नेपाल अस्ट्रेलिया सम्बन्ध – अल्मलिएको कुटनीति !

-- महेन्द्र कुमार लम्साल / प्रकाशित मिति : सोमवार, माघ २७, २०७६

नेपाल अष्ट्रेलिया सम्बन्धको करिब ६० वर्ष पुगेको अवस्था छ भने आवासीय राजदूताबासको व्यवस्था भएकोपनि एक दशकभन्दा बढी भैसकेको छ । सार्वभौमसत्ता सम्पन्न राष्ट्रको सवालमा दुवै मुलुकहरु परस्परमा समान हैसियत राख्दछन् तर आर्थिक, राजनैनिक, प्राबिधिक जस्ता थुप्रै बिषयमा नेपाल अष्ट्रेलियाभन्दा धेरै पछाडि छ । यसको खाडल पुर्दै जान र समानताका आधारमा सम्बन्ध सबल बनाउन आवासीय राजदूतको भूमिका प्रभावकारी हुन जरुरि छ ।

आवासीय दूतावास देशमा रहनु भनेको दुवै देशले आपसी परस्पर सम्बन्धलाई महत्व दिएको बुझिन्छ । यस्ता कुटनीतिक नियोगको प्रमूख भूमिका भनेको जनस्तर, सरकारीस्तर  कूटनीतिक स्तरमा दुइ देशबीचको सम्बन्धको सूत्रलाई बलियो बनाउनकालागि निरन्तर काम गर्नु हो । यस्ता सम्बन्धहरुलाई मलजल गर्दै विकास, बिस्तार र मजबुत बनाउन एउटा कुशल कुटनीतिज्ञको आवश्यकता र भूमिका संधै रही रहन्छ ।

तर बिगतको दशकलाई फर्केर हेर्दा जुन ढंगले अष्माट्रेलियामा नेपाली समुदायको डेमोग्रफिक ढाँचामा परिवर्तन भएको छ त्यस अनुसारको  अष्ट्रेलिया-नेपाल सम्बन्ध मा सन्तुष्ट हुने ठाउ देखिदैन ।  समानताका आधारमा बिकास भएको पनि देखिदैन। यसो हुनुमा सकृय र रचनात्मक कुटनीतिक पहल नहुनुलाइ प्रमूख कारण मान्न सकिन्छ ।  कुटनैतिक  विज्ञताका आधारमा भन्दापनि राजनैतिक भागबन्डामा राजदूतहरु चयन हुने परम्पराले गर्दा आजसम्म समयले मागेजस्तो कुटनीतिज्ञ अधिकांश बिदेशस्थित नेपाली कुटनीतिक नियोगले नपाएको यथार्थतालाइ कसैले नकार्न सक्दैन ।

एकातिर ६ दशक लामो दौत्य सम्बन्ध भएका मुलुक अष्ट्रेलियाबाट आजसम्म नेपालमा राज्यस्तरको भ्रमण नहुनु एकातिर छ भने अर्कातिर हाम्रा बहालवाला मन्त्रीहरु फितलो पारामा अष्ट्रेलिया उत्रिनुले दुई देशको कुटनैतिक सम्बन्ध फितलो छ भन्ने प्रष्ट हुन्छ । बिगत केहि वर्षहरुमा नेपालबाट बहालवाला अर्थमन्त्री, परराष्ट्रमन्त्रीदेखि पर्यटन मन्त्रीहरुको भ्रमण अष्ट्रेलिया नभएका होइनन् । उनिहरु प्राय नेपाली कार्यक्रममा भाग लिने निमन्त्रणामा अस्ट्रेलिया झरेका हुन्छन । यस्ता भ्रमणका बेला हाम्रा मन्त्रिहरु या त आफै कुटनैतिक मर्यादाको खासै ख्याल गर्दैनन् या अष्ट्रेलियन  समकक्षीहरुसंग सम्बन्धित बिषयमा  छलफल गर्न र विचारको आदानप्रदान गर्न हिच्किचाउछन बुझ्न मुश्किल छ । तर कुटनैतिक सम्बन्ध स्थापित मुलुकमा नेपाल सरकारको बहालवालामन्त्रीको हैसियतले अष्ट्रेलियाको भ्रमण गर्दा आफ्नै आवासीय कुटनीतिक नियोगसंग समन्वय गरि आउने र आफ्ना समकक्षीहरुसंग औपचारिक भेटको कार्यक्रम तय भैदिने हो भने त्यसले एउटा छुट्टै एतिहासिक र कुटनैतिक महत्व राख्दथ्यो  ।  यस्ता खालका भ्रमणपूर्व दूतावास स्तरीय समन्वय र सचिब स्तरीय एजेन्डा बनाएर छलफल भेटघाट गर्दा दुई देशबीचका सम्बन्ध र सहयोग आदान प्रदानमा सकारात्मक परिणाम आउदै गर्ने कुरामा दुईमत थिएन तर त्यस्तो भएको देखिदैन ।

