एक्लिँदैछन् प्रधानमन्त्री

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, फाल्गुन २८, २०७६

दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला केही महिना यता पटक–पटक आलोचनाको शिकार बन्दै आइरहनु भएको छ । कहिले सम्पादकहरुको मुटु छैन भन्दै हल्का टिप्पणी गरेका कारण त कहिले वालुवाटारमा बाँसुरीवादन गरेका कारण उहाँले आलोचकहरुलाई आलोचना गर्ने राम्रो मौका प्रदान गर्दै आइरहेको छ । पछिल्लो पटक त उहाँले आफ्नो जन्मदिवस मनाउने क्रममा देखाउनु भएको तामझामले सामाजिक सञ्जाल उहाँको आलोचनामै भरिए । खासगरी नेपालको नक्साको आकारको केक काटेर उहाँ थप आलोचित बन्नु भयो ।

यी त भए प्रधानमन्त्रीको व्यक्तिगत आचरणका कारण विवाद तथा अफ्ट्यारोमा परिरहेका उदाहरणहरु । पछिल्लो समय त उहाँ आफ्नै पार्टी नेपाल कम्युनिष्ट पार्टी भित्रै एक्लिँदै गैरहेको अनुभव गर्न थालिएको छ ।

अर्थमन्त्री युवराज खतिवडालाई अर्थ मन्त्रीमा निरन्तरता दिने उहाँको एकल चाहनाका कारण उहाँ आफैं समस्यामा पर्दै गएको अनुभव गर्न थालिएको छ । खासगरी प्रधानमन्त्री ओलीको समुहभन्दा बाहिरका नेताहरुले बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्दै प्रधानमन्त्रीको बिकल्पको रुपमा प्रस्तुत गर्न थाल्नु तथा प्रधानमन्त्रीले पार्टीले गरेको निर्णय मान्दिन भन्नुलाई कतिपयले नेकपाको सम्भावित फूटकै रुपमा लिए ।

कतिपय राजनीतिक विश्लेषकहरु त प्रधानमन्त्री ओली आफ्नै घेराबन्दीमा पर्न थालेको समेत टिप्पणी गरेका छन् । अरुलाई सुन्दै नसुन्ने तथा अरुले भनेको कुरा मान्दै नमान्ने स्वभावका कारण उहाँ घेराबन्दिमा पर्न थाल्नु भएको हो । खासगरी ताप्लेजुङमा ठूलो तामझामका साथ जन्मदिन मनाएपछि उहाँ आफ्नै घेराबन्दिमा पर्नु भएको हो ।

पछिल्लो राजनीतिक वातावरण प्रधानमन्त्री ओलीका लागि कतिसम्म आलोचनात्मक बन्दै गएको छ भने उहाँका उखानटुक्काहरु समेत राजनीतिक बजारमा बिक्रि हुन थालेका छन् । भारतले लगाएको नाकाबन्दिको बेला ओलीले देखाउनु भएको राष्ट्रवादलाई समेत यतिबेला कतिपयले नाटकको रुपमा हेर्न थालेका छन् ।

आफैं अध्यक्ष रहेको पाटी नेकपाका कतिपय महत्वपूर्ण एजेन्डाहरुमा पार्टी निर्णयलाई नै नमान्ने उद्घोषका कारण पनि उहाँले आफ्नै निकटका नेता तथा कार्यकर्ताहरुको साथ गुमाउँदै गएको हो कि भन्ने अनुभव गर्न थालिएको छ ।

एकातिर प्रधानमन्त्री ओली एकल निर्णय गर्दै अघि बढिरहनु भएको छ भने अर्कोतिर उहाँकै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक सक्रियता ओलीका लागि प्रत्युत्पादक हुने सम्भावना बढ्दो छ । शायद यीनै कारणहरुले गर्दा प्रधानमन्त्री ओलीले पछिल्ला दिनहरुमा सहानूभूतिको राजनीतिक गर्न थालेको हो कि भन्ने अनुभव समेत गर्न थालिएको छ ।

अर्कोतिर प्रधानमन्त्रीको नेतृत्व नै फितलो हुन थालेको हो कि भन्ने समेत देखिन थालेको छ । सधैं सुशासन तथा भ्रष्टाचार विरोधी नारा लगाउँदै आउनु भएका प्रधानमन्त्री ओलीलाई उहाँकै निकटवर्ती नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँसकोटाको टेप प्रकरणले थप संकटमा पारिदिएको छ ।

