सुन्ने र मनन चिन्तन गर्ने गर्नु पर्दछ ।

शिक्षाको क्षेत्र दुईटा भौतिक र आध्यात्म हुन् ।
यी दुवै क्षेत्रको शिक्षण गराउनु नै पर्ने छन् ।।
ज्ञान विज्ञानको भण्डारको श्रोत संस्कृतै त हो ।
त्यसैले संस्कृत शिक्षाको अध्यापन जरुरी भो ।।
भौतिक अध्यात्म दुवैको  राम्रो ज्ञान नभैकन ।
साँच्चै शिक्षित होइन्न अपूर्ण हुन्छ जीवन ।।
त्यसैले भौतिक अध्यात्म दुवैको ज्ञान प्राप्तिलाई ।
संस्कृत अंग्रेजी दुवैको पठन पनठन गर्नु है ।।

बेद नै ज्ञानको मूल श्रोत हो भन्ने यथार्थ ऐले विश्वले मानिसकेको र जर्मनीमा संस्कृत शिक्षा प्रशिक्षण अनुसन्धान कार्य भैरहेको भन्ने सुनिएको छ । संस्कृत भाषामा नै ज्ञान र विज्ञानका कितावहरु छन् । हामीले कर्मकाण्ड नै संस्कृत हो भन्यौं । हामी भ्रममा पर्यौं ।

स्थुल पदार्थको ज्ञान भौतिक शिक्षाको क्षेत्र हो ।
ज्योति आत्मा परमात्मा सम्बन्धित अध्यात्म हो ।।
भौतिक र अध्यात्मको सुसंयोजन बाट नै ।
सक्षम बनेको जीवन तथ्य यो नभुलौं कवै ।।

हाम्रा अधिकांश शिक्षण संस्थाहरुमा केवल भौतिक पक्षमात्र पठनपाठन हुन्छ , अध्यात्म सम्बन्धि ज्ञान हुने कुराको पठनपाठन हुँदैन । जिज्ञासुले आँफै मेहनत गरी जान्ने प्रयत्न गर्नु पर्ने हुन्छ ।

म को हूँ काम के मेरो कहाँबाट आएँ किन
जानु छ कहाँ लानु छ के यहाँ गर्ने काम के हुन ?
म आत्मा काम परोपकार कर्मफल साथ लाने को ।
परधाम घर हो जाने आउने ठाउँ त्यही हो ।।
पूर्वजन्मका बाँकी फल भोग्न र राम्रा काम अरु ।
गर्न आएका हौं हामी पूरा गर्नु छ यी सबै ।।
हिंसा नगर्नु नचोर्नु सत्यबादी सदा हुनु ।
पवित्र रहनु आफ्ना इन्द्रियलाई जित्नु ।।
धमको परिभाषा यो सबैका निम्ति नै त हो ।
जानेर पालन गर्ने व्यवहारमा उतार्ने हो ।।

हामीले हाम्रो जीवनलाई सुखी र खुसी राख्ने इच्छा पूरा गर्न हामी योग्य बन्नु पर्ने । भौतिक र आध्यात्म सम्बन्धि ज्ञान प्राप्त गर्नु पर्ने र हाम्रो कर्तव्य, अधिकार र गन्तब्य के हो भन्नेमा पनि बुझ्नु पर्ने हुन्छ । गर्न हुने र नहुने काम के छन् ? शरीरको महत्व कस्तो छ ? भोजन उपयुक्त कस्तो हुन्छ ? यी कुराले पनि हामीमा प्रभाव पारिरहेको हुन्छ । यस तर्फपनि सजग भैरहनु पर्ने हुन्छ । यी समग्र कुरा आचारणमा पर्ने छन् ।  राम्रो आचरणबाटै राम्रो फल मिल्ने त हो । राम्रो फल भनेकै सुख, शान्ति, समृद्धि त हो ।

हाम्रा शरीरका माता पिता यी फरकै त छन् ।
आत्माको बाबु सबका परमेश्वर एक हुन् ।।
आत्मा जन्मन्न मर्दैन यो नित्य रहने त हो ।
जन्मने, बढ्ने, मर्ने, रोग लाग्ने शरीर हो ।।
आत्माका साथमा जाने कर्मका फल मात्र हुन् ।
परिवार, धन, मित्रादि आत्मासाथ नजाने हुन् ।।
भौतिक सम्पति परिवार मित्र सम्बन्धि जो छन् ।
शरीरका त साथी हुन् बाँचुञ्जेलका प्रयोजन ।।
कालान्तर सम्म रहने राम्रा कामका कृति हुन् ।
अरु सबै मृत्युसँगै विर्सिने मेटिने त हुन् ।।
परोपकारी राम्रा काम सेवा, सद्भाव धर्म हुन् ।
पीडा धोका जवर्जस्ती छलछाम बेइमान पाप हुन् ।।
राम्रा काम सबै धर्म नराम्रा पाप कर्म हुन् ।
गरौं धर्मका काम मात्रै छोडौं जो पाप कर्म छन् ।।
धर्मको फल मीठो छ नमिठो पापको फल ।
नमिठो फल को खोज्छ मीठो नै रोज्ने सब ।।
आफ्नो मित्र त आँफै हो आँफू नै आफ्नो शत्रु हो ।
राम्रा काम गरे मित्र खराब कामले शत्रु भो ।।
आँफूले गरेका कामले मित्र र शत्रु बन्दछन् ।
त्यसैले गरौं राम्रा काम सबै मित्रहरु होउन ।।


