बगरकाे मन

-- उत्तम विचार / प्रकाशित मिति : बिहिबार, अशोज २२, २०७७

घरमा एक हुल बच्चाहरू पाहुना आएका छन् । मानौं कि आज बगरको घरमा कुनै भोज भतेर हुनेवाला छ । वास्तविकता भने अर्कै भैदिन्छ । छिमेकी किनारको घर बाढी पसेर जलमग्न बनेदेखि किनारको घरमा डर, त्रास र अशान्ति छाएको छ । कतिखेर घर बग्ने हो भन्ने चिन्ताका माझ सुरक्षित रहुन् भनि बच्चालाई बगरको घरमा पठाएर किनार र उस्की श्रीमती कतै अग्लो ठाउँमा बसेर बाढी घट्ने प्रतीक्षामा छन् ।
बच्चाहरूको मुखबाट आफ्नो घरमा बाढी पसेको कुरा सुनेर बगरका बुढाबुढीको मनमा अरू दया जागेर आयो र उनीहरूका बाबुआमालाई पनि यतै बोलाएर ल्याउन भनियो । बाबु बगरले माने पनि उस्की श्रीमतीले मानिन । ऊ आफूलाई छिमेकी सुख्खा बगर भन्दा सधैँ रसिलो, पोसिलो र हुनेखाने ठान्दथी । यही अहमका कारण बगरका परिवार नदी किनारमा कपडा धुन र नुहाउन आएको उसलाई कत्ति मन पर्दैनथ्यो । तै पनि एकै कुवाका भ्यागुता भनेझैँ एकै नदीका बगर र किनार त सधैँ मिल्नुपर्छ । के थाहा किनारमा आउने बाढी भोलि बगरसम्म नपुग्ला भन्न सकिन्न । एक आपसमा सहयोगी भावना हुनुपर्छ भनि सधैँ सकरात्मक सोच राख्थे बगर र उसकी श्रीमती ।
लगातारको वर्षा बल्लतल्ल चार दिनपछि मत्थर हुँदै गयो र पानीको मात्रा घटेपछि हस्याङ फस्याङ गर्दै आफ्ना बच्चाहरू लिएर घरतिर फर्की किनारकी श्रीमती । बगरको परिवारले लगाएको गुन र सद्भाबका लागि धन्यवादसम्म भन्न भ्याईन उसले ।
सिक्काको दुई पाटा भनेझैँ सुख पछि दुःख अझ भनौँ दिन पछि रात जस्तै वर्षा पछि हिउँदे खडेरी मौसमका कारण बगरको घरमा गर्मीको धूप यति बढ्यो कि बसिसाध्यै भएन । बगरले आफ्ना छोराछोरीलाई किनारको शीतल घरमा बस्न पठाए । उनीहरूलाई देखेर किनार खुसी हुँदै उनीहरूलाई आफ्ना बच्चा सरह माया र प्यार बाड्न थाल्यो । जुन कुरा उसकी श्रीमतीलाई एकरत्ति मन परेको थिएन । अर्काको मुख चाटेर मुखभरी रौँ भनेजस्तो, कम छे त्यो बगरकी श्रीमती सक्दिन म यो महँङीमा अर्काका चिल्कटा स्याहार्न । यस्तै यस्तै भन्दै फतफताई रहेकी श्रीमतीलाई सम्झाउँदै किनार भन्दै थिए, बिर्स्यौ बर्खाको बाढी र उनीहरूले लगाएको गुन । उनी थप्दैथिइन्, भो छोड त्यो त्यस्को लोलोपोतो मात्र हो ।
यी सबै कुरा सुनेर बगरका बच्चाहरू सुतिरहेको समयमा सुटुक्क भागेर आफ्नो घर आए र सबै कुरा बाबुआमालाई सुनाए । उनीहरूले ठिकै छ गर्मी दुईचार दिनमा कसो नहट्ला । म व्यवस्था मिलाउँछु भने बाबु बगरले र आमाले पनि उसै भनिन् ।
भोलिपल्ट बिहानै ढोका खोल्दा पिँढीमा किनारका बुढाबुढी निन्याउरो मुख लगाएर बसेका देखेर बगरकी श्रीमतीले भनिन् भित्रै हिँड्नुस् न किन बाहिर बस्नु भाको भन्दा किनारका बुढाबुढी दुबैले उनको खुट्टा समाउँदै भने हामीलाई माफ गरिदिनुस् हामी एकै कुवाको भ्यागुता नमिलेर सुखै छैन । अब त्यो घर तपाईंहरूको पनि अनि यो घर हाम्रो पनि भने । यस्तो मिलनको कुरा सुनेर बगरका बच्चाहरू किनारतिर दगुरे ।
लाग्थ्यो मौसमी तापक्रम नघटेपनि सद्भावको दूरी कम भएको होस् ।