सेभियालाई छैटौंपटक यूरोपा लिगको उपाधि

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, भदौ २८, २०७७

यूरोपा लिग फुटबलको उपाधि स्पेनिस क्लब सेभियाले जितेको छ । अगष्ट २१ का दिन जर्मनीको कोलोनमा सम्पन्न प्रतिष्पर्धात्मक फाइनल खेलमा सेभियाले इटालियन क्लब इन्टर मिलानलाई ३– २ ले हराएको हो । सेभियाको जीतमा लुक डे योङले दुई गोल गरे भने एक गोल इन्टरका तर्फबाट आत्मघाती भएको थियो । त्यही गोलका कारण इन्टर उपाधि जित्नबाट चुकेको छ । इन्टरका लागि रोमेलु लुकाकु र डियगो गोडिनले एक–एक गोल गरे । खेलमा सुरुवाती अग्रता भने इन्टरले लिएको थियो । पाँचौं मिनेटमै रोमेलु लुकाकुले पेनाल्टीमार्फत गोल गरेपछि इन्टरले अग्रता बनाएको थियो जसलाई सेभियाले धेरैबेर टिक्न भने दिएन । १२औं मिनेटमा डे योङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । उनै डे योङले पुन: ३३औं मिनेटमा अर्को गोल थपेपछि सेभियाले खेलमा अग्रता लिएको थियो । तर त्यसको दुई मिनेटमै इन्टरका गोडिनले गोल गर्दै खेल पुन: बराबरीमा ल्याएका थिए । पहिलो हाफमै खेल २–२ को अवस्थामा पुगिसकेको थियो । दोस्रो हाफको ७४ औं मिनेटमा सेभियाका कार्लोसले प्रहार गरेको एक्रोब्याटिक शट इन्टरका लुकाकुलाई लागेर गोलमा परिणत भएपछि सेभियाले गोलका लागि त्यसपछि कुनै संघर्ष गर्नु परेन । उपहार गोल पाएपछि सेभियाले अग्रतालाई अन्तिमसम्म जोगाइरह्यो र छैटौंपटक यूरोपा लिगको उपाधि जित्न सफल भयो । यूरोपा लिगको उपाधि सर्वाधिक जित्ने टिम नै सेभिया रहेको छ । सेभिया आजसम्म यूरोपा लिगको फाइनल पुगेका बेला एकपटक पनि पराजित भएको छैन । इन्टर मिलानले हालसम्म तीनपटक यूरोपा लिगको उपाधि जितेको छ ।