बिराटनगर–जनकपुर यात्रा

-- मधुसूदन पाण्डेय / प्रकाशित मिति : शुक्रबार, साउन ३०, २०७७

निकै लामो समयदेखिनै बिराटनगर जाने इच्छा थियो । समयले पनि साथ नदिएको हैन तर किरणले संगै जाउंला एक्लै नजानुस भनेकिले उनको समय मिलाउँदैमा एकदशक त यत्तिकै बितेछ । राजादेखि रंकसम्म सबै समयको दास छ । चाहंदैमा पनि हुंदैन, नचाहेर पनि हुंदैन । समयले हामी दुबैलाई २०७४ साल असोजमा मात्रै एकै ठांउमा उभ्यायो । दसैं तिहार जस्ता महत्वपूर्ण चाडहरू पनि सकिएका थिए र मधेसको उखरमाउलो गर्मीले पनि पाँच छ महिनाका लागि बिदा लिंदै थियो । मधेसमा गर्र्मी महिनामा चालीस डिग्री तापक्रम नांघ्छ । त्यसैले त्यो क्षेत्रमा यात्रा गर्न सकिंदैन । जाडो याममा पनि सकिंदैन सित लहर चल्छ र वर्षा याममा पनि बाढी र डुबानका कारण खतरा नै रहन्छ । त्यसैले मधेसको अनुकुल यात्राको समय भनेकै असोज, कार्तिक र मंसिरसम्म मात्रै हो ।

समय तोक्ने र यात्रा खर्चको बन्दोवस्तिको जिम्मेवारी किरणको काँधमा सुम्पें र मैले गाइडको जिम्मेवारी बहन गर्ने भएँ । उनले असोज सोह्रदेखि बाइस गतेसम्मका लागि आफ्नो अनुकुल समय भएको बताएपछि सत्र गते जाने र बाइस गते फर्किने गरी श्री एयर लायन्सको काठमाडौं–बिराटनगरको दोहोरो टिकट लिइयो र प्रस्थान गर्यौं । काठमाडौंमा जहाज चढ्दा अठ्ठाइस डिग्री तापक्रम थियो भने बिराटनगर ओर्लिंदा चौंतिस डिग्री थियो । काठमाडांैका मान्छेका लागि त्यो धेरै नै हो ।

 

बिराटनगर बिमानस्थलमा ओर्लिने बित्तिकै एउटा रिक्सा आइपुयो । रिक्सा देख्नासाथ मलाई किन हो किन हो चढुं चढुं लाग्छ । मजदुरको श्रम र पसिनाको कदर गर्ने ब्यक्ति भएकाले पनि हुनुपर्छ त्यस्तो लागेको । टेक्सी र अटो रिक्सा त मेरा लागि मधेसमा बैकल्पिक सवारी हुन् । तर के गर्नु आजभोलि त रिक्साको स्थान तिनैले ओगटी सकेछन् । त्यो रिक्सालाई मैले केहि नभनी कोइराला निवास चलो मात्रै भनें र हामी भाउताउ केहि नगरी बस्यौं । उसले शरीर तन्काउँदै चुईं चुईं रिक्साका पैडल घुमाउन थाल्यो । वास्तवमा हामीलाई कोइराला निवास जानु थिएन, जानु त होटेल थियो । बसिसकेपछि उसले आफै कहाँसे आया ? कहां ठहरेंगें ? कितने दिन यहां रहेंगें ? कहांके रहनेवाले हो ? जस्ता प्रश्न गर्दै गयो । मैंले जवाफ दिंदै गएँ र एउटा राम्रो होटेलमा लैजाउ भनें । उसको सकल देख्दा लगभग मेरै उमेरको होला भन्ठानेर मैंले बाबा भन्दै गएको थिएं तर उमेर सोध्दा त म भन्दा चौध वर्ष कान्छो पो रहेछ । त्यसपछि मैले उसलाई भैया भन्नथालें । बालबच्चा सोध्दा आधा दर्जन बतायो । जर्दा, पान, खैनी, सुपारीका कारण किसुन जीका दाँतलाई माथ गरेका थिए उसका दाँतले । राम्रो पेन्टरले मिहिनेतका साथ कालो रंगले पेन्ट गरेका जस्ता देखिन्थे । खुट्टाका कुर्कुच्चा रोपाई गरेको खेतमा लामो समयसम्म पानी नपर्दा फुटेर जस्तो देखिन्छ त्यस्तै देखिन्थे । तालुको रौं जति सबै झरेर बृक्षारोपण गर्नु पर्ने नाङ्गो डाँडो जस्तो देखिन्थ्यो । जीउमा एउटा गञ्जी मात्र थियो । त्यो हेर्दा लाग्दथ्यो त्यहि धुने समय समेत उसले महिना दिनदेखि पाएको छैन । धोती पाँच ठाउँमा च्यातिएको थियो । रिक्सा पनि कवाडीलाई बेच्नु पर्ने अवस्थामा पुगिसकेको थियो । आम्दानीको श्रोत सोध्दा त्यहि रिक्सा बाहेक अरू केहि नभएको बतायो । उसका कुरा सुन्दा सुन्दै यता मेरा आँखा रसाए । त्यति बेरमा उसले हामीलाई एउटा ठिक्कैको होटेलमा लग्यो । हामी ओल्र्यौं र एकसयको नोठ दिएँ । उसले पचहत्तर रूपैंया फिर्ता दिंदै थियो । मैंले भनें पर्दैन । तिमीनै राख । त्यतिबेला मैंले निकै राम्रोसंग उसको अनुहार नियालें । उसको अनुहारमा खुसीले सीमा नांघेको थियो । त्यसैबेला मैंले कालो टैंकीमा पैसा लुकाउने नेता सम्झें । लाउडाको लफडा सम्झें । आफूमन्त्री हुँदा छोरी ज्वाइँलाई वंगलादेशबाट नेपाल ल्याएर कल बाइपास गर्ने मेलो मेसो मिलाइदिने नेतृलाई सम्झें । महान सर्वहारा नेताका रहन सहनदेखि क्यान्टोनमेन्टका लडाकुका नामको रकम हिनामिना जस्ता घटना सन्झें । खुमबहादुरलाई सम्झें । बिजय गच्छदार सम्झें । जयप्रकाश गुप्तालाई सम्झें । चिरञ्जिबी वाग्लेलाई सम्झें । डि बी लामा र भरत गुरूङ्गलाई सम्झें अनि मनमनै थुक्क भनें ।