उता, प्रभावशाली नेता बामदेव गौतमलाई राष्ट्रिय सभामा प्रवेश गराउने गरी नेकपाको सचिवालयले गरेको निर्णय मान्दिन भनेपछि प्रधानमन्त्री ओलीविरुद्धको आलोचनाको स्वर थप बलियो हुन थालेको हो । गौतम प्रकरणलाई कतिपयले प्रधानमन्त्रीलाई अधिनायकवादी शैलीबाट अघि बढ्नेको उत्कृष भएको समेत बताइरहेका छन् ।

दुई तिहाइको बहुमत दिएर गठन गराएको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा समृद्धि नै ल्याउने आम जनताको अनुमान थियो । किनभने देशले यसअघि यत्तिको बलियो सरकार नपाएको धेरै भैसकेको थियो । एकाध वर्ष टिक्ने अस्थिर सरकारका कारण आम जनतामै निराशा छाएको थियो । त्यसैले पनि यस पटक नेपाली जनताले एउटा दललाई विश्वास दिएर करिव–करिव दुई तिहाइ बहुमत दिलाएका हुन् । तर, अहिले आएर जनताले दिएको उक्त मतको सदुपयोग भयो कि दुरुपयोग भयो भन्ने कुुराकै विश्लेषण गर्नु पर्ने बेला आएको राजनीतिक विश्लेषकहरुको बुझाइ छ ।

प्रधानमन्त्री ओलीका अत्यन्त निकटमा रहेका तथा सर्वाधिक विश्वासपात्र मानिएका सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बाास्कोटाको विवादास्पद अडियो प्रकरणले भ्रष्टाचारमा वर्तमान सरकारको कार्यशैलीलाई मूल्यांकन गर्ने राम्रो अवसर प्रदान गरेको छ । यो प्रकरणले सोझै प्रधानमन्त्रीतर्फ नै विभिन्न जिज्ञासाहरु तेस्र्याइदिएको छ ।

त्यसो त सत्तारुढ दलका एक जना व्यक्तिका लागि संविधान नै संशोधन गर्नेसम्मको तयारी गरिरहेको घटना बाहिर आएको छ, यसका कारण नेकपा र सरकार दुवै आलोचित भैरहेका छन् ।

नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लगेर प्रधानमन्त्रीसमेत बनाउन मिल्ने गरी संविधान संशोधन प्रस्ताव गर्ने तयारी हुनु आफैंमा आश्चर्यजनक विषय हो । प्रतिनिधिसभामा पराजित व्यक्तिलाई प्रधानमन्त्री बनाउनका लागि राष्ट्रियसभामा मनोनयन गर्ने र प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्ने अभ्यास हुनु निकै नै गम्भीर विषय हो । संविधानको संशोधनको मुद्दा अघि सार्दा नेकपाका नेताहरू संशोधनको औचित्य सिद्ध गरेमा संविधान संशोधन गर्न सकिने भन्दै आएका छन् । तर अहिले संविधान संशोधनको विषय गौतमलाई प्रधानमन्त्री बनाउन बाटो खोल्नेबाहेक अन्य कुनै कारण देखिएको छैन । यसले गर्दा संविधान संशोधनको प्रस्ताव संविधानको प्रक्रियागत कुरालाई नेकपाले आफ्नो स्वार्थमा प्रयोग गर्न खोजेको मात्र देखिन्छ ।

विपक्षीको शरणमा प्रधानमन्त्री

आफ्नै पार्टी भित्र नै विरोध र घेराबन्दीमा परेपछि प्रधानमन्त्री ओली पछिल्लो समय प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुको शरण पर्न थालेका समाचारहरु सार्वजनिक भैरहेका छन् । केही दिनअघि मात्रै प्रधानमन्त्रीले कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालासंग गोप्य वार्ता गरेको समाचार समेत सार्वजनिक भएको छ । कोइराला प्रतिनिधिसभा सदस्य होइनन् । कोइरालासंग ओलीले आफ्नो राजनीतिक अवस्था र मनको पीडा पोखेको बताइन्छ । कोइरालाको भनाई अनुसार प्रधामन्त्री ओली अप्ठेरोमा परेका छन् । यो अप्ठेरो भनेको उनी स्वयंकै कार्यशैली हो र परिणाम पनि उनकै व्यवहार र प्रवृत्तिले नै सिर्जना गरेको हो ।

यसैबीच प्रधानमन्त्री ओलीले पार्टीको एउटा कार्यक्रममा आफु संसद छलेर भाग्न नखोजेको स्पष्टीकरण दिएका छन् । आफु संसदबाट नभागेको स्पष्टीकरण दिँदै उनले जुनसुकै प्रश्नको पनि जवाफ दिन तयार रहेको दम्भपूर्ण अभिव्यक्ति दिएका छन् ।

