नटुटोस सपनाहरू

-- सम्पादकीय अगष्ट अंक २०१९, नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, साउन २९, २०७६

बिक्रम सम्बत् २००७ सालको परिवर्तन पछाडि सबैले अनुभूत गर्ने खालको विकास र सार्वभैम सम्पन्न देशको नागरिक हुनुको आभास सबैलाई हुनु पर्ने हो । त्यस्तो पटक्कै भएन, २००७ सालदेखि २०१५ सालसम्मको ट्रान्जिसनल समयपछि बनेको पहिलो जननिर्वाचित सरकार जब अपदस्त भयो । त्यसको ६१ वर्ष पछाडि आजसम्म पनि नेपाल अस्थिरताको भुमरीबाट बाहिर आउन सकेको छैन । देश भित्र युवा पुस्तालाई आकर्षण गर्ने जागिर र अबसरको त परै जावस् भएका कलकारखाना बन्द हुनु, साना तिना व्यापार सुरक्षित नहुनु र कृषि प्रणालीमा बैज्ञानिकरण हुन नसक्नुको परिणाम भन्नु पर्छ आज देशमै आफ्नो केहि गर्नुभन्दा ठूलो खर्च गरेर पनि बिदेशी भूमिमा पसिना बगाउनेको लर्को विमानस्थलमा प्रष्टै देखिन्छ ।

उच्च शिक्षा नाममा १७ र १८ वर्षका बाबुनानीदेखि रोजगारको सिलसिलामा बाहिरिएका दक्ष र अर्धदक्ष हाम्रा युवा पुस्ताको जे बाहनामा बाहिरिए पनि सबैलाई अनिश्चित भविष्यसंग त्रास छ, केहि न केहि कुनै न कुनै रुपमा सबै सुरक्षित भविष्यको लागि आफूलाई जुन सुकै सर्तमा पनि बिदेशी भूमिमा रत्ताउन अभिसप्त देखिन्छन् । बिगत केहि वर्षका अष्ट्रेलियामा आएका नेपाली विद्यार्थीहरूको अनुहार सरसर्ती हेर्ने हो भने प्लस २ सकेर आउने विद्यार्थीहरूकै बाहुल्यता देखियो । गलत र सहि छुट्टाउन अझै अलकति गार्है पर्ने उमेर समूहका भाइबैनीहरू एक्कासी बुवाआमाको साथ छोडेर यहाँ आउनु, यहाँको शैक्षिक वातावरण र तौरतरिका फरक हुनु परिवारलाई छोड्दाको पीडा, काम खोज्नु पर्ने वाध्यता, काम शारिरीक रुपमा गार्हो आदि कारणले धेरै भाइबैनीहरूको स्थिति सहज नभएको सतहमै आए । यसको दोष जान अन्जानमा उनीहरूभन्दा पनि तिनका अभिभाबक र कसो कसो उनीहरूलाई परामर्श दिने परामर्श दाताहरूसम्म पुग्यो । जून केहि हदसम्म ठिकै जस्तो देखिए पनि शैक्षिक क्षेत्रसंग सम्बाद्ध र यसलाई नियमन गर्नु पर्ने सरकारी निकाय नै यसमा चनाखो हुनु पर्ने देखिन्छ ।

जग्गा बाँझो बनाएर १५/२० हजार कमाउन अरबतिर हिंड्नेदेखि, गलत र सहि के हो छुट्टाउन नसक्ने विद्यार्थी यी फरक समुह र प्रकृतिका नेपाल छोड्ने पुस्ताका प्रतिनिधित्व गर्ने पात्र हुन् । यी दुई फरक समुहलाई फरक किसिमबाट नै सरकारले सम्बोधन गर्न जरुरी छ । आफ्नो स्वस्थको ख्याल गर्न नसक्नु, अत्याधिक श्रम र पानीको मात्राको कमी हुनु, विविध सुरक्षा सम्बन्धि ज्ञानको कमि आदि कारणले बैदेशिक रोजगार त्यसमा पनि खाडी देशतिर जाने युवा युवतीको प्रत्येक दिन दुईदेखि बढी मृत शरीर बाकसमा बन्द भएर आउने गरेको छ ।

अर्कोतिर उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया जस्तो देशमा आएका धेरैको सपना यथार्थ नहुँदै टुटेको छ, मानसिक रोगको शिकार, पारिवारिक बिछोडको पीडा, यहाँको समुन्द्री तटका सुरक्षाबारे ज्ञान नहनु, नेपालकै लाइसेन्सबाट गाडी चलाउँदा यहाँको ड्राइभिङ्ग सम्बन्धि आधारभूत ज्ञानसमेत नहुँदा धेरै युवा युवतीको ज्यान गएको छ । अर्कोतिर साथी संगतको फल भनुँ धेरै यो उमेर समुहका विद्यार्थीहरू कुलतको पनि शिकार भएका छन् । दुःखद घटना वा भवितब्य कहाँ कतिबेला घट्छ भन्ने कुरा सबैको आँकलन बाहिरको कुरा हो तैपनि हालै सडक दूर्घटनामा मृत्युबरण गरेका दुई विद्यार्थीहरूको घटनाको प्रकृति हेर्दा उनीहरूको उमेर हेर्दा कहिँ न कहीँ केहि लापरबाही त होइन भन्ने संशय उठेको छ । त्यसमा पनि सुकसुल रहेका चालक युवा एक्कासी देश छोड्न प्रयास गर्दै गर्दा प्रहरीले नियन्त्रण गर्नुले थप शंकाको घेरा गाढा भएको छ । माथि भनिएका बाहेक पनि यति बेला नेपाली विद्यार्थीको लाइसेन्समा नै यहाँको सम्बन्धित निकायबाट बेला बेलामा प्रश्न उठ्ने गरेको छ । कारण जे होस् यस्ता घटना रोकिनु पर्छ, विद्यार्थीलाई अनुमति पत्र दिँदादेखि नै आहिले अष्ट्रेलियामा देखिएका कलेज र इमिग्रेसन सम्बन्धि नियमहरू, समुन्द्रीतट सम्बन्धि सुरक्षाका कुराहरू, सडक दूर्घटना र यहाँको सडक सुरक्षा एवं चालक सम्बन्धि नियमका सम्बन्धमा आदि बिषयमा नेपाल सरकारले प्रि–डिपाचर कक्षाहरू नै संचालन गर्नु पर्ने देखिन्छ । एक जना विद्यार्थीको सपना टुट्दै गर्दा उसको मात्र सपना टुट्दैन ऊसंग आश्रित परिवार ईष्टमित्र नातागोता सबैको सपना टुटेको हुन्छ । त्यस्तो फेरि नदोहोरियोस् फेरि कसैलाई नपरोस् ।