एकातिर दीन दुःखीलाई सानो कुराले पनि मुखमा मुस्कान छर्दो रहेछ भने अर्कातिर राजनीतिका माहिर खेलाडीहरूलाई भने जतिले पनि पुग्दैन । कस्तो बिडम्वना ? राजनीति चांहि तिनकै लागि गरिरहेकाछौं भन्ने तर काम चांहि आफ्नालागि मात्र गर्ने । तिनकालागि माखो नमार्नेलाई थुक्न नभनेर कसलाई भन्ने ?

त्यो रेक्सावालाले लगेको होटल राम्रै रहेछ । सेवा सुबिधा र सरसफाई पनि राम्रै रहेछ । हामी जाँदासाथ नुहाई धुवाइ गर्यौं र बेलुकापख अलि सितल भएपछि पैदलै घुम्न निस्क्यौं । सोध्दै सोध्दै कोइराला निवास गयौं । प्रहरीसंग सोध्दा शेखर जी बस्नुहुन्छ तर अहिले कतै जानुभएको छ भन्ने जानकारी पायौं । त्यसपछि दुई चार स्न्याप फोटो लियौं र बाहिरियौं । साँझैसम्म बजार घुम्यौं अनि रिक्सा लिएर होटल फर्क्यौं ।

भोलिपल्ट हामीले होटलको मैनेजरसंग त्यहाँका घुम्नलायक ठाउँका बारेमा सोध्यौं । उनले केहि ठाउँका बारेमा जानकारी गराए । हामीलाई जोगबनी घुम्ने रहर थियो । बिहानको चिया नास्ता गरेर अटोरिक्सा लिएर त्यतैतिर लाग्यौं ।

जब जब मेरो दिमागमा जोगबनीको स्मरण हुन्छ तब मैंले अठार उन्नाइस वर्षको छँदा एकजना उट्पट्यांग खाले दाजुले सुनाएको जोकको याद आउँछ । उनले सुनाएको जोक ब्रिटिशकालिन भारतको हो । त्यतिबेला जोगबनी क्षेत्रमा हरेक प्रकारका तस्करी हुने गर्दो रहेछ । त्यो तस्करी रोक्नका लागि जतिपनि सुरक्षा प्रमुखहरू खटिएर जान्थे ती सबै नाकाम भएर फर्किन्थे । एकपटक गएको ब्रिटिश अफिसरले सिभिल पोशाकमा छ्याप्छ्याप्ति प्रहरी खटाएछ । उसले पठाएको एकजना बिहारी सिपाहिले फिल्डमा जे देख्यो आफुले जानेको अंग्रेजी र हिन्दी भाषामा अफिसरलाई यसरी बताएछ –“सर ! ह्वेन आइवाज इन जोगवनी बजार, देयर हमने देखा, पिपुल्स वेयर सेलिंग गेहुँ सिड्स, धोधो करके इन द ओपेन मार्केट ।”

