हुण्डाइले फिर्ता लियो ८२ हजार विद्युतीय कार

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, चैत्र ३०, २०७७

ब्याट्रीको खराबीका कारण आगो लाग्ने समस्या देखिएपछि दक्षिण कोरियाली कार निर्माता कम्पनी हुण्डाइले विश्व बजारबाट ८२ हजार विद्युतीय कारहरु फिर्ता लिने भएको छ । ब्याट्रीको समस्याका कारण १५ वटा कारमा आगो लागेको घटना सार्वजनिक भए पनि हुण्डाइले बजारमा पठाइसकेका ८२ हजार विद्युतीय कार फिर्ता लिने घोषणा गरेको हो । यसलाई कार फिर्ता लिने घटनामा अहिलेसम्मै सबैभन्दा महंगो घटना मानिएको छ । यसले सानो मात्र कमजोरीले पनि विद्युतीय गाडी निर्माता कम्पनीले कति ठूलो मूल्य चुकाउनु पर्दछ भन्ने देखाएको छ । यस घटनाले हुण्डाईलाई १ ट्रिलियन कोरियन वन अर्थात् ९० करोड अमेरिकी डलर घाटा लागेको बताइएको छ । यो भनेको प्रतिकार ११ हजार डलर हो । फिर्ता लिइएका कारमा पूरानो ब्याट्री फेरेर नयाँ ब्याट्री हाल्नु निकै महागो पर्दछ । यसको खर्च तथा काम भनेको परम्परागत पेट्रोलियम इन्धनवाला कारको पूरै इन्जिन फेर्नु सरह नै हुन्छ । जबकि यसरी फिर्ता गरिने पेट्रोलियम कारहरुमा पूरै इन्जिन फेर्नुपर्ने आवश्यकता निकै कम मात्र हुन्थ्यो । यसअघि पूरै इन्जिन फेर्नुपरेको यस्तै घटना सन् २०१४ मा भएको थियो । त्यतिबेला प्रोसे ९११ जीटीथ्री स्पोर्टस कार बजारबाट फिर्ता लिएर कम्पनीले पूरै इन्जिन फेरिदिएको थियो । त्यस्तै हालैमात्र जनरल मोटर्सले बजारमा रहेका ७० लाख गाडीहरुका टाकाटा एयरब्याग्स फेरिदिएको थियो र त्यसका लागि उसले १ अर्ब २० करोड डलर खर्च गरेको थियो । त्यसमा प्रति गाडी खर्च २ सय डलरभन्दा कम लागेको थियो । हुण्डाइका विद्युतीय गाडीको ब्याट्री फेर्नका लागि लाग्ने प्रतिकार लागत इतिहासकै उच्च मानिएको छ । यसले विद्युतीय गाडीको ब्याट्री पूरै कारको अनुपातमा कतिधेरै महंगो हुन्छ भन्ने पनि देखाएको छ । हुण्डाइका विद्युतीय कारमा भएका आगलागीका विभिन्न १५ घटनामा हालसम्म कोही पनि घाइते नभएको बताइएको छ । अधिकांश कारमा बन्द गरिसकेपछि खाली रहेको अवस्थामा आगलागी भएको छ । हालसम्म अमेरिकामा त्यस्तो घटना भएको छैन । यद्यपि, यसरी फिर्ता बोलाइने कारमध्ये ६ हजार ७ सय वटा कार हाल अमेरिकामा गुडिरहेको अनुमान छ । हुण्डाइका अनुसार एलजी कम्पनीले बनाएका ब्याट्रीमा सर्ट सर्किटको समस्या हुँदा आगलागी भएको अनुसन्धानले देखाएको छ । फिर्ता बोलाइएका कारमध्ये २७ हजार दक्षिण कोरियामा छन् भने ५५ हजार विश्वका अन्य विभिन्न मुलुकमा रहेका छन् ।