अनलाइन टिकट लिएर होलिडे जादै हुनुहुन्छ ? यात्रा सुरु हुनु पूर्व अपनाउनुस साबधानीहरु !

अनलाइन सेवाग्राहीहरुका तथ्य र मिथ्याहरु
-- महेन्द्र कुमार लम्साल / प्रकाशित मिति : बुधबार, पुस २, २०७६

समयको गति र सूचना तथा प्रविधिको प्रचुर विकास सँगै सेवाप्रदायक र सेवाग्रहिहरुले दिने र लिने सेवाको तौर तरिकामा धेरै फरक आउनु स्वाभाविकै हो । अहिलेको स्थितिलाई हेर्दा ट्राभल सम्बन्धी सेवाका लागि अनलाइन सर्भिसले छोटो समयमै मार्केटको ठूलै हिस्सा लिन सफल भएको देखिन्छ । सरसर्ती हेर्दा, एकातिर  हवाई टिकट ट्राभल एजेन्सी खोलेर बसेका एजेन्टबाट भन्दा अनलाइनबाट लिँदा यदा कदा सस्तो पाउने गरेको ग्राहकहरु बताउँछन् भने अर्कोतिर   नागरिक उड्डयनमा अत्यन्तै कडा प्रतिष्पर्धाका कारणले बिगतमा भन्दा हवाई यात्रा तुलनात्मक रुपमा सस्तो हुनेगरेको छ । जसले गर्दा आज भोलि आन्तरिक तथा बाह्य पर्यटकहरुको ओहोर दोहोर बाक्लो देखिन्छ ।

वर्षको अन्तिममा पर्ने क्रिशमस र नयाँ वर्ष अष्ट्रेलियन यात्रुहरुका लागि अत्यन्तै पर्वमय समय हो । वर्ष भरिको कडा मिहिनेतले आर्जन गरेको अर्थ र समयलाई परिवारसंग  एउटा गुणस्तरीय होलिडे  जाने चाहना र योजना धेरै मानिसहरुको हुने गर्दछ । लामो समयदेखि योजना तर्जुमा गरिएको पारिवारिक भेटघाट होस् वा घुमघामको लागि तपाईँको यात्रा सुखद र अविस्मरणीय हुनु अति नै महत्पूर्ण छ ।

आजभोली सेवाग्राहीहरु एकातिर आफ्नै कार्यव्यस्तता र अर्कातिर सेवा लिन सजिलो प्रबिधिले गर्दा आफ्नो ट्राभल प्लानका बारेमा अनुभवी ट्राभल एजेन्टहरु संग परामर्स लिन चुकेका हुन्छन् । हातमा रहेको मोबाइल फोनको एप्सबाट हवाई टिकट खोजेर क्रेडिट कार्ड हालेर टिकट काट्ने चलन सामान्य भैसकेको छ । जसले गर्दा  एक छिन् समय मिलाएर ट्राभल एजेन्टसंग परामर्श लिने धैर्यता पनि मानिसहरुमा कम देखिन्छ ।

आफ्नो बहुप्रतिक्षित ट्राभल प्लान प्रतिष्पर्धाका नाममा च्याउ सरि उम्रिएका अनलाइन ट्राभल एजेन्टमा भरपर्दा थुप्रै मानिसहरु विपद र आर्थिक नोक्सानीका शिकार भएको हामी देखेका छौं ।  करिब १४ वर्षको  ट्राभल व्यवसायको अनुभब र वर्तमान मार्केट ट्रेन्डलाई अनलाइन सेवा लिदा जो कोहि पनि समस्या को शिकार बन्न सक्छ, त्यसमा सदा होशियार हुनुपर्ने देखिन्छ |

