दक्ष जनशक्ति देशमै फर्कने वातावरण बनोस्

-- समपादकीय, नाेभेम्बर २०१८, नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, कार्तिक २७, २०७५

एउटा नगारिक बयष्क बन्दासम्म देशले ठूलै लगानी गरेको हुन्छ । अझ कुनै क्षेत्रमा दक्षता हासिल गरि देशलाई केहि दिनु पर्ने बेलामा बिदेसियो भने देशलाई हुने हानि अर्थमा मात्र होइन भावनात्मक रुपमा समेत गहिरो हुन्छ । बिश्वभर छरिएर रहेका दक्ष, अर्ध दक्ष र युवा जनशक्तिलाई देश मै कुनै न कुनै किसिमका अवसरहरू सिर्जना गरि देश कै लागि उनीहरूको उर्जा लगानी गर्न सके मात्र हाम्रो जस्तो देशले काँचुली फेर्न सक्छ ।

गत महिना एनआरएनएले नेपालमा गरेको बिश्व ज्ञान सम्मेलनको सार पनि त्यहि थियो । हाम्रो जस्तो अल्पविकसित देशमा महंगा बिदेशी योजनाविद र व्यवस्थापकहरू ल्याउनुको सट्टा बिदेशी भूमिमा आफ्नो दक्षताले कहलिएका हाम्रै आफ्नै युवा युवतीहरू लाई स्वदेश फिर्ता गर्न सक्नु पर्दछ । वा कुनै न कुनै तबरबाट तिनका ज्ञान र सीपलाई देश विकासमा जोड्न सक्नु पर्दछ । १६० भन्दा बढी कार्यपत्र र ८० जना भन्दा बढी बिज्ञको टिप्पणी सहितसम्पन्न बिश्व ज्ञान सम्मेलनले पनि सरकारलाई त्यहि भन्न खोजेको हो । कि हामी संग विदेशमा सिकेको ज्ञान छ, सीप छ र केहि बचत गरेको पूँजी पनि छ, हामीलाई प्रयोग गर जुन प्रयोगात्मक रुपमा पनि सापेक्षिक हुन्छ । बिज्ञ सम्मेलनको समाप्ति संगै एनआरएनएले सम्मेलनको निचोड श्वेत पत्रको रुपमा सरकारलाई बुझाइ सकेको छ, जुन अब नेपाल सरकारको पूँजी को रुपमा भबिष्यमा कुनै योजना कोर्दा मार्ग निर्दिष्ट गर्ने खालको हुनेछ ।

यसको मतलब आफ्नो खर्चमा देशसम्म आएर, संसार भर छरिएका र आ–आफ्नो क्षेत्रमा पोख्त दक्ष जनशक्तिले सम्भावित योजनाहरू सहित वा गर्न सकिने कार्यको फेहरिस्ता सहित आफ्नो सुझाब बुझाइ सकेका छन् । सरकारले कल्पना गरेको रेलमार्ग, खाने पानी चुस्त ट्राफिक कन्ट्रोल, आधुनिक कृषि, हाइड्रो, इ–मेडिकल, कच्चा पदार्थ ल्याएर देश मै उत्पादन गर्न सकिने विविध कुराहरू, जडीबुटीको प्रशोधन लगायत सयौं क्षेत्रमा नीति निर्माण तहदेखि तल्लो अधार तहसम्म काम गरेका नेपाली दक्ष जन शक्तिहरू यति बेला संसार भरि छन् । अब पालो सरकारको छ, सरकारले पनि सोहि अनुरुप तदारुपता देखाओस, यस्ता अवसर सरकारलाई फेरि फेरि नआउन सक्छ । देश राजनीतिक रुपमा धेरै नै स्थिर बन्दै, राजनीतिक रुपमा पूरा गर्नु पर्ने धेरै कार्यहरू जस्तै संबिधान निर्माण, सबै तहको निर्बाचन सम्पन्न भइ देशले दुई तिहाइको बहुमतले सरकार पाएको छ अब अर्को एउटै काम भनेको परिणाम दिने हो । सम्बृद्धिको परिणाम बिकासको परिणम, त्यसको लागि चाहिने अर्थ र त्यो अर्थलाई सहि उपयोग गर्न सक्ने योजानाबिद । हो यसैको लागि पनि सरकारले बिदेसिएका आफ्ना दक्ष जनशक्तिलाई देश मै फिर्ता गर्न पहल कदमी गरोस्, सार्बजनिक आह्वान गरोस् । हामी देशमा हाैं या परदेशमा देश समृद्द भएको, आफ्नै जीबन कालमा देशले काँचुली फेरेको हेर्न रहर छ आहिलेको पुस्ता जसले देश संधै निराशा मात्रै देख्यो । अब त्यो परिबर्तन गर्न हिजो जसरी भारत, चीनले आफ्ना गैर आवासीय नागरिकहरू लाई योजनाबद्द र नीतिगत रुपमै आह्वान गर्यो नेपाल सरकारले पनि त्यस्तै गर्न अब कत्ति पनि बिलम्ब नगरोस् ।