कुरा के रहेछ भने बिहार एरियामा पाकेको गहुँमा गाईबस्तु गएर चर्दा रहेछन् र तिनको गोबर गरिब किसानहरूले टिपेर लगि पानीमा धोएर गहुँ जति निकाली हाटबजारमा लगेर बेच्दा रहेछन् । त्यहि दृष्य देखेको त्यो सिपाहिले आफ्नो हाकिमलाई जानी नजानी अंग्रेजी र हिन्दी मिसाएर बताएको जोक होरे त्यो ।

बिपी कोइरालाले बिराटनगरबाट घोडा चढेर जोगवनीसम्म हामी पत्रीका किन्न जान्थ्यौं भनेको पनि मलाई अझैसम्म सम्झना छ । मेरो दिमागले जोगबनीका बारेमा जो स्केच कोरेको थियो त्यसलेपनि एकपटक जानै पर्छ भन्ने मनलागेको थियो तर त्यहाँ पुग्दा भने भैदियो ठिक उल्टो । मेरो कल्पनाको सुन्दर, स्वच्छ हराभरा जोगबनी त सडकैभरी ढल बग्ने, धुलाम्मे सांघुरा सडक, दुर्गन्धै दुर्गन्धले नाकमुख छोप्नुपर्ने, भिडभाडयुक्त जोगबनी पो रहेछ । त्यो देख्दा धेरैबेर घुम्नैमन लागेन र दुई चार स्न्याप फोटो खिचेर एकघण्टामैं बिराटनगर फर्कियौं ।

जोगबनीबाट हामी सरासर होटेल फर्कियौं र खाना खाएपछि होटलको मैनेजरसंग यहाँका घुम्नलायक ठाउँहरू केकेहुन् बताइदिनुस भनेपछि उसले अरूत यहाँ घुम्नलायक त्यस्तो ठाउँ खासै केहि छैन । एउटा पार्क छ । त्यहिँ जानुस भन्दै एउटा पार्कको नाम लियो जो बिगतमा एउटा पेष्टिसाइड कारखाना भएको स्थान थियो । हाल त्यो कारखाना बन्द भएपछि त्यसका मालिकहरूले त्यसै स्थानलाई पार्कका रूपमा बिकसित गरि त्यसैभित्र बातानुकुलित रेष्टुरेन्ट, काठमाडौंको २०७२ सालको भुकम्पमा भत्केको धरहरा लाई बिर्साउने मिनी धरहरा, हावा महल र स्विमिंगपुल निर्मांण गरेका रहेछन् । होटलबाट हामी रिक्सा लिएर सरासर त्यहिं गयौं र दिनभरी त्यहिं बिताएर बेलुकातिर होटल फर्कियौं । ठाउँ राम्रै रहेछ । प्रवेश शुल्कपनि राखेको रहेछ तर मैले मेरो पास देखाएपछि निःशुल्क प्रवेश गर्न दियो ।

बिराटनगरमा घुम्ने काम सकिएपछि बीस गते बिहान हामी बसबाट जनकपुरका लागि प्रस्थान गर्यौं । जनकपुर मेरालागी नौंलो थिएन । दुईपटक पुगिसकेको ठाउँ हो । किरणका लागि भने नौलोनै थियो । बसले जनकपुर बसपार्क ओराले पछि मैंले आफ्नो पुरानै रूचि अनुसार रिक्सा खोजें । खोजें पनि नभनौं रोजें । किनभने पेसेन्जरका लागि तानातान गर्न आउने रिक्सा चालक बाटै मैंले गरिब र मरन्च्याँसे जस्तो देखिने एकजनालाई रोजें र उसैको रिक्सामा गएर बसें । रिक्सा चालकसंग मोलमोलाई गर्न मलाई मनै लाग्दैन । बिचराहरू मधेसको चर्को घाम, बर्षातको झरी, शिशिरको जाडो नभनी पेटका लागि पसिना बगाउँछन् । त्यस्तासंग केको मोलमोलाई ? असाध्यै बढिमागे दस बीस रूपैया माग्ने हुन् । काठमाडौंमा जस्तो एकसय नउठने ठाउँका लागि तीन चार सय माग्ने निर्लज्ज टेक्सी ड्राइबर जस्ता त त्यहां भेटिंदैनन् । प्यासेन्जरले जाउँ भनेको ठाउमा जान्न भन्ने फटाहा ट्याक्सी ड्राइभर जस्ता पनि त्यहां भेटिदैनन् । पेशाप्रति इमान्दार छन् । पाप र धर्मको ख्याल गर्छन् । नचाहिंदो भाडा लिए पाप लाग्छ भन्ने धारणा उनीहरूमा अझैपनि पाइन्छ । यहाँका ट्याक्क्सी ड्राइभरमा त पाप–धर्मको पनि ख्याल छैन । इमान्दारिता र नैतिकताको पनि ख्याल छैन । सहयोगको भावना पनि छैन् । पैसापाए पुग्छ ।