आइतबारको दिन बिहान सिड्नी एरपोर्टबाट फोन आउछ “दाई मलाई एरपोर्टमा बोर्डिंग पास दिएन !” किन ?  किन कि उहाँसंग सिड्नीबाट हङ्गकङ्ग जाने क्वन्टास र हङ्गकङ्गबाट काठमाडौँ जाने ड्रागन एयरको कम्बिनेशन  टिकट रहेछ । नेपाली पासपोर्ट बाहकहरुका लागि हङ्गकङ्ग हुँदै नेपाल जान एउटा अनौठो नियम छ । यदि यात्रुले हङ्गकङ्ग ध्वजाबाहक Cathay Pacific र यसको रिजनल हवाई सेवा, Dragon Air को टिकट काटेको छ भने १२ घण्टासम्मको ट्रान्जिटको लागि भिसा लगाउन पर्दैन तर यो बाहेक अन्य कुनै एअरलाइन्सको मिश्रित टिकट लिइयो भने  नेपाली पासपोर्ट बाहकलाई केवल एरपोर्टमा ल्याण्ड हुनको लागि मात्र भए पनि हङ्गकङ्गको भिषा अनिवार्य हुन्छ । र नेपाली पासपोर्ट बाहकहरुका लागि हङ्गकङ्ग भिसाको व्यवस्था यात्रा सुरु हुनु अगाडि नै गर्नु पर्ने हुन्छ, on arrival भिसा सुबिधा छैन । उनले यो  टिकट अलनाइन लिएका थिए ।  जहाँ सस्तो देखे पछि आफ्नो क्रेडिट कार्ड हालेर टिकट काट्ने काम हुन्छ तर ग्राहकलाई उचित सूचना दिने भने हुँदैन । तर यस्ता अनलाइन सेवा प्रदायकहरु आफु बच्नका लागि सानो अक्षरमा शर्तहरु, जस्तै “कुनै देश हुँदै जाने हो भने त्यहाँको भिसा सम्बन्धि जिम्मेवारी तपाइँ कै हुने छ” भन्ने जस्ता वाक्यांशहरु राख्ने गर्छन जुन प्राय मानिसहरुले हेर्दैनन् ।

एअरपोर्टमा यो समस्या आए पछि उनले मुस्किलले अनलाइन एजेन्टको नम्बर त फेला पारे तर आइतबार भएकोले सम्पर्क हुन सकेन । सोमबार कल गरि समस्या बताउँदा “भिसा सम्बन्धि व्यवस्था तपाईको आफ्नै जिम्मेवारी हो” भन्ने जवाफ पाए । र उनले ६ महिना अगाडि काटेको सस्तो टिकट जुन रिफण्ड नहुने थियो,  रद्धिको टोकरीमा फालेर अन्तिम समयमा आएर नयाँ टिकट काटेर अर्कै रुटबाट जान बाध्य भए ।

माथिको घटना सत्य हो र थुप्रै मध्येको एक हो । जति अनलाइनको प्रभाव बढेको छ त्यस्तै अनुपातमा समस्या र आपतकालीन कलहरु आउने ट्राभल एजेन्टहरु बताउँछन् ।

पूर्व योजना अनुरुप यात्रामा निस्केको यात्री कुनै पनि कारणले एरपोर्टबाट फर्किनु पर्यो भने एकातिर तय गरेको योजना लथालिगं हुन्छ भने अर्कातिर अन्तिम समयमा आएर टिकट क्यान्सिल वा डेट परिवर्तन गर्दा ज्यादै नै महँगो पर्न जान्छ । अनलाइन सेवा प्रदायकहरुले यस्ता संबेदनशिल बिषयहरुमा होशियार बन्नका लागि ग्राहक कै टाउकामा जिम्मेवारी थुपारी दिन्छन् । तर ट्राभल एजेन्सी नै संचालन गरेर बसेका एजेन्टहरु आफ्ना ग्राहकहरुलाई यस्ता अप्रत्याशित घटनाहरुबाट बचाउन टिकट काट्नु अगाडिनै उचित सूचनाहरु जस्तै,  सम्बन्धित देशहरुको भिसा, ट्रान्जिट, पासपोर्ट तथा अन्य आवस्यक जानकारी दिनु आफ्नै जिम्मेवारी ठान्दछन् ।  जसले गर्दा यात्रुहरुलाई एक खालको Peace of Mind यात्रा अवसर प्राप्त हुन्छ ।

“Without Travel Agent, You Are on Your Own.”  यो वाक्यांशले ट्राभल एजेन्ट बिनाको तपाईको यात्रा त्यति सहज हुँदैन भन्ने कुरा इंगित गर्दछ । हुन पनि अनलाइनबाट सेवा लिएका थुप्रै यात्रुहरु लाई सबै जिम्मेवारीहरु तपाई कै हो भन्ने शर्तहरुमा बाँधिएका हुन्छन् ।

