मेल मिलापको वर्ष बनोस् – नयाँ वर्ष

-- सम्पादकीय जनवरी अंक २०१८ / प्रकाशित मिति : बिहिबार, पुस २७, २०७४

हुन त हाम्रा आफ्नै ऐतिहासिक महत्व बोकेका एक भन्दा धेरै चलन चल्तीका सम्बतहरु छन् । चलन चल्ती बाहेकै नेपालमा नियम कानुन र प्रशासनिक रुपमा हामी सबैले स्विकार गरेको सम्बत हो बिक्रम सम्बत  । त्यसो त बिक्रम सम्बत कै बिरोधमा आबाजहरु नसुनिएका पनि होइनन, त्यसैले कामना गरौ बिरोधको लागि बिरोध गर्ने हाम्रो नियति नबनोस् । तर हामीले यहाँ उठाउदै गरेको नयाँ वर्षको प्रसङ्ग अझ भिन्न हो । संसार भर चलेको र संसारले मानेको इस्बी सम्बत २०१७ लाई बिदा गर्दै हामी २०१८ मा छौं ।  बदलिदो बिश्व प्रबिधि सँग अभ्यस्त आजको हाम्रो पुस्ता जसले जे भने पनि नेपाल मै पनि इस्बी सम्बतको समयचक्र संगै आँफूलाई अभ्यस्त बनाएको छ, अझै हामी जस्ता प्रबासमा रहेकाहरुको लागि त यो महत्वपूर्ण नहुने कुरै भएन ।  यो महत्वपूर्ण समयमा २०१७ लाई फर्किएर हेर्दा बिश्व, गएका वर्षहरु भन्दा तुलनात्मक रुपमा शान्त नै रह्यो अलिकति शक्ति केन्द्र हुने होड, हतियार, धार्मिक र राजनीतिक अतिबादीहरु का कारण केहि दुःखद घटनाहरु पनि घटे ।

फेरि पनि हाम्रो प्रसङ्ग अलिकति फरक छ किनकि हर परिघटनाहरु संग हामी हाम्रै देश, हाम्रै जन्मभूमि जोड्ने गर्छौ । त्यसैले पनि  २०१७ नेपालको लागि पनि निक्कै महत्वपूर्ण वर्षको रुपमा रह्यो ।  नयाँ संबिधान घोषणा संगै यसलाई सबैको अपनत्व गराउनु पर्ने र देश स्थायित्वतिर लाग्नु पर्ने राजनीतिक पार्टीहरुको दायित्वमा उनीहरु धेरै हदसम्म सफल रहे । यो अबधिमा देशमा स्थानीय निकायको निर्बाचन सम्पन्न भयो भने प्रतिनिधि सभाको निर्बाचन र हाम्रो बिल्कुलै नयाँ अनुभब प्रदेश सभाको निर्बाचन सम्पन्न भइ देश यति बेला नयाँ सरकार बन्ने प्रकृयामा छ ।

आशा गराैं २०१८ हाम्रो लागि अझ जादुमय बनोस्,  संबिधान कार्यन्वयनको दिशामा गइ रहेको यो राजनीतिक गति अझै सबै बीचको आपसी मेलमिलाप र सहकार्यले  स्थायित्व र बिकासको दिशामा अगाडि बढोस।  विगतमा राजनीतिक दलहरुबीच न्यूनतम सहमति नबन्दा, एउटाले अर्कोलाई कम मूल्याङ्कन गर्ने मात्र होईन समाप्तै पार्ने योजनामा अघि बढ्दा नेपाली जनताले रगत र पसिना बगाएर ल्याएका उपलब्धिहरु संस्थागत हुन नसक्ने हुन कि भन्ने  संशय यति बेला मत्थर भएको छ ।  आहिले जनताको अभिमत अनुसार अबको पाँच वर्ष स्थिर सरकार देशले पाओस देश राजनीतिक स्थायित्व हुँदै विकास निर्माण र जनजीविकाको विषयमा प्रवेश गर्न सकोस् । भ्रष्टाचार, अनियममितता, त्यो बाहेक सडक दुर्घटनादेखि लिएर सम्भावित लोड सेडिङ्गको संशय र अरु सयौं समस्यामा राजनीतिक दलले एक किसिमको प्रतिबद्दता लिउन ।   आशा गरौं नेपाली जनताको धैर्यशीलता र संयमितलाई २०१८ ले सम्मान गर्ने बाताबरण सत्तासिनहरुले बनाउन्  ।

अन्त्यमा, विगतमा गरेका गल्ति र कमजोरीहरुलाई आत्मसाथ गर्दै जनताको सम्मान गर्दै  सरकार हाक्ने र बिपक्षीमा रहने सबैबीच न्यूनतम सहमति होस् देश बिकास र सर्बोपरि हितलाई सबैले केन्द्रमा राखुन । हालैको निर्बाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र क्रमसः पहिलो, दोश्रो र तेश्रो दल बनेपछि सारमा हेर्दा शक्ति सन्तुलन तलमाथि परेको देखिए पनि लोकतन्त्र संघीयता, गणतन्त्र, राज्यको पुनःसंरचना लगायतका विषयहरु उठान गर्ने दलहरुकै दुई तिहाई भएको हुदाँ यि दलहरु राष्ट्रिय हितमा एक ठाँउमा उभिन सकुन् र अन्य साना दल र नागरिक समाजका सुझाबहरु लाई पनि समट्दै अगाडि बढ्नु जरुरी छ ।

फेरि पनि सहमति, सहकार्य र सह अस्तित्व स्वीकार्दै अगाडि बढ्न नया वर्ष २०१८ ले हामी सबैलाई प्रेरणा दिअाेस।  हामी देशमा हौं वा परदेशमा सहमति, सहकार्य र सह अस्तित्व स्वीकार्दै गर्दा हामी सबैले जित्नेछौ, हामी सबै मिल्न सकौं  , सुभ बनोस हामी सबैको नया वर्ष ।