यसो भन्छन् प्रधानमन्त्री

चौतर्फी दवाव तथा सबैतिरबाट एक्लिँदै गएपछि प्रधानमन्त्री ओलीले अहिले आएर दुई तिहाईको विषय झिक्न थाल्नु भएको छ । प्रधानमन्त्रीले केही अनौपचारिक संवादहरुमा संसद बिघठन गरेर मध्यावधि निर्वाचनसम्म गर्न पनि आफू पछि नपर्ने खालको भावना व्यक्त गरेर आफ्नै पार्टि भित्र तथा बाहिरका विपक्षीलाई तर्साउने रणनीति लिन थालेको समेत देखिएको छ ।

‘म एक–दुई दिन संसद गइन, बोल्न खोज्दा हुलहुज्जत गरेर बोल्न नदिएको देख्नु भइहाल्यो । संसदमा दुई तिहाइ ल्याएको संसदको नेता हुँ म, अनि भाग्ने कुरा हुन्छ ?’ प्रधानमन्त्रीले हालै एउटा अभिव्यक्ति दिँदै भनेका छन्—‘म संसदबाट भागेको भन्ने भनेर किन भनेको ? म कुनै समय गएर के के रहेछ उहाँहरुको कुरा सुनेर सबै जवाफ दिन्छु । हाम्रा साथीहरु यस्ता कुरामा अल्झिनु हुन्न ।’ प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति केही भावनात्मक समेत छ । उनको भनाइ छ—‘रगत छादेर जेलमा बसें, चाहेको भए धन कमाउन सक्थें । तर गरिनँ । एउटा टेप प्रकरणमा अनाडी र अनधिकृत मान्छेले आरोप लगाउँदै हिँडेको छ । मेरो बारेमा प्रश्न उठेकाले राजीनामा दिन्छु भन्नुभयो सञ्चारमन्त्रीले र राजीनामा दिनुभयो । त्यसलाई स्वीकार गरियो । उहाँले न्याय खोज्छु भन्नु भएको छ, कुनै प्रमाणित छैन । स्वीस दूतावासले पनि त्यो फेक हो भनिसक्यो । सत्यता छैन । आफ्नो नाममा बात लागेको भएर राजीनामा दिए । तर भ्रष्टाचार गरेको भनेर प्रमाणित गरेजस्तो केही छैन । आरोप छैन, मुद्दा चलेको छैन । मेरो नाममा पनि उजुरी हालेको भनिएको छ । उजुरी काम नलाग्ने पत्रु हो, त्यो भ्रष्ट उजुरी हो । अनाडी मान्छेले केही भनेर गर्छ भने त्यो के हो ? कसका लागि हो ? मैले डिफेन्स गर्न खोजेको होइन । झुटा कुरा गरेर आन्दोलनलाई बदनाम गर्न पाइादैन । झुटो बोल्नेलाई कारवाही गर्नुपर्छ ।’

प्रधानमन्त्रीको पछिल्लो भनाइ छ— ‘म पूर्णकालिन भएर राजनीतिमा काम गरेको ५२ वर्षभयो । धन कमाउन लागेको भए व्यापार र बिजनेसतिर लाग्थें, जेलका छिंडितिर लाग्थें ? एउटा कागजमा सही गरेको भए त्यसबेलै मन्त्री हुन्थें । बिरामी भएर रगत छादेर जेलमा हुँदा कागजमा सही नगरेको धन कमाउन हो ? देश बनाउन हिंडेको । म मरे पनि अरु आर्दश हुन्छन् ।’

त्यसो त प्रधानमन्त्रीले ताप्लेजुङमा केक काटेको विषयमा पनि मुख खोलेका छन् । उनले भनेका छन्—‘मेरो जन्मदिन पनि परेको थियो । म जन्मेको ठाउँ गएँ । टाढा–टाढाका मान्छे आएका थिए । शुभकामना दिए, नाचगान गरे । स्थानीयले खाना खुवाए । विचरा भातको हिसाब कति पर्यो भनेर बसेका छन् । घरमा तिनले कति खाए होलान् । पानी विजुली पुगेको देख्दैनन् तर आलोचनाको समाचार लेख्छन् । आफ्नो गाउँमा प्रधानमन्त्री आउँदैछन् भनेपछि जनताले बाजागाजा बजाउँछन् । म पुग्दा बाटो, विजुली, बैंक शाखा लिएर गएँ । बाजा बजाए । उता उधुम गरे, पत्रकारहरु धुरुधुरु रोए ।’