सत्ताको उन्माद
शक्तिको उन्माद अत्यन्त अविवेकी र उत्ताउलो हुन्छ । जंगबहादुर राणाका छोरीहरूको उन्माद र उनकै छोराहरूको पतनले धेरै कुरा प्रष्ट पार्छन् । पृथ्वीनारायण शाहका नाति रणबहादुर शाहको हत्या गर्ने शेरबहादुर शाहलाई त्यही ठाउँमा काटेर बालनरसिंह कुँवरले दरबारमा आफ्नो उल्लेख्य स्थान बनाएका थिए । उनका सात छोरामध्ये अत्यन्त महत्वाकांक्षी जेठा जंगबहादुरले रानी राज्यलक्ष्मीको साखुल्ले बन्न पहिला आफ्नै मामा प्रधानमन्त्री माथवरसिंह थापालाई गोली ठोके । त्यसपछि राजा राजेन्द्रविक्रम र उनकी कान्छी रानी राज्यलक्ष्मीबीच शक्ति सन्तुलन बिगार्न लाल झा नामक गुन्डा प्रयोग गरेर काजी गगनसिंह खवासलाई स्वर्गको टिकट काटिदिए । आफ्ना भाइहरू र सैनिक शक्तिको प्रयोग गरेर जर्नेल जंगबहादुरले गगनसिंहको हत्यारा पत्ता लगाउन कोतमा भेला भएका विरोधी पक्षका ३१ जनालाई एक चिहान बनाइदिए ।
जेठा राजकुमार सुरेन्द्रविक्रमको सट्टा राज्यलक्ष्मीको छोरा रणेन्द्रलाई राजा बनाउने लोभ देखाएर उनी १९०३ सालमा प्रधानमन्त्री भए । पछि उनैले रानी राज्यलक्ष्मी र राजा राजेन्द्र दुवैलाई नजरबन्द गरेर सुरेन्द्रलाई राजा बनाए । सुरेन्द्रबाट कास्की र लमजुङ राज्य प्राप्त गरी महाशक्तिशाली श्री ३ महाराज घोषित भए र देशलाई लुट्नुसम्म लुटे । उनले आफ्नो जेठा छोरा जगतजंग र सुरेन्द्रकी जेठी छोरीको बिहे गराएर शाही परिवारसँग रगतको अभिन्न साइनो गाँसे । आफ्ना दुई छोरी तारा र ललितकुमारी सुरेन्द्रका जेठा छोरा त्रैलोक्यलाई तथा एक छोरी सुरेन्द्रकै कान्छा छोरा नरेन्द्रलाई टाँसो लगाइदिए । अनि यो क्रम जारी रह्यो । भाइ धीर शमशेरको जेठा छोरा वीर शमशेरको बिहे सुरेन्द्रकी भतिजी मुनिन्द्र राज्यलक्ष्मीसँग र आफ्ना अन्य दुई छोरी कान्छी मैया र चिरबिरे मैयाको बिहे सुरेन्द्रकै भतिजा धीरेन्द्रसँग गराइदिए । यसरी यीबाट जन्मेका छोराहरू जन्मदै जर्नेल–कर्नेल हुने भए ।
स्त्री अनुराग
प्रमोदशमशेर राणाको किताब ‘राणा शासनको वृत्तान्त’ अनुसार जंगबहादुर मैथुन र महिलाका असली पारखी थिए । यिनलाई स्त्री मोहित भनिदिए फरक पर्दैनथ्यो । प्रधानमन्त्री भइसकेपछि पनि उनी नानी, धाई, सधवा, विधवा जोसुकैलाई पत्नी बनाएर घर भित्र्याउँथे । उनका घोषित रानी नै चालीस जनाभन्दा बढी थिए । अरू त कति थिए कति । उमेरमा उनले प्रसादसिंहकी छोरी सिद्धिगजेन्द्रलक्ष्मीसँग बिहे गर्न चाहेका थिए । त्यस बेला उनको गरिबीका कारण प्रसादसिंहले छोरी दिन मानेनन् । प्रधानमन्त्री भइसकेपछि एक दिन उनलाई तिनको याद आयो । तिनको घर पत्ता लगाएर उज्यालै नभई एक बिहान उनी हात्ती चढेर गए । हौदाबाटै सिसाको झ्याल फोडी लोग्नेसँग सुतिरहेकी सिद्धिलाई तानेर घर लगी सिन्दुर, पोते लगाइदिए । उनीबाट