अष्ट्रेलिया र नेपाल दुवै देशमा आवासीय दूतावास रहँदै गर्दा मुलुकको सम्बृद्धि र अग्रगमनका लागि नेपालले अष्ट्रेलियाबाट थुप्रै कुराहरु साझेदारी गर्न र  सिक्न सक्छ । त्यस्ता  सम्भावित क्षेत्रहरुको अनुसन्धान र पहिचान गरि अष्ट्रेलियाले अवलम्बन गरेको नीति तथा कार्ययोजनालाई भर्खरै राजनैतिक स्थायीत्व प्राप्त गरि सम्वृद्धि तर्फ लम्कदै गरेको नेपालले यस्ता नीतिहरुलाई आफ्नो देशको भूराजनीतिक र सामाजिक आर्थिक परिवेशमा समायोजन र परिमार्जन गरि प्रयोग गर्न सक्छ । त्यसको लागि डिप्लोम्याटिक ड्राइभरको भूमिकामा रहेर स्टेरिंग समात्ने काम क्यानबेरा स्थित नेपाली राजदूतले गर्नु जरुरी छ भने उहाँलाई सहयोगका लागि राज्यहरुमा नियुक्त र कार्यरत बाणिज्यदूतहरुको गहन भूमिका रहन्छ ।

आयश्रोत र रोजगारीको दृष्टिकोणले अष्ट्रेलिया र नेपाल  दुवैले पर्यटनलाई महत्व दिएको पाइन्छ । अष्ट्रेलियाले यहाँको सुन्दरतालाई आफ्नो सम्बृद्धिमा परिणत गरिसकेको छ भने नेपालमा बिध्मायमान  प्राकृतिक सुन्दरतालाई सम्बृद्धिमा परिणत गर्न अष्ट्रेलियाबाट नेपालले धेरै सिक्न सक्छ । यसै सन्दर्भमा भिजिट नेपाल २०२० शुभारम्भका लागि नेपालका बहालवाला पर्यटन मन्त्रीको अष्ट्रेलिया भ्रमणको पूर्वसन्ध्यामा अष्ट्रेलियाले लिएको सफल पर्यटन नीति तथा पर्यटन पूर्वाधार सम्बन्धि अष्ट्रेलियाबाट नेपालमा गर्न सक्ने लगानीका सम्बन्धमा एजेन्डा सहितको औपचारिक छलफल आयोजना गर्न सक्नु पर्ने थियो तर त्यो भएको देखिएन । मन्त्री ज्यु आउनु भो, नेपालीहरुले आयोजना गरेको डिनर प्रोग्राममा भाग लिनुभो र भन्नुभो “अष्ट्रेलियाले १ लाख पर्यटक पठायो भने अर्को एनआरएन चुनाबमा आइसिसिको अध्यक्षमा हामीले अष्ट्रेलियाका उम्मेदवारलाई सघाउँछौं, र राजदूतलाई अमेरिकाको राजदूतमा प्रोमोट गरिदिन्छौ वा पर्यटन मन्त्री नै बनाइदिन्छौ,  हैन भने जुन देशले धेरै पर्यटक पठाउँछ त्यै देशलाई आइसिसिको अध्यक्षमा सघाउछौं” । यसलाई मानिसहरुले हल्का अभिव्यक्तिका रुपमा लिए  ।

बहुसांस्कृतिक समाजको सवालमा अष्ट्रेलियाले संसारमै एउटा उदाहरणीय सफलता हासिल गरेको छ । यहाँ करिब २०० भन्दा धेरै मुलुकका मानिसहरुको बसोबास छ भने करिब ३०० भन्दा बढी भाषाहरु यहाँ बोलिन्छन् । त्यति मात्रै होइन, यो यहाँको आदिवासीहरुको भूमि हो ।अठारौं शताब्दीमा बेलायतबाट अतिक्रमित भूमि अष्ट्रेलियामा यहाँको सरकारले  आदिवासीहरु लाई सहयोग र शशक्तिकरण गर्नमा लागु गरिएको सफल नीति हाम्रोजस्तो बहुभाषिक बहु सांस्कृतिक राष्ट्र नेपालले अनुकरण गर्न सक्छ । यस्ता मामिलाहरुमा सम्बन्धित सरकारी तथा गैरसरकारी तहमा अध्ययन तथा तालिमको आयोजना तथा समन्वयको पहल  हाम्रो कुटनैतिक नियोगले गर्न जरुरि छ ।

झ्वाट्ट हेर्दा राजतन्त्र भए पनि अष्ट्रेलियाको शासकीय स्वरूप संघीय प्रणाली अनुरुप नै छ । संघीय लोकतान्त्रिक मुलुकको रुपमा भर्खरै प्रवेश गरेको नेपालले अष्ट्रेलियाले बिगत १२० वर्षदेखि प्रचलनमा आएको संघीयता, स्थानीय,  राज्य र केन्द्र सरकारबीचको समन्वय, श्रोत, साधानहरुको समानुपातिक वितरण जस्ता कुरा मामिलामा अष्ट्रेलिया र नेपालले साझेदारी गर्न सक्छ ।

त्यसै गरि सम्बृद्ध अष्ट्रेलियाको अर्को सफलता भनेको समाजवादी लोककल्याणकारी अर्थनीति पनि हो । यहाँका पूँजीपति र श्रमिक बर्गबीचको सन्तुलित सम्बन्ध र समन्वयका लागि अपनाएको नीतिका कारण अष्ट्रेलियाले अबलम्बन गरेको समाजवादी आर्थिक नीति पनि त्यत्तिकै सफल र उदाहरणीय छ ।  भ्रष्टाचार र दण्डहिनताले गाँजेको हाम्रो देशमा कानुनी राज्य, सुशासनका सवालमा अष्ट्रेलिया जस्तो बिकसित देशले अपनाएको नियम, कानुन र प्रबिधिको प्रयोग लाइ सिक्ने अवसरको व्यवस्था मिलाउनका लागि पनि पनि एउटा कुशल कुटनैतिक पहलको आवस्यकता पर्दछ ।

अष्ट्रेलियाको शैक्षिक संस्थाहरुमा अन्तराष्ट्रिय विद्यार्थी सप्लाईमा नेपाल लगातार गएको २ वर्षसम्म तेश्रो ठूलो मुलुक बनेको छ । आर्थिक बर्ष २०१९-२०२० मा अस्ट्रेलियाबाट नेपालका लागि प्रदान गरिने आर्थिक सहयोग करिब २३ मिलियन मात्रको छ  भने  नेपाली बिद्यार्थी हरुले अस्ट्रेलियन शैक्षिक संस्थाहरुमा शुल्कका रुपमा भुक्तान गर्ने रकम त्यो भन्दा कयौ गुणा बढी छ ।  त्यसै गरि २०१८ र २०१९ मा अष्ट्रेलियाको नागरिकता लिनेमा पनि नेपालीहरु आठौं स्थानमा पर्दछन । यसको मतलब, कलेज युनिभर्सिटीको फी तिरेर होस् या दक्ष जनशक्तिका रुपमा मानव शक्ति आपूर्तिको सवालमा होस् बहुसाँस्कृतिक अष्ट्रेलियन समाजमा नेपालीहरुको उल्लेख्य योगदान छ । नेपाली समुदायको योगदानले  हाम्रो कुटनीतिक नियोगलार्इ नेपाल र अष्ट्रेलियामा बस्ने  नेपालीहरुका हक, हित र कल्याणका पक्षमा पैरवी गर्न थप उर्जा मिल्ने छ ।

अष्ट्रेलियामा बढ्दै गरेको नेपाली नयाँ पुस्ता जो यहि जन्मे र माध्यामिक स्तरको शिक्षा पूरा गर्दै छन् उनीहरुलालाई नेपालका समकक्षीहरुसंग “ग्रुप एक्सचेन्ज प्रोग्राम” अन्तर्गत नेपालका विद्यार्थीहरुसंग घुलमिल तथा भाषिक, साँस्कृतिक तथा सामाजिक आदानप्रदान  भ्रमणको संयोजन गर्नु जरुरि भैसकेको छ । यास्तो खालको कार्यक्रमले अस्ट्रेलियामा हुर्केका हाम्रा नयाँ पुस्तालाई नेपाल प्रति अपनत्व प्रदान गर्नुका साथै मूलधार अष्ट्रेलियामा नेपाललाई चिनाउने दोश्रो पुस्ताका अवैतनिक दूतको रुपमा काम गर्न सक्ने नेपाली मूलका अस्ट्रेलियनहरुको संख्या दिनानुदिन बढ्ने छ ।

सकेसम्म आफ्नो समुदायद्धारा आयोजित विविध कार्यक्रमहरुमा उपस्थित भै अभिभावकीय भूमिका निर्वाह गरेको राम्रै हो तर प्राथमिकता चाहीँ होइन । एउटा राजदूतले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन उच्च प्राथमिकताका साथ मूलधार अष्ट्रेलियाको केन्द्रबिन्दु मै पुगेर काम गर्न सक्नु पर्दछ। तब मात्र देशले आवासीय राजदूतबाट अपेक्षित उपलब्धि हासिल गर्न सक्छ ।

यही सेरोफेरोमा अष्ट्रेलियाका महामहिम राजदूत महेश राज दाहाल संग संक्षिप्त कुराकानी गरेका थियौं । सरकारी स्तरिय भ्रमणदेखि नेपाल सिधा हवाई सम्पर्कका सवालमा आफूले अहोरात्र काम गरेको जानकारी दिंदै  यहाँ भने जस्तो सजिलो नभएको स्वीकार्नु भयो ।  गर्न सक्ने काम र गर्न पर्ने कामहरु धेरै छन् । अन्तराष्ट्रिय विद्यार्थीहरुका सवालमा अष्ट्रेलिया सरकार नेपालीहरुलाई हेर्ने दृष्टिकोणमा फरक छैन । अष्ट्रेलियाको ज्ञान शीप र प्रबिधिलाई कसरि नेपली भित्र्याउन सकिन्छ भन्ने क्षेत्रमा काम गरका छौं ।

लगानीका सवालमा पनि अष्ट्रेलियन लगानीकर्ताहरुलाई कसरि सुरक्षित लगानीको बिश्वास गराउनका लागि निकट भबिष्यमा  लगानी समिट गर्ने रहेको जानकारी महामहिम दाहाल ले दिनुभयो । नेपालमा अष्ट्रेलियन लगानीका क्षेत्रहरु खोज गर्ने, व्यापार घाटा कम गर्न नेपाली उत्पादनहरुलाई कसरि अष्ट्रेलियामा प्रवर्धन गर्न सकिन्छ भन्ने सम्बन्धमा काम गरि रहेको जानकारी दिनु भयो । यावत  सबै कामहरुमा यहाँ रहेका नेपाली डायस्पोरा र एनआरएनए संग सहकार्य गरिने जानकारी दिनु भयो ।

अन्त्यमा, हाम्रो नेपाली कुटनीतिक नियोग क्यानबेरास्थित आवासीय राजदूताबास स्थापना भएको करिब १२ वर्ष पुगेको छ । राजदूत सहित करिब आधा दर्जन कर्मचारीहरु कार्यरत छन् । “जसलाई तिर्खा लाग्छ उही खोला तिर धाउंछ” भने जस्तै हाम्रो अपार सम्भाव्यतालाइ सम्वृद्धिमा परिणत गर्न नेपालले अस्ट्रेलियाबाट धेरै कुरा सिक्नु छ । बिगतमा चीन र दक्षिण कोरियाले जापानबाट धेरै सिके र आज उनीहरु संसारकै सम्पन्न राष्ट्रको रुपमा आउन सफल भए ।  त्यसका लागि हामि आफैले पहल गर्नु पर्छ  बिषय बस्तुको  गहिराइसम्म दुई  देशबीचका विभिन्न अंगहरुमा समकक्षीय सम्बन्धको सुत्रधार निर्माण गर्न सकेमा मात्र हाम्रो दूतावास रहेको उपदेयता रहनेछ दुवै मुलुकहरुको पारस्परिक हितमा काम हुने छ। अपेक्षा गरौं हाम्रो कुटनैतिक नियोग आउँदा दिनहरुमा अलमलबाट माथि उठ्ने छ,  थप सकृय र रचनात्मक बन्ने छ । नेपाल अस्ट्रेलिया बीच थुप्रै सरकारी, गैर सरकारी तथा व्यसायिक आदानप्रदान कार्यक्रम संचालन हुनेछन् । अस्ट्रेलियन सम्वृद्धिको शुत्रको  केहि अंशमात्र  भयपनी प्राप्त गर्न नेपाल सफल हुने छ र अष्ट्रेलियामा नेपालीहरुले आफ्नो दूताबास प्रति गर्व गर्न सक्ने अभिभावकीय भूमिका निर्वाह गर्न सक्षम हुने छ ।