फेसबुकले अष्ट्रेलियामा समाचारमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, फाल्गुन ११, २०७७

सिड्नी– फेसबुकले अष्ट्रेलियामा समाचार सामग्रीमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने घोषणा गरेको छ ।

अष्ट्रेलिया सरकारले ल्याउन लागेको नयाँ कानूनको विरोधमा फेसबुकले अघिल्लो साता अष्ट्रेलियाका सञ्चारमाधयमलाई फेसबुकमा समाचार सामग्री सेयर गर्न रोकिदिएको थियो ।

अष्ट्रेलियाको प्रस्तावित कानूनमा फेसबुक र गुगलले मिडियाको सामग्री राखेबापत् मिडिया कम्पनीलाई पैसा तिनुपर्ने व्यवस्था छ ।

यता फेसबुकले भने आफ्नो समाचारको पहुँच बढाउन प्रकाशकले नै फेसबुकमा समाचार सेयर गर्ने गरेकोले पैसा तिर्ने कानून ल्याउन नमिल्ने बताएको छ ।

अष्ट्रेलियाका अर्थ मन्त्री जोस फ्राइडेनबर्गले केही दिनमा फेसबुकले ती पेजहरु खोल्न अनुमति दिने बताएका छन् ।

मंगलबार प्रकाशित एउटा वक्तव्यमा उक्त कानूनमा केही परिवर्तन ल्याइने जानकारी दिएका छन् भने फेसबुकले पनि मंगलबार अष्ट्रेलियाको सरकारसँगको पछिल्लो छलफलमा आश्वासन मिलेको बताएको छ ।

‘हामीले छानेका साना तथा स्थानीय तहका प्रकाशकलाई हामीले सहयोग गर्न सक्ने वातावरण सिर्जनाका लागि सहमति भएको छ,’ फेसबुकमा समाचार साझेदारीका उपाध्यक्ष क्याम्पबेल ब्राउनले भनेका छन् ।

फेसबुकको आफ्नो शोकेस उत्पादन छ, जसमार्फत यसले मिडिया संस्थालाई आफ्नो सामग्री प्रकाशित गरेबापत रकम भुक्तानी गर्छ ।

यद्यपि, अष्ट्रेलियाली सरकारले भने फेसबुकमा सेयर र पोस्ट भएका समाचारका लिङ्कका लागि पनि भुक्तानी माग गरिरहेको छ ।