अष्ट्रेलियाको प्रविधि कम्पनिको नयाँ घोषणा

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, जेष्ठ २५, २०७८

अष्ट्रेलियाको सबैभन्दा ठूलो प्रविधि कम्पनिले आफ्ना कर्मचारीहरुले जहाँबाट बसेर पनि काम गर्नसक्ने घोषणा गरेको छ । ८० अर्ब डलर मूल्यको एटलासियन कम्पनीले आफ्ना कर्मचारीहरु वर्षमा केवल चार दिनमात्र कार्यालय आउन सक्ने व्यवस्था गरेको छ । अर्थात् कर्मचारीहरुले आफ्नो पायक पर्ने कार्यालयमा हरेक त्रैमासिक अवधिमा एकपटक मात्र उपस्थित भए पुग्नेछ । कोरोना भाइरस महामारीको परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले ‘टीम एनी ह्वेर’ नीति लागू गरेको छ । जस अन्तर्गत कम्पनीले विश्वका विभिन्न देशमा कार्यरत आफ्ना ५७ सय कर्मचारीहरुलाई कम्पनीको शाखा रहेका विश्वका जुनसुकै देशबाट काम गर्न सक्ने व्यवस्था गरेको हो । त्यसका लागि कम्पनीले विभिन्न देशको समयमा हुने फरकको समायोजनका लागि समेत कर्मचारीहरु खटाएको छ । अहिले उक्त कम्पनीका विभिन्न ७ वटा देशमा कार्यालयहरु रहेका छन् । एटलासियनका सहसंस्थापक तथा प्रमुख कार्यकारी स्कट फार्कुहारका अनुसार घरबाटै काम गर्न पाउने स्थायी व्यवस्थाले कम्पनीलाई अस्ट्रेलियामा अवस्थित विश्वव्यापी जनशक्ति भएको कम्पनीको रुपमा स्थापित गराएको बताए । उनले आफू गत १२ महिनामा केवल ३ पटक मात्र अफिस गएको भन्दै कम्पनीको उक्त नीतिले उत्कृष्ट क्षमतावान जनशक्ति आकर्षित गर्ने दावी गरे ।