खान लाउन बस्न र व्यवहार चलाउन ।
नभै नहुने धनमात्र आफ्नो भागको ठान्नु ।
सो भन्दा बढी राखेमा अर्काको भाग खोसियो ।
मर्दा छाडेर जाने हो अन्याय किन गर्नु हो ।
राम्रा काम दिइने दैनिक आँफूले खर्चने ।
त्यत्ति धन आफ्नो जान बाँकी अर्कैले खान्छ नी ।।
नदिउँ दुःख अरुलाई आँफूपनि दुःखी नहँु ।
अमुल्य जीन्दगी हाम्रो राम्रा काम गरि जिउँ ।।
हाम्रो शरीर मन्दिर आत्मा शरीरका देवता ।
यो मन्दिर यी देवतालाई राख्नुपर्छ सफा सदा ।।
यो मन्दिर यी देवता स्वच्छ पवित्र राख्न त ।
भोजन कर्म मन विचार सबै नै शुद्ध गर्नुछ ।।
धर्म कर्मको साधन मूल्यावान शरीर हो ।
शान्त स्वच्छ सफा राखी रक्षा गरौं शरीरको ।।
शाकाहारी भोजनले शरीर स्वस्थ बन्दछ ।
पशुवली मांशाहार लागु मद्यपान छोड्नु छ ।।
स्वस्थ शरीर मनबाटै राम्रा कामहरु हुने ।
राम्रा कामले शान्ति भै सुखपूर्वक बाँचिने ।।
जन्मदाता पिता माता ज्ञानदाता गुरुजन ।
यी सबै पुज्य हुन् हाम्रा नदुखाउँ कवै मन ।।
मातालाई पितालाई देवतासरी मान्नु छ ।
माता पिता खुसी राखी  सेवा गरौं संधै भरी ।।
बाँचुन्जेलका सेवाले नै धर्म मिल्नेछ बेसरी ।
बाबुआमाले पाउने बााचुन्जेल सेवा त हुन ।।
मातापिता जन्मभूमि को ठूलो गुन हामीलाई ।
यो गुन तिर्न हामीले गरौं काम इमानी भै ।।
सदाचारी स्वाभिमानी इमानी भइ सेवा गरी ।
बढाऔं गौरव इज्जत आफ्नो पूर्खा र देशकै ।।
काम, क्रोध, लोभ मोह ईष्या अहंकार शत्रु हुन् ।
बसमा नराखे यिनले नोक्सानी नै गाउँछन् ।।
सबैमा आत्मभाव राखी सोवा प्रेम जो गर्दछन् ।
असल धार्मिक सदाचारी गुणी, योगी र ज्ञानी हुन् ।।
सबैको चाहना यौटै मर्यादा सुख शान्ति हो ।
लोभ मोह अहंकार छोडी सेवा गरे मिल्यो ।।
कीर्ति राख्ने गरौं काम किर्ति स्तम्भ बनिरहूँ ।
नासिने भासिने काममा मात्र चित्त दिँदैनदयूँ ।।
स्याबासी पाउने राम्रा काम राम्रा गरौं अब ।
उन्नति, सुख, सन्तोष कीर्ति फैलियोस सबैतिर ।।
सबै सुखी र खुसी हुन् सम्पन्न र निरोगी हुन् ।
सबैले शुभ नै देखुन् पीडा दुःख केही नहुन् ।।
आउँदा ल्याएनौं जाँदा लाँदैनौं जे प्रयोग गर्यौं ।
ती सबै परमेश्वरले दिएका उपहार हुन् ।।
परमेश्वरका बस्तु गरौं उनमै समर्पण ।
रित्तै आयौं रित्तै जान्छौं लाने ता कर्मफल हुन् ।।
अमूल्य जीवन यो हाम्रो विवेकपूर्वक संधै चलोस् ।
पछुताउनु पर्ने काम हामीबाट कवै नहोस् ।।
सदा सत्यको जीत हुन्छ सत्यनै फूल्छ फल्दछ ।
असत्यले त हार्नेछ ओइलिनेछ मर्नेछ ।।
ओम शान्तिः शान्तिः शान्तिः ।।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार