विद्या भट्टराई संसद् प्रवेश

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, पुस २, २०७६

काठमाडौं-  नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पद तथा गोपनीयताको शपथ लिनुुभएको छ । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले संघीय संसद् सचिवालयमा मंगलबार उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

गत मंसिर १४ गते भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा भट्टराई कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो । शपथपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै संविधानले निर्दिष्ट गरेको भूमिकामा रहेर काम गर्ने बताउनुभयो ।

उहाँले नीति निर्माण र विकास निर्माण बारे जनतासँग गरेका बाचा पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन पछि उक्त क्षेत्रमा प्रतिनिधि सभा सदस्य पद रिक्त भएको थियो ।

शपथ समारोहमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुुरुङ, संघीय संसद्का विभिन्न विषयगत समितिका सभापति, सांसद तथा संसद् सचिवालयका महासचिव लगायतको सहभागिता रहेको थियो ।