दर्शकलाई मन पर्‍यो गायक तुलको ‘गोर्खे सलाम’

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : सोमवार, बैशाख १७, २०७५

काठमाडौं– बुद्ध जयन्तीको अवसर पारेर गायक तुल साम्सोहाङ राईद्वारा सार्वजनिक गरिएको राष्ट्रिय भावना बोल्ने ‘गोर्खे सलाम…’ शीर्षकको गीतको म्युजिक भिडियो दर्शकले मन पराएका छन् ।
अमेरिकामा बसोबास गरिरहेका गायक राईको उक्त गीतको म्युजिक भिडियो एउटा भावनात्मक संवादबाट प्रारम्भ हुन्छ, जसमा गायक राई तथा भीमफेदी गाइजका कलाकार निर्मल लामाबीच देशभक्तिपूर्ण कुराकानी हुन्छ ।
प्रस्तुत गीतमा भने टंक बुढाथोकीको शब्द तथा संगीत छ भने बुढाथोकीले नै संगीत संयोजनको काम गरेका छन् । उक्त गीत गायक राईको ‘समिश्रण’ एल्बममा समावेश छ । मेलोडियस शैलीको यो फास्ट गीतको म्युजिक भिडियो पनि उत्तिकै आकर्षक बनेको छ ।
निर्मल लामाद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोलाई भिमफेदी गाइजका कलाकारले आकर्षक बनाएका हुन् । निर्देशक लामा पनि भिमफेदी गाइजकै सदस्य हुन् । अंग्रेजीमा उप शीर्षक राखिएको उक्त गीतको भिडियोलाई पवन सुस्लिङले सम्पादन गरेका हुन् । द मोन्टाजद्वारा छायांकन गरिएको भिडियोमा भीमफेदी गाइजका कलाकारहरुलाई द स्टार यूथ डान्स ग्रुप, दम्की रक्स तथा चिउरी बगैंचा गाईजका कलाकारहरुले पनि साथ दिएका छन् ।

छड्के सलामको भिडियो