2020 जुलाई महिनाका केही नेपाल गतिविधि

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शनिबार, भदौ ६, २०७७

नेपाल–चीन मैत्री सम्बन्धको ६५ वर्ष
नेपाल चीन मैत्री सम्बन्ध शुरु भएको ६५ वर्ष पुगेको उपलक्ष्यमा दुई देशका राष्ट्र प्रमुखहरूबीच शुभकामना आदानप्रदान भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपति सि जिङपीङलाई शुभकामना सन्देश पठाउँदै चिनियाँ नागरिकलाई यस उपलक्ष्यमा बधाई दिएकी छन् । सन्देशमा उनले नेपाल र चीन बीचको मैत्री सम्बन्ध आगामी दिनहरूमा थप बलियो हुने विश्वास व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले गएको अक्टोबरमा भएको सीको ऐतिहासिक नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाएको र दुवै देशको विकाश र समृद्धीमा यसले योगदान पुर्‍याएको स्मरण गरेकी छन् । चीनका राष्ट्रपति सी जीनपीङले पनि दुई देशबीचको मैत्री सम्बन्धमा महत्वपूर्ण विकास भएको बताएका छन् । राष्टप्रति भण्डारीसाग सीले दुवै देशको हितमा हुनेगरी सहकार्य गर्न चीन तयार रहेको समेत जनाए । त्यस्तै प्रधानमन्त्री केपी ओलीले पनि राष्ट्रपति सी र स्टेट काउन्सिलर लि केविङलाई शुभकामना सन्देश पठाएका छन् । प्रधानमन्त्री ओलीले शुभकामनामा बीआरआईलगायत प्रोजेक्टले यो क्षेत्रको विकासमा योगदान पुर्‍याएको भन्दै प्रशंसा गरेका छन् । त्यस्तै परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले पनि समकक्षी वाङ यीलाई शुभकामना सन्देश पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालमा स्थिति भयावह बन्न सक्ने
सरकारले लकडाउन खोलेपछि मानिसहरूको आवागमन बढेको छ । जसले गर्दा समुदायस्तरमा संक्रमणका केसहरू देखिएका छन् । तर पीसीआर परीक्षणलाई अझै बढाएको देखिदैन्। जसले गर्दा संक्रमण समुदायस्तरमा भित्रभित्रै फैलिदै जाने र स्थिति थप जटिल बन्न सक्ने जोखिम बढेको छ । चिकित्सकहरूले कोभिड–१९ रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसके ’रोग’को रुपमा फैलन सक्ने चिन्ता व्यक्त गरेका छन् । सरकारले कोभिड १९ रोकथामका लागि गरेको कामको प्रकृति हेर्दा केही हप्ताभित्र नै संक्रमण ‘रोग’को रुपमा फैलन सक्ने संकेत देखिएको चिकित्सकहरूले बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले अहिलेसम्म कोभिड १९ को संक्रमण रोगको रुपमा नदेखिएको तर समुदायस्तरमा फैलिदै गए रोगको रुपमा देखापर्न सक्ने बताए । कोभिड रोकथामका लागि सरकारले गरेको कामलाई हेर्दा अबको केही दिनभित्रै संक्रमण रोगको रुपमा देखापर्ने निश्चित भएको डा. दिक्षितले बताए । उनले सरकारले पीसीआर परीक्षणलाई बढाउादै लैजानु पर्नेमा घटाउादै लगेको र समुदायमा संक्रमण देखिदै गएकाले स्थिति भयावह बन्न सक्ने चेतावनी दिए । इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख एवं सरुवा रोग विशेषज्ञ डा. बाबुराम मरासिनिले संक्रमण एक ठाउँबाट अर्को ठाउँमा जाने अवस्थाबाट जोगाउनुपर्ने बताए । संक्रमण देखिएको क्षेत्रबाट नदेखिएको क्षेत्रमा आवतजावतमा कडाई गर्नुपर्ने र काठमाडौं उपत्यका सहित सीमा क्षेत्रमा रहेका बस्तिमा परीक्षणको दायरा बढाउनुपर्ने बताए । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोलाले मानिसहरूको आवागमनलाई व्यवस्थित बनाउन नसके काठमाडौं उपत्यकाको अवस्था केही हप्ता भित्रै भयावह हुनसक्ने बताए ।

