अष्ट्रेलियासंग नेपाल पराजित

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शनिबार, जेष्ठ २९, २०७८

काठमाडौं- नेपालले विश्वकप फुटबल २०२२ र एशिया कप फुटबल २०२३ को छनोटको निराशाजनक अन्त्य गरेको छ ।

छनोट अन्तगर्तको आफ्नो अन्तिम खेलमा नेपालले अष्ट्रेलिया बिरुद्ध ०–३ को हार बेहोरेको छ ।

कुवेतस्थित अल जबेर अन्तर्राष्ट्रिय रङशालामा शुक्रबार अबेर राति सम्पन्न खेलमा अष्ट्रेलियाले नेपालमाथि सहज जित हात पार्यो ।

अष्ट्रेलियाले छनोटको आफ्नो सबै खेल जित्न सफल भयो ।

विश्व वरीयताको १७१ औं स्थानमा रहेको नेपालले ४१ औं स्थानको अष्ट्रेलियाको सामना गर्दा गोलको केही अबसर सृजना गरेपनि सफल भएन ।

पहिलो हाफमा २–० को अग्रता बनाएको अष्ट्रेलियाले दोस्रो हाफमा थप एक गोल गर्यो ।

पहिलो हाफको छैठौं मिनेटमै म्याथ्यु लेखीले सुरुवाती गोल गर्दै १–० को अग्रता दिलाउनुभयो ।

३८ औं मिनेटमा फ्रेन करनेचले गोल गर्दै अष्ट्रेलियाको अग्रता दोब्बर पार्नुभयो ।

दोस्रो हाफको सुरुवातमै मार्टिन बोएलले गर्नुभएको प्रयास लक्ष्यबाट बाहिरिन पुग्यो ।

तर अर्को मिनेटमा नै मार्टिन बोएलले गर्नुभएको प्रयास गोलमा परिणत भएपछि अष्ट्रेलियाले अग्रता तेब्बर पार्यो ।

कप्तान किरण चेम्जोङले अष्ट्रेलियाले गरेको आधा दर्जनभन्दा बढी गोलको प्रयासलाई विफल पार्नुभयो ।

८४ औं मिनेटमा वेयन मार्भिलको प्रयासलाई चेम्जोङले विफल बनाउनुभयो ।

कप्तान चेम्जोङले नेपालको प्रतिनिधित्व गरी आफ्नो ७२ औं अन्तर्राष्ट्रिय खेलमा सहभागी हुनुभयो ।

नेपालले आठ खेलमध्ये दुईमा जित हात पारेर छ अङ्क जोडेर छनोट प्रतियोगिता टुंग्याएको छ ।

समूह बी मा नेपाल अङ्कतालिकाको चौथो स्थानमा रह्यो ।

चाइनिज ताईपेइ पूछारमा रह्यो ।

नेपालले छनोटको आठ खेलमध्ये मात्र दुईमा जित हात पार्न सक्यो ।

नेपालले दुबै जित चाइनिज ताईपेइमाथि रहयो ।

पहिलो र दोस्रो गरी दुबै चरणमा चाइनिज ताईपेइ नेपालसँग हार बेहोर्यो ।

दोस्रो चरणको तेस्रो खेलमा जोर्डनसँग ३–० को हार बेहोरेको नेपालले चौथो तथा अन्तिम खेलमा अष्ट्रेलिया बिरुद्ध समेत उक्त गोल अन्तरको हारलाई निरन्तरता दियो ।