बालबालिकालाई निगरानि गर्ने युट्युबको नयाँ फिचर

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, चैत्र ३०, २०७७

आफ्ना छोरा–छोरीले युट्युबमा के–के सामाग्रीहरु हेर्छन् भन्ने कुरा अभिभावकले नियन्त्रण तथा निगरानी गर्न सक्ने गरी युट्युबमा एक नयाँ फिचर ल्याउने भएको छ । युट्युब किड्स एप प्रयोग गर्न नचाहने र युट्युबको मुख्य एपकै प्रयोग गर्ने किशोरावस्थाका बच्चाबच्चीहरुलाई लक्षित गर्दै युट्युबले उक्त नयाँ फिचर ल्याएको बताइएको छ । बालबालिकालाई लक्षित गरिएको युट्युब किड्स एपका सामाग्रीबाट पनि चित्त नबुझाउने र परिपक्व भैनसकेका कारण मुख्य एपका सबै सामाग्री समेत हेर्न दिनु उपयुक्त नहुने अवस्थाका हुर्केका केटाकेटीहरुका लागि उक्त फिचर उपयोगी हुने बताइएको छ ।   युट्युबको मुख्य एप प्रयोगका लागि १३ वर्षको उमेर पुगेको हुनु पर्दछ र त्यसभन्दा कम उमेरका केटाकेटीका लागि युट्युब किड्स नामक छुट्टै एप उपलब्ध छ । आफ्नो पछिल्लो घोषणामा युट्युबले जनाए अनुसार आगामी दिनमा युट्युबले एक नयाँ फिचर सुरु गर्नेछ, जसले सुपरभाइज्ड गुगल अकाउन्टको माध्यमबाट अभिभावकहरुले आफ्ना छोराछोरीलाई युट्युबमा पहुँच उपलब्ध गराउन तथा हेर्ने सामाग्रीमाथि नियन्त्रण र निगरानी गर्न पाउनेछन् ।