 

कोरोनाको ताजा अपडेट
केही दिनदेखि नेपालमा हरेक दिन संक्रमितहरुको संख्या बढिरहेको नै पाइएको छ । विगत केही दिनदेखि एक सयदेखि दुई सयसम्मको संख्यामा प्रतिदिन देखिएको कोरोना संक्रमण गत अगष्ट १ का दिन बढेर तीन सयभन्दा माथि पुगेको छ । उक्त दिन मात्रै थप ३ सय १५ जना सङ्क्रमित भएका छन्  । गत अगष्ट १ का दिन देशभरका विभिन्न प्रयोगशालामा ६ हजार ९ सय ९३ जनाको पीसीआर परीक्षण गर्दा थप ३ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । नेपालमा हाल कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ३ सय ३८ रहेको छ । नेपालमा डिस्चार्ज हुनेको कुल संख्या १४ हजार ४ सय ९२ पुगेको छ  । नेपालमा लकडाउन खुल्नुअगाडि ११ दिनमा ४७ हजार ८७७ पीसीआर परीक्षण भएकोमा एक हजार ३४५ को पोजेटिभ रिपोर्ट आएको छ  । यो परीक्षणको २ दशमलव ८ प्रतिशत हो । बन्दाबन्दी खुलेपछिका ११ दिनमा ५८ हजार १ सय ७४ पीसीआर परीक्षण गरिएकोमा दुई हजार ९२ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

नारायणगढ–मुग्लिन सडकमा शुल्क
सरकारले नारायणगढ–मुग्लिन सडक प्रयोग गरेवापत पहिलोपटक शुल्क असुल गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार ३७ किमीको यो सडक प्रयोग गर्दा हलुका सवारी साधनले २५ रुपैयाँ र भारी सवारी साधनले .५५ रुपैयाँ सडक उपभोग दस्तुर तिर्नुपर्ने छ । सडक मर्मतका नाममा लिइने यो दस्तुर सडक बोर्डले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत गरेको प्रस्तावमा सरकारले शुल्क लिन पाउने स्वीकृति दिएको हो । बोर्डका प्राविधिक निर्देशक सागर ज्ञवालीका अनुसार सरकारले गरेको यो निर्णय अब राजपत्रमा सूचना प्रकाशन गरेर औपचारिक रुपमा अगाडि बढाइने भएको छ । हाल लकडाउनका कारण लामो दूरीका सवारी सञ्चालनमा रोक लागेकाले अगष्ट १७ (१ भदौ) देखि मात्रै यो सडक प्रयोग गर्ने सवारीको चाप हुने छ । लकडाउन शुरु भएदेखि बोर्डले दस्तुर लिने अन्य सात वटा सडकको पनि शुल्क लिएको छैन । लकडाउन खुलेर सवारी चल्न थाले पनि अन्य क्षेत्रका सडकजस्तै मुग्लिन–नारायणगढ सडकमा पनि शुल्क लिइने ज्ञवालीले बताए । ज्ञवालीका अनुसार सरकारले स्वीकृति दिएकाले मुग्लिन–नारायणगढ सडकमा शुल्क असुली असोजदेखि शुरु हुन सक्छ । बोर्डका अनुसार सडकको नियमित मर्मतसम्भारका लागि स्रोत अभाव हुन नदिन यस्तो सडक उपभोग दस्तुर लिन लागिएको हो । बोर्डले देशैभरका सडकको आवश्यक मर्मतसम्भार गर्दै आएको छ । बोर्डले सबै प्रकारका सडकको नियमित तथा आवधिक मर्मत गर्ने गरेको छ । बोर्डले मुग्लिन–नारायणगढको बीच भागमा पर्ने जुगेडीमा शुल्क उठाउने ढाट राख्ने उल्लेख छ । बोर्डका अनुसार कारदेखि बस ट्रकसम्मलाई शुल्क तोकिएकोले दुई पाङ्ग्रे (मोटरसाइकल, स्कुटी) र तीन पाङ्ग्रे (टेम्पो) लाई भने शुल्क लिइने छैन । बोर्डले हाल हेटौंडा–नारायणगढ, नारायणगढ–बुटवल, नौबिसे–मुग्लिङ, भैरहवा–भुमईबाट मोटरसाइसहितका ठूला सवारीसाधनबाट सडक दस्तुर लिँदै आएको छ । पूर्वको काँकडभिट्टा–दमक, दमक–इटहरी–कोशी, जोगबनी–धरान–धनकुटा खण्डको विराटनगर–धरान खण्ड, कोशी–चौहर्वा, हेटौंडा–वीरगन्ज र वीरगन्ज–पथलैया खण्डमा पनि मोटरसाइकलदेखि ठूला सवारीसम्म नै सडक उपभोग दस्तुर लिँदै आएको बोर्डले जानकारी दिएको छ ।


