कृतज्ञ नेपालीले सधैँ सम्झनु पर्ने नाम हो पृथ्वीनारायण शाह

-- हरिविनोद अधिकारी / प्रकाशित मिति : बिहिबार, माघ ८, २०७७

आजको हाम्रो नेपाल भन्ने देशको आधुनिक एकीकृत स्वरुपको थालनी गर्ने महापुरुष थिए तत्कालीन अवस्थाका गोरखा नरेश पृथ्वीनारायण शाह । दर्जनौँ राज्यमा विभाजित भएर रहेका यस प्रदेशका ठूला साना राज्यहरुलाई माला उनेजस्तै गरी एकीकृत गरेर एउटा स्वतन्त्र र सार्वभौम नेपाल राज्यको रुपमा विकास गर्ने श्रेय उनैलाई छ । एकीकरणका लागि कतिपय ठाउँमा युद्ध पनि गर्नु परेको थियो होला तर त्यो बेलामा यदि उनले त्यो सत्प्रयास गरेका थिएनन् भने आजको नेपाल भन्ने देश सायदै विश्व मानचित्रमा हुन्नथ्यो होला ।
नेपाल भन्ने देशलाई दूरदृष्टिका साथ जुन एकीकरण गर्ने सुरुवात गरिएको थियो जसलाई उनैका छोरा राजकुमार बहादुर शाहले विस्तारित नेपालको खाका तयार गरेर विशाल नेपालको सीमा पूर्व, पश्चिम, दक्षिण तथा उत्तरतर्फ बढाएका थिए । सन् १८१६मा सुगौलीको सन्धि भएपछिको नेपाली भूगोल अहिले हामीसँग छ ।
विक्रम सम्वत १७७९ पुस २७ गते गोरखा दरबारमा जन्मेका पृथ्वीनारायण शाह १७९९मा राजा नरभूपाल शाहको निधन पछि गोरखाका राजा भएका थिए । त्यसबेलामा नेपाल उपत्यकाका कान्तिपुर, ललितपुर र भक्तपुर, बाइसे राज्यहरु, चौबिसे राज्यहरु र सेनहरुको विशाल साम्राज्यलाई उनले एकीकरण गरेर नयाँ देशको नामाकरण गरे—नेपाल । त्यो बेलामा यदि उनले यी छिन्नभिन्नरुपले शासित स्वतन्त्र तर राज्यका लागि आवश्यक अवयवहरु विकास नगरिएका राज्यहरुलाई एकीकरण नगरेका भए दक्षिणतिरको अंग्रेजी साम्राज्यले खर्लप्प निल्ने थियो र आजको स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नेपाल भन्ने देश कहाँ पो रहन्थ्यो र ?
त्यसैले आजको आधुनिक नेपालको परिकल्पनाकार पनि उनै थिए, एकीकरण गर्नका लागि साहस गर्ने पनि उनै थिए र विभिन्न टुक्रामा छरिएर रहेका राज्यहरुलाई एकै सूत्रमा गाँसेर नेपाली राष्ट्रियताको भावना जगाउने पनि उनै थिए । त्यसैले उनैलाई हामी राष्ट्र निर्माता र बडामहाराजाको रुपमा मान्दै आएका छौँ । आजको नेपाल भन्ने देशको मजबुत जग राखेर त्यसपछिका पुस्ता पुस्तासम्मलाई अविभाज्य नेपाल हस्तान्तरण गर्ने नैै उनको देन हो भन्न हच्कनु पर्ने छैन कुनै पनि नेपालीले ।
आदि वैदिक काल, पौराणिक काल र उत्तर वैदिक कालदेखि नै नेपाल भन्ने देशको अस्तित्व अनवरत पाइन्छ । लामो समयक्रममा नेपाल विभिन्न राज्यमा विभाजित भए पनि कसरी यो देशको नाम नेपाल रह्यो होला भन्ने जिज्ञासा सदैव रहन्छ । आधुनिक नेपालको इतिहासको अध्ययन गर्दा जव पृथ्वीनारायणले एकीकरण गरे अनिमात्र एउटा स्वतन्त्र र सार्वभौम देशको रुपमा नेपालको पहिचान विश्वभर भएको देखिन्छ किनभने संसारमा घाम नडुब्ने साम्राज्य स्थापित गरेको अंग्रेजलाई समेत नेपालमा प्रवेश गर्न नदिएको र पछि नेपालीहरुले उनीहरुसँग सम्झौता गर्ने हैसियत राखेर सुगौली सन्धि गरेको देखिन्छ । नेपाल भन्ने देशले भारततर्फमात्र होइन, तत्कालीन चीन र तिब्बतसँग पनि थिचोमिचो गर्न नदिई युद्धसमेत गरेर नेपाली भू–भागको रक्षा गरेको देखिन्छ र पछि गएर सीमा संरचित गरी संरक्षण गरेको पनि पाइन्छ ।
आजको सार्वभौम सत्ता सम्पन्न र स्वतन्त्र अस्तित्व भएको नेपालको निर्माता श्री ५ बडामहाराजा पृथ्वीनारायण शाह नै हुन् यो उनकै देन हो र त्यो एकीकरणलाई नै हामीले राष्ट्रिय एकता दिवसको रुपमा मनाउँदै आएका थियौँ । यता केही वर्षदेखि राज्यका तर्फबाट त्यो कृतज्ञता कृतघ्नतामा बदलिएको देखिन्छ । तर कृतज्ञ नेपाल देशबासीले यदि पृथ्वीनारायण शाहको देनलाई बिर्सियौँ भने, उनले निर्माण गरेको नेपालका बारेमा बिर्सियौँ भने हामीले लगाउने राष्ट्रियताको नारा खोक्रो हुनेछ र हामी नेपाली हाँै भनेर गर्व गर्ने अधिकार पनि हामीले गुमाउने छौँ ।
कुनै पनि कृतज्ञ नेपालीले नेपालको आजको स्वरुप र स्वतन्त्र अस्तित्वका लागि पृथ्वीनारायण शाहप्रति नतमस्तक हुनैपर्छ र एकताका प्रतीकको रुपमा सम्मान गर्नैपर्छ । उनको जन्म जयन्तीलाई त्यसैले हामीले राष्ट्रिय एकता दिवसको रुपमा मनाउँदा गर्व गरेर भन्न सक्छौँ —हामी नेपालीको बासस्थान नेपालका कल्पनाकार, योजनाकार र मुलुकलाई एउटै सूत्रमा बाँधेर आजको नेपालको अस्तित्वको भाग्य विधाता र राष्ट्र निर्माता पृथ्वीनारायण शाह नै हुन् । उनको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउनु हाम्रो व्यक्तिगत तथा सामाजिक कर्तव्य हुनजान्छ । उनीप्रति कृतज्ञ हुनु नै नेपालप्रतिको माया पनि हो ।