मलेसियाविरुद्ध नेपाल विजयी

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, बैशाख ९, २०७८

काठमाडौं– काठमाडौंमा जारी त्रिकोणात्मक टी-ट्वान्टी प्रतियोगितामा नेपाल लिग खेलको विजेता हुँदै फाइनलमा पुगेको छ ।

नेपालले आज सम्पन्न लिगको अन्तिम खेलमा मलेसियालाई ६९ रनले हराएको छ ।

मलेसियाबिरुद्धको खेलअघि नै फाइनलमा स्थान सुनिश्चित गरिसकेको नेपालले लिगको अन्तिम खेलमा मलेसियालाई हराएको हो ।

नेपालले चार खेलबाट छ अङ्क जोडेको छ ।

लिगमा नेदरल्याण्ड्स बिरुद्धको एक खेलमा हार बेहोरेपनि पहिलो खेलमा नेदरल्याण्ड्सलाई नौ विकेटलाई हराएको नेपालले मलेसिया बिरुद्धको दुबै खेल जितेको हो ।

नेपालले प्रस्तुत गरेको २१८ रनको लक्ष्य पछ्याउँदै मलेसियाले १९ ओभर एक बलमा मात्र १४८ रन जोडन सक्यो ।

त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा नेपालले पुरा २० ओभर खेलेर सात विकेटको क्षतिमा २१७ रनको योगफल तयार गरेको थियो ।

ओपनर आशिफ शेष, कप्तान ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी र करण केसीले विष्फोटक इनिङ खेलेपछि नेपालले विशाल योगफल तयार गर्न सफल भयो ।

यसअघि नेपालले नेदरल्याण्ड्स बिरुद्धको खेलमा २०६ रन बनाएर दोस्रो सर्बाधिक योगफलको कीर्तिमान बनाएको थियो ।

तर उक्त खेल नेपालले तीन विकेटले हार्न पुग्यो ।

नेपालको इनिङमा ओपनर शेषले मात्र ३२ बलमा तीन चौका र तीन छक्कासहित ४२ रन बनाए ।

कप्तान ज्ञानेन्द्र मल्लले २५ बलमा एक चौका र चार छक्काको सहयोगमा ४१ रन तथा दीपेन्द्रसिंह ऐरीले १७ बलमा ३३ रनको योगदान दिए ।

करण केसीले १३ बलमा सात छक्कासहित ४५ रनको इनिङ खेलेपछि नेपालले उत्कृष्ट अन्त्य दिन सफल भयो ।

कुशल मल्ल दश बलमा १९ रन बनाएर अविजित रहे ।

मलेसियाका लागि फित्री शाम, अनवर रहमान र सैएद अजिजले सामान दुई दुई विकेट लिए भने मुहम्मद वफिकले एक विकेट लिए ।