रिक्सावाला लाई मैंले राम्रो होटलमा लैजाउ भने । उसले रामजानकी मन्दिरमा बिहान बेलुका दर्शन गर्न पैदलै आउन जान पनि मिल्ने र दर रेट पनि ठिक्कैको होटलमा लग्छु हजुर चिन्ता नलिनुस भन्यो । हामीले स्विकृति जनायौं । उसले जहाँ लग्यो राम्रै होटलमा लग्यो र मन्दिर दर्शन गर्न जाँदा पैदल पाँचमिनेट भन्दाबढि पनि नलाग्दो रहेछ । कस्तो इमान्दार रिक्सा चालक ?

ए .सी .वाला होटल । भाडादर पनि राम्रै लाग्यो र त्यसमैं बस्ने भयौं र रिक्सावालालाई बिदा गर्यौं । असोजको महिना भएपनि गर्र्मीं निकै थियो । सर्वप्रथम स्नान गर्यौं अनिमात्रै केहि खानका लागि बाहिर तिर लाग्यौं । त्यो दिन कतै घुम्ने मन भएन । बेलुकीपख बाह्रबिघा मैंदान घुम्यौं र रामजानकी मन्दिर परिसरमा दुईघण्टा भन्दा बढि समय बिताएर होटलमा गयौं । जनकपुर कहिल्यै सफा सुघ्घर नहुने सहर मध्येमा पर्दछ । सडकैभरि नालीबाट निस्किने फोहोर र दूर्गन्ध, बाह्रैमास लामखुट्टे लाग्ने, बर्षातको समयमा डुवान् हुने, बाह्रैमास लाउड स्पिकरमा बज्ने कर्कश स्वर सुनिने, जताततै पानखाएर पिच्च पिच्च थुकेको रगत जस्ता राता दाग देख्दा मिथिला संस्कृति माथि गर्व गर्नेहरू नै लज्जित हुँदा हुन् । मधेस आन्दोलनका समयमा पहाडे समुदाय माथि सबैभन्दा बढि आक्रमण भएको सहर पनि जनकपुरनै हो जो आज भित्र भित्रै पश्चातापमा जलेको छ र त्यहाँबाट माइग्रेट भएका पहाडेहरूलाई फर्किन अनुरोध पनि गरिरहेको छ । बगेको खोला पनि फर्किन्न र गुमेको बिश्वास पनि फर्किन्न । त्यस्तै भएकोछ जनकपुर आज ।

भोलिपल्ट बिहानै हामी नित्यकर्म सकेर मन्दिर दर्शन गर्न गयौं । त्यसपछि चिया नास्ताका लागि निस्कियौं । चिया नास्ता पछि फेरी एउटा रिक्सा लियौं र त्यसैलाई चार घण्टाका लागी रिजर्व गरेर घुम्नलायक ठाउँ जति घुमाउन भन्यौं । त्यसले जनकपुरका घुम्नलायक ताल तलैया, मठ मंदिर, बजार क्षेत्र सबै धुमायो र एक बजेतिर होटलमै फिर्ता ल्यायो । नुहाई धुवाई गरेर हामी आराम गर्यौं । साँझपख पुनः मन्दिर दर्शन गर्न गयौं र त्यतैबाट खाना खाईवरी होटल फर्कियौं । भोलि हाम्रो काठमाडौंका लागि फिर्ति टिकट थियो । अघिल्लो दिनकै रिक्सालाई भोलि बिहान सातबजे बसपार्क पुर्याउन आउनु भनेका थियौं । इमान्दार रिक्सावाला रहेछ भनेकै समयमा भोलिपल्ट आइ पुग्यो र बसपार्क पुर्यायो । चारबजे अगावै हामीलाई बिराटनगर पुग्नु थियो र पुग्यौं पनि । पाँचबजे हामी श्री एयरको फ्लाइटबाट काठमाडौं प्रस्थान गर्यौं । यसरी पाँच दिनमा हाम्रो मधेश यात्राले पूर्णबिराम लियो ।