पाहुना बिनै खुले होटल
कोभिड–१९ महामारीको जोखिम न्यूनीकरण गर्न सरकारले ११ चैतदेखि बन्दाबन्दी घोषण गरेपछि चार महिना ठप्प देशैभरका होटल जुलाई ३० का दिनदेखि खुलेका छन् । तर, होटलमा पाहुना भने छैनन् । होटल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहका अनुसार स्वास्थ्य सम्बन्धी आवश्यक सुरक्षा मापदण्ड पालना गरेर अधिकांश होटल खोल्ने निर्णय गरिएको हो । अहिले होटलमा पाहुना नआए पनि सकारात्मक सन्देश जाने भएकाले खोल्ने निर्णय गरिएको उनी बताउँछन् । हानका अनुसार, सरकारले आवश्यक सतर्कता अपनाएर होटल खुला गर्न अनुमति दिएको छ । अधिकांश होटलले १० प्रतिशत कोठा पाहुनाका लागि खुला गर्नेछन् । रेस्टुरेन्ट सेवा पनि खोलिएको छ । धेरैजसो होटल सरसफाइ गर्ने, पाहुना आइहाल्छन् कि भनेर आशिंक रुपमा खोल्ने बाहेक कुनै उपलब्धि नहुने हानका उपाध्यक्ष शाह बताउँछन् । लकडाउन हटाएको भए पनि हवाई तथा लामो दूरीको यातायात र सभा–सम्मेलनसहितका ठूला जमघटमा प्रतिबन्ध जारी छ । होटलका कर्मचारीलाई न्यूनतम स्वास्थ्य मापदण्ड पालना गराउनुपर्ने, न्यूनतम स्तर कायम गनुपर्ने, कर्मचारीलाई तालिम दिनुपर्ने जस्ता कारणले सञ्चालन खर्च बढ्छ । त्यसैले पर्यटक आगमन सुरु नभइ कुनै पनि होटल पूर्ण सञ्चालन संभव नभएको हानले जनाएको छ ।

राप्रपाबाट कांग्रेसमा
राप्रपा परित्याग गरेका सुनिलबहादुर थापा नेपाली कांग्रेस प्रवेश गरेका छन् । हालै राप्रपा त्यागेका पूर्वमन्त्री सुनिलबहादुर थापा २९ जुलाईका दिन औपचारिक रुपमा कांग्रेस प्रवेश गरेका हुन् । उनीसहितका नेतालाई कांग्रेसका शीर्ष नेताहरूले केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले २०१० सालदेखि कांग्रेससँग टुटेको नाता पुन: जोडिएको प्रतिक्रिया जनाए । त्यसअघि आफ्नो परिवार कांग्रेसमै रहेको स्मरण गर्दै उनले ६७ वर्षपछि फेरि जोडिएको बताए । लोकतान्त्रिक शक्ति बलियो बनाउन आफू कांग्रेस प्रवेश गरेको भन्दै थापाले नेपालमा प्रजातान्त्रिक शक्ति कमजोर हुादा अधिनायकवादी शक्ति बढेको बताए ।