भेटिन्न झैँ डाक्टर !

-- उत्तम विचार / प्रकाशित मिति : आइतवार, चैत्र ८, २०७७

हे हावा ! तँ उडा बताससरि भै आँधीहुरी वेगमा
राख्नै हुन्न उडा विकार मनका होस् सिघ्र संवेगमा ।
छन् फोहोर धुवाँ धुलो पवनमा लाग्दो छ औधी डर
मेरो देश थला पर्यो ग्रसित भै भेटिन्नझैँ डाक्टर ।।१।

हे पानी ! तँ बगा बगा नदनदी झर्ना बनी बेसरी
राख्नै हुन्न बगा प्रदूषण सबै उर्लेर बाढीसरी ।
टार्छन् भोलि भनी भने स्वजनले कर्तव्य सम्झन्छ र
मेरो देश थला पर्यो ग्रसित भै भेटिन्नझैँ डाक्टर ।।२।

हे माटो ! तँ चला सुवास मनमा फक्रेर गोदावरी
छातीमा तँ फला अनाज रसिला दाना अनेकौँ धरी ।
इच्छा व्यक्त गरेँ रह्यो मन मनै सुन्ने यहाँ को छ र
मेरो देश थला पर्यो ग्रसित भै भेटिन्न झैँ डाक्टर ।।३।

हे आगो ! तँ डढा डढा मनुजका के गर्नु ती कल्मष
राख्नै हुन्न डढा बली दनदनी होस् भस्म आहारिस ।
बन्ला राष्ट्र भनी पुकार गरियो बन्दो छ थोत्रो तर
मेरो देश थला पर्यो ग्रसित भै भेटिन्न झैँ डाक्टर ।।४।

हे आकाश ! खुला खुला बनिरहेस् बिर्सेर सास्तीहरू
लाग्ला बादल डम्म भै सगरमा छोपेर बस्तीहरू ।
छानो भै रहनू सदा अवनिमा साझा सबैको घर
मेरो देश थला पर्यो ग्रसित भै भेटिन्न झैँ डाक्टर ।।५।

(शार्दूलविक्रीडित छन्द)