भर्चुअल करातेमा नेपाललाई दुई स्वर्ण

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शनिबार, कार्तिक १५, २०७७

काठमाडौं- भर्चुअल कराते वर्ल्ड च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण पदक जितेको छ ।

नेपालका लागि नीता आचार्य र सोनिम मानन्धरले स्वर्ण जित्न सफल भएका हुन् ।

नेपालले उक्त प्रतियोगितामा एक रजत तथा सात कास्य पदक प्राप्त गरेको छ ।

नेशनल कराते अफ ब्राजिलको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको अनलाइन काता च्याम्पियनसिपमा १३ वर्षदेखि २१ वर्षसम्मको समूहमा आचार्यले २४ दशमलव ७० अंक प्राप्त गर्दै स्वर्ण जित्नुभएको हो ।

उहाँले ब्राजिलकी क्यारोलिन एजोभेदोलाई पराजित गर्नुभएको प्रशिक्षक रवीन्द्र मानन्धरले जानकारी दिनुभयो ।

इन्डोनेसिया र भारतका खेलाडी तेस्रो भए ।

यस्तै पुरुषतर्फको सोही स्पर्धामा नेपालका मानन्धरले २४ दशमलव ९६ अंक प्राप्त गर्दै स्वर्ण जित्नुभयो ।

उहाँले भारतीय खेलाडी सायक कमाकरलाई पराजित गर्नुभएको हो ।

क्युबा र ब्राजिलका खेलाडी तेस्रो भए ।

यस्तै महिला १४ वर्षदेखि १५ वर्ष उमेर समूहमा नेपालका सञ्जु देसारले २५ दशमलव ३१ अंकका साथ रजत पदक प्राप्त गर्नुभयो ।

स्पर्धामा इन्डोनेसियाकी नविला सकिलालिनोमले २५ दशमलव ३५ अंकसहित स्वर्ण जित्नुभयो ।

रुस र ब्राजिलका खेलाडी तेस्रो भए ।

यसैगरी पुरुष आठदेखि नौ वर्ष उमेर समूहतर्फ सत्कार घर्ती मगरले कास्य पदक प्राप्त गर्नुभयो ।

स्पर्धामा भेनेजुएलाका खेलाडीले स्वर्ण तथा इन्डोनेसियाका खेलाडीले रजत प्राप्त गर्नुभयो ।

विभिन्न स्पर्धाका नेपालका दीपिका सापकोटा, अनुभा मङ्गर्ती, मिस्ली श्रेष्ठ, राजकुमार श्रेष्ठ र रवीन्द्र मानन्धरले कास्य पदक प्राप्त गर्नुभयो ।