यसै सन्दर्भमा काठमाडौँबाट सिड्नी तर्फ फर्कदै गरेका एक जना यात्रुको केहि महिना अगाडि फ्लाइट छुट्यो । उनीसंग बेलुकी ९ बजेको सिंगापुर एयरलाइन्स उडानको टिकेट थियो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको मर्मतका कारण बेलुकी १० बजेदेखि बिहान ८ बजेसम्म एरपोर्ट बन्द थियो । त्यसै अनुसार सबै उडानहरु प्रभावित भै बेलुकीको उडान दिउसो १ बजे सारिएको थियो तर उनले त्यो जानकारी अनलाइन ट्राभल एजेन्टबाट पाउन सकेनन् र फ्लाइट छुट्यो उनी उड्न पाएनन् । भोलि पल्ट इमेल मार्फत अनलाइन एजेन्टलाई सम्पर्क गर्दा “तपाईँले उडान भन्दा २४ घण्टा अगाडि हामीलाई सम्पर्क गरि फ्लाइट कन्फर्म गर्नु पर्ने थियो” भन्ने प्रतिक्रिया दिंदै उनी आफ्नो जिम्मेवारीबाट पन्छिए । हो २४ घंण्टा अगाडि फ्लाइट कन्र्फम गर्नु यात्रुको पनि कर्तव्य हो तर अनलाइनबाट काटेका टिकटमा एजेन्ट सँग सजिलै कुरा हुन नसक्दा यस्ता दुःखद घटनाहरु आज भोलि दिन प्रतिदिन सुन्न पाइन्छ ।

विचार नपुर्याई गरिने ट्राभल प्लानले थुप्रै कठिनाइहरु निम्त्याउने गर्दछ । उचित सूचनाको अभावमा एरपोर्टमा मानिसहरु अलपत्र परेको, टिकटमा लेखिएको समय अनुसार उडान समय तालिकामा परिवर्तन हुँदा फ्लाइट छुटेको, पासपोर्टको बैधता ६ महिना भन्दा कम भएकोले गर्दा यात्रा गर्न नपाएको, पासपोर्टमा र हवाई टिकटमा नाम नमिलेको कारण यात्रा गर्न नपाएको जस्ता झन्झटहरु सानो तिनो हेलचेक्र्याइँले निम्त्याउने ठूला समस्याहरु हुन् ।

वर्षौंदेखिको ट्राभल प्लानलाई फलदाई बनाउन रमणीय र स्मरणीय बनाउनका लागि केहि सुझाव मननीय छन् ।

१. सस्तो हवाई टिकटका लागि अनलाइन रिसर्च गर्ने तर आफुले चिनेको र विश्वास गर्ने एजेन्ट संगै टिकट किन्ने । यसो गर्दा कहिँ केहि आपद विपद पर्यो भने जति खेर पनि (साझ, बिहान, सप्ताहान्तमा ) पनि कुनै पनि माध्यम (फोन, भाईबर, मेसेन्जर) बाट सम्पर्क गर्न सकियोस् ।

२. टिकट लिनु अगाडि त्यसको Terms & Conditions का बारेमा जानकारी लिने, जस्तै Date Change Penalty  र Cancellation गर्दा कस्तो  penalty को  व्यवस्था छ । सामान्यतया सस्ता टिकटहरु  Cancel  गर्दा पैसा फिर्ता नआउने,  Non Refundable खालका हुन सक्छन् ।

३.     ट्राभल इन्स्योरेन्स अनिवार्य गर्ने ।

४.     एक कपि ETicket प्रिन्ट  र पासपोर्ट फोटोकपी  गरि साथमा राख्ने ।

५.     ट्राभल गर्नु अगाडि कम्तिमा २४ घण्टा अगाडि एजेन्टलाई फोन, मेसेज वा इमेलबाट फ्लाइट समय तालिकाका बारेमा जानकारी लिने ।

६.     सकेसम्म उडान हुनु भन्दा २ देखि ४८ घण्टाको बीचमा e-Checkin गर्ने ।

७.     आफ्नो पासपोर्टको Validity चेक गर्ने, ट्राभल अवधि भरि नै कम्तिमा ६ महिना Validity हुनु पर्ने छ ।

८.     नेपाल जाँदा सिधा हवाई सम्पर्क नभएको हुदा Transit हुँदै जाने मुलुकको भिसा सम्बन्धी जानकारी लिने ।

 

Writer is the Director of Yeti Travels Australia, can be reached at : lamsalmk@gmail.com