जन्मेका छोरा रणवीरजंग जंगी लाठसम्म भए भने छोरी चिरबिरे मैयाको बिहे साहेब उपेन्द्रविक्रमको छोरा धीरेन्द्रविक्रमसित भयो । अर्कोपल्ट उनलाई राजखलकसित बिहे गर्ने रहर लाग्यो । त्यहाँ उनलाई सुहाउँदा कुनै कन्या बाँकी थिएनन् । त्यसपछि उनको ध्यान चौतारियाहरूतर्फ गयो । उनले कोतपर्वमा मारिएका चौतारिया फत्तेजंग शाहकी अविवाहित बहिनी हिरण्यगर्भकुमारीको हात मागे । राजा सुरेन्द्रको आग्रहमा हिरण्यकी आमा आफ्नै छोरा र नातिको हत्यारालाई कन्या दिन तयार भइन् । त्यतिले नपुगेर उनले हिरण्यगर्भकुमारीकै तीन भदैलाई पालैपालो बिहे गरे ।
कुनै पनि कुरा चिताएपछि बिताउनैपर्ने यिनै जंगबहादुर मरेपछि उनका छोरा, नातिहरू रोलक्रमबाट मात्र हटाइएनन्, जेठा छोरा तथा राजा सुरेन्द्रका ज्वाइँ जगतजंग र नाति युद्धप्रतापजंगको क्रूरतापूर्वक हत्या भयो । तिनका टाउको किस्तीमा राखेर वीरशमशेरसामु प्रस्तुत गरियो । अन्य छोरानाति तथा युवराज त्रैलोक्यसँग बिहे भएकी छोरी ताराकुमारीले ब्रिटिस इन्डियामा लुकेर ज्यान जोगाउनुपर्यो ।
सम्बन्धविरुद्ध शक्ति
जंगबहादुरलाई सत्तामा पुर्याउन उनका भाइहरूले पनि ज्यान बाजी लगाएका थिए । यसकारण उनले यस पदलाई राजाको जस्तो क्रमशः जेठा छोरामा सर्दै जाने बनाएनन् । आफ्नो सेखापछि भाइहरूमा र उनीहरूपछि आफ्ना छोराहरू र नातिमा सर्ने बनाए । भाइका छोराहरूभन्दा अगाडि नाति युद्धप्रताप जंगलाई रोलमा राखेपछि जण्ड धीर शमशेरले जंगबहादुरका छोरानातिलाई पन्छाई आफ्ना छोराहरूलाई उत्तराधिकारी बनाउने योजना बुने । बारम्बार उनी आफ्ना १७ छोरालाई उकास्दै भन्थे, ‘जसको तरबार, उसैको दरबार ।’ अर्थात् जसले मौकामा बल प्रयोग गर्नसक्छ, शक्ति र सोख–सयल उसकै अधिनमा हुन्छ । वि.स. १९३३ सालमा जंगबहादुरको मृत्युपछि राणोद्दीप सिंह प्रधानमन्त्री भए पनि अत्यन्त जण्ड स्वभावका कमान्डर इन चिफ धीर शमशेर नै डि–फ्याक्टो शासक (वैधानिक रूपले नदेखिने तर वास्तविक) थिए । यहीँबाट जंग खलक र शमशेर खलक अघोषित दुस्मन भए । शमशेरहरू दरिद्र तर जंगबहादुरको उत्तरदान पाएझैँ अत्यन्त आँटी थिए । सुखसयलमा हुर्केकाले जंगबहादुरका छोराहरू भने मारामुंग्रीमा भन्दा भोगबिलासमा रमाउँथे ।
धीरले जगतजंगलाई राणा शासनविरुद्ध साँठगाठमा संलग्न भएको आरोप लगाएर प्रधानमन्त्रीको रोलबाट हटाई देश निकाला गरे । उनको रोलमा उनकै भाइ जितजंगलाई ल्याइयो । घाँटीमा कालिजको हाड अड्केर धीरको मृत्युपछि रणोद्दीपले जगतलाई माफ गरी स्वदेश बोलाए । जितजंग कानको उपचार गर्न भारत गएको मौका पारी जगतजंगलाई महाराजले कमान्डर इन चिफ बनाएर आफ्नो उत्तराधिकारी बनाउँदैछन् भन्ने हल्ला कसैले चलाइदियो । यसो भए ज्यादै खतरा हुने शमशेर दाजुभाइको मनमा प¥यो । भारतमा हुने सैनिक मार्चपास र अभ्यासका लागि जर्नेल वीर शमशेरलाई चार पल्टनको जिम्मा लगाइयो । उनले महाराजबाट हातहतियार र खरखजानासमेत पाएपछि त्यसै रात वीरले आफ्ना भाइहरू डम्बरशमशेर, खड्ग, रण, चन्द्र र भीमलाई प्रयोग गरी रणोद्दीप सिंहको हत्या गराए र सत्ता हातमा पारे ।
