धोनीद्वारा सन्यास घोषणा

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, भदौ २८, २०७७

क्रिकेटका लिजेन्ड महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट अगष्ट १५ का दिन सन्यास घोषणा गरेका छन् । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका धोनीले सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गरेका हुन् । तथापि, धोनीको यो भनाइसँगै उनले इन्डियन प्रिमियर लिग खेल्ने सम्भावना भने रहेको देखिएको छ । ‘धेरै माया र समर्थनका लागि धन्यवाद दिन चाहन्छु । आज साँझ ७:२९ बजेबाट नै मैले सन्न्यास लिएको बुझे हुन्छ,’ धोनीले सामाजिक सञ्जाल इन्स्ट्राग्राममा उल्लेख गरेका छन् । ३९ वर्षे विकेटकिपर ब्याट्सम्यान धोनीले टेस्ट क्रिकेटबाट भने सन् २०१४ मै सन्न्यास लिएका थिए । गत वर्ष इङ्ल्यान्डमा सम्पन्न विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्यान्डसाग पराजित भएयता धोनी राष्ट्रिय टोलीमा फर्किएका छैनन् । धोनी छोटो फरम्याटको क्रिकेटमा भारतका सबैभन्दा सफल कप्तान मानिन्छन् । उनको नेतृत्वमा भारतले आइसिसीको तीन वटा ठूला उपाधि उचालेको छ । धोनीले आफ्नै कप्तानीमा भारतलाई सन् २००७ को ट्वान्टी–२० विश्वकप क्रिकेट, सन् २०११ को एकदिवसीय विश्वकप र सन् २०१३ को आइसिसी च्याम्पियन्स ट्रफी जिताएका थिए । सन् २०१४ मा टेस्ट क्रिकेटबाट बिदा लिए पनि उनले राष्ट्रिय टोलीबाट एकदिवसीय र ट्वान्टी–२० क्रिकेट भने खेल्दै आएका थिए । एकदिवसीय क्रिकेटमा उनले ३ सय ५० खेलबाट कुल १० हजार सात सय ३३ रन बनाउँदा धेरै रन बनाउने भारतीय खेलाडीको सूचीमा आफूलाई पााचौं स्थानमा उभ्याएका छन् । उनीभन्दा अगाडि सचिन तेन्दुलकर, विराट कोहली, सौरभ गांगुली र राहुल द्रविड छन् । तर, पछिल्ला समय भारतीय टोलीबाट बाहिर रहँदै आएपछि उनको भविष्यबारे अनेकौं विश्लेषण हुँदै आएका छन् । गत वर्ष न्युजिल्यान्डसँगको हारपछि उनले कुनै पनि फरम्याटको क्रिकेट खेलेका थिएनन्, तर पनि उनले अन्तिम पटक राष्ट्रिय टोलीबाट खेल्न सक्ने अनुमान गरिँदै आएको थियो । तथापि, उनी युएईमा हुन लागेको १३औं सिजनको आइपिएलमा भने देखिन सक्नेछन्, जहाँ उनले चेन्नाई सुपर किंग्सको कप्तानी गर्नेछन् । धोनीले आफ्नो कप्तानीमा भारतलाई सन् २००७ को ट्वान्टी–२० विश्वकप क्रिकेट, सन् २०११ को एकदिवसीय विश्वकप र सन् २०१३ को आइसिसी च्याम्पियन्स ट्रफी जिताएका थिए ।