अन्तर्राष्ट्रिय युवा सम्मेलन हुदै 

-- The NTA / प्रकाशित मिति : शुक्रबार, असार ३, २०७३
“युवाहरुमा सामाजिक उद्दमशिलताको विकाश, सामाजिक उद्दमशिलता नै देश निर्माणको आधार” भन्ने नाराका साथ आगामी अक्टोवर १ देखि ४ सम्म काठमाण्डौमा एनआरएनको सहभागितामा अन्तर्राष्ट्रिय युवा सम्मेलनको आयोजना गरिने भएको छ । International_YouthConferenceनेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा हुने उक्त अन्तर्राष्ट्रिय युवा सम्मेलन सम्बन्धि जानकारी गराउन राष्ट्रिय युवा परिषदमा एक पत्रकार सम्मेलनको आयोजना गरिएको थियो।  पत्रकार सम्मेलनमा संघका अध्यक्ष शेष घलेले नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद र संघको सहकार्यमा हुन लागेको सम्मेलनलाई सफल बनाउन संघले पुरा सहयोग गर्ने बताउनु भयो । यस सम्मेलनले गैरआवासीय नेपाली युवाहरु त्यसमा पनि दोश्रो पुस्ताका युवाहरुलाई सहभागी गराई उनीहरुलाई मातृभूमी प्रति आकर्षित गराउन, बिदेशमा हासिल गरेका ज्ञान, सीप र अनुभवलाई नेपालमा रहेका उद्यमशील युवाहरुसँग आदान प्रदान गर्नठूलो सहयोग पुग्ने धारणा राख्नु भयो ।
कार्यक्रममा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष, युवा तथा खेलकुद मन्त्रालयमा सहसचिव, तथा प्रतिनिधिहरुले सम्मेलन बारे जानकारी गराउनु भएको थियो भने गैरआवासीय नेपाली संघका यूवा उपसंयोजक लोकरज शर्माले प्रेस वक्तव्य पढेर सुनाउनु भयो । त्यस्तै गरि कार्यक्रममा गैर आवासीय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापा, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु,  गैर आबासीय नेपाली संघका सदस्यहरु र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
प्रेस वक्तव्यका अनुसार, राष्ट्रिय युवा परिषद र गैर आवासीय नेपाली संघको संयुक्त आयोजनामा हुन लागेको र सम्माननीय प्रधानमन्त्री ज्युबाट समुद्घाटन हुने यस प्रथम विश्व युवा सम्मेलन मार्फत युवाहरूको क्षमता अभिवृदि गर्दै उनीहरुलाई उद्दमशील बनाउने उद्देश्यका साथ देश भित्र र बाहिरका युवाहरूलाई एकै स्थानमा भेला गराई सम्मेलनका माध्यमबाट युवा विकासका लागि तत्कालिन र दीर्घकालीन रणनीतिक कार्यदिशा तर्जुमा गर्ने उद्देश्य रहेको छ । त्यस्तै गरि देश विदेशमा भएका युवाहरुका साझा मुद्दाहरु, उनीहरुमा भएका वहुआयामिक प्रतिभा पहिचान, नेपालको अवसर, संभावना र चुनौतीहरुको यथार्थपरक विश्लेषण गर्दै नेपालको साझा समस्याका रुपमा रहेको वेरोजगारीको अन्त, बौद्धिक पलायन (Brain drain) को दिशालाई अव Brain gain तर्फ मोड्दै नयां नेपाल निर्माणको महान् अभियानमा संपूर्ण युवा शक्तिलाई परिचालन गर्ने वातावरण निर्माण गर्ने उद्देश्यले विश्व युवा सम्मेलन आयोजना गर्न लागिएको प्रेस वक्तव्यमा जनाइएको छ ।
विश्व युवा सम्मलेनले निम्न अनुसार उद्देश्यहरु लिइएको जनाईएको छ ।
  •  देश विदेशका युवा विज्ञ, वैज्ञानिक र विषय विशेषज्ञहरुको अनुभवहरु आदानप्रदान गर्ने ।
  • नेपाली युवाहरुका मुख्य समस्या, चुनौती, संभावना र अवसरहरुको खोजी गर्ने ।
  • राष्ट्रिय युवा विकास रणनीति तयार गर्नका लागि आवश्यक पृष्ठपोषण तथा मार्गनिर्देश गर्ने ।
  • युवा लक्षीत विभिन्न कार्यक्रम कार्यान्वयन गर्नका लागि प्राविधिक र आर्थिक सहयोग प्राप्त गर्ने वातावरण तयार गर्ने ।
  •  बिदेशमा आर्जन गरेको ज्ञान, सीप र पूंंजी पहिचान, प्रर्बद्धन र प्रयोग गर्न ठोस तथा परिणाममुखी कार्यक्रमहरूको तर्जुमा गर्ने ।
  • भूकम्पबाट थला परेको देशको अर्थतन्त्रको उत्थान र मौलाउदै गएको बेरोजगारीलाई न्युनीकरण गर्दै युवाहरूमा सामाजिक उद्यमशिलताको बिकास गर्ने र देशको पुर्ननिर्माणमा युवाहरूको स–शक्त परिचालन गर्ने ।
यस सम्मेलनमा विभिन्न देशका गैर आवासीय नेपाली संघका प्रतिनिधिहरु,  नेपालका बिबिध युवा-विद्यार्थी संगठनहरुका प्रतिनिधिहरु, नेपालका विभिन्न क्षेत्रका युवा उद्दमीहरु, बिभिन्न विषयका विज्ञ र प्रतिष्ठित व्यक्तित्वहरु, युवा सम्बद्ध सरकारी, गैर सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरु र विभिन्न मित्रराष्ट्रहरुबाट आमन्त्रित युवा प्रतिनिधिहरु सहभागिता हुने अपेक्षा गरिएको छ ।