स्मरणीय छ, वीरले जंगबहादुरकै छोरी तथा राजमाता ललितकुमारी, कान्छी मैया र चिरबिरे मैयाको सहयोगमा रणोद्दीपको हत्या सफल पार्ने योजना बुनेका थिए । ललितकुमारीले ‘गोरे जर्नेल (आफ्नै भाइ रणवीर जंग) ले महाराज रणोद्दीपलाई मार्यो’ भनेर सेनालाई सुनाउँदै आमागी योजना बुन्न वीर शमशेर र छोरा पृथ्वीविक्रमसँगै बग्गीमा बसेर कान्छीमैयाको बाघदरबार गइन् । उता, काकाको हत्यारा खड्गशमशेरसँग बग्गीमा बसेर कान्छी मैया आगामी योजना बुन्न बागदरबार आएकी थिइन् । त्यसै रात शमशेर खलकका मामा कर्नेल ललितमान बस्न्यातको टोलीले जगतजंग र उनका छोरा युद्धप्रताप जंगलाई अत्यन्त क्रूरतापूर्वक गोली ठोकी, टाउको काटी किस्तीमा राखेर वीरशमशेरलाई बुझाए । रणोद्दीपकी पत्नी हरिप्रिया, राजमाता ललितकुमारीकै सौता तथा आफ्नै दिदी तारा र जंग भाइहरूले ब्रिटिस दूतावासमा शरण लिएर ज्यान जोगाए । आफ्नै काका, दाजु र भदाहाको हत्या गर्न गोप्य सूचना दिएबापत जंगबहादुरका दुई छोरी कान्छी मैया र चिरबिरे मैयालाई वीरशमशेरले पुरस्कृत गरे । यसरी जंगबहादुरले तरबारले सिर्जना गरेको जहानिया शासनको दरबार उनका छोराहरूमा नगई शमशेर खलकमा गयो । पछि सत्ता हत्याउने षड्यन्त्र गरेको आरोपमा खड्गशमशेर पाल्पा धपाइए । उनलाई सहयोग गरेको आरोपमा तिनै कान्छी मैया देश निकालामा परिन् । चिरबिरे मैयालाई पनि पोल्टामा रिभोल्भर राखेर वीरशमशेरको लालदरबार आएको आरोपमा काठमाडौँबाट धपाइयो ।
जंगबहादुरका दुई छोरी कान्छी मैया र चिरबिरे मैयाको कथा पढ्दा हामीलाई विश्वास गर्नै गाह्रो पर्छ जसले आफ्नै दाजु, काका र भदाहाको हत्यारालाई साथ दिएका थिए । सत्ता र शक्तिको उन्मादमा मान्छेले केसम्म गर्न सक्छ भन्ने यसले प्रस्ट देखाउँछ । तर, त्यसको परिणाम पनि तिनकै नियतिले प्रस्ट पार्छ । सत्तासीन पार्टी र मन्त्रिपरिषद्का सदस्यहरूले बेलैमा यो कुरा मनन गरून् ।
twitter@avayashrestha
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
काठमाडौं– चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘राम...
ein Kuss ist mehr als Drücken Mund. Deshalb behauptet Sheril...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
Where for the best single gays in your area Single homosexual men in...
exactly what are real adult hookup sites? Exactly what are the most useful...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...