राखी सावन्तको विवाह ?

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शनिबार, साउन ३२, २०७६

बलिउडकी आइटम गर्ल तथा अभिनेत्री राखी सावन्तले गोप्य तरिकाले मुम्बईको जे डब्लू मेरियट होटलमा विवाह गरेको खबर भाइरल भयो । केही अनलाइन पत्रिकाहरुले तस्बिरसहितको एउटा समाचार प्रकाशित गर्दै राखीले एक जना एनआरआईसंग विवाह गरेको खबर प्रकाशित गरेका थिए । उक्त खबर भाइरल भैरहेको बेला अभिनेत्री सावन्तले उक्त खबर सरासर झुटो भएको दावी गरेकी छिन् । विवाह गरेको खबरलाई उनले ठाडै अस्विकार गरिदिएकी हुन् । राखीले विवाह गरेको खबर प्रकाशित गर्ने अनलाइन पत्रिकाहरुमा उनले गैर आवासीय भारतीयसंग गोप्य रुपमा विवाह गरेको, विवाह मुम्बईको जे डब्लू मेरियट होटलमा २८ जुलाई (आईतबार) का दिन भएको तथा वैवाहिक समारोलाई पूर्ण रुपले गोप्य राख्नका लागि परिवारका सदस्यहरु मात्र उपस्थित भएको उल्लेख गरिएको थियो । वैवाहिक समारोहमा परिवारका ४–५ जना सदस्यमात्रै उपस्थित भएको तथा विवाहको खबर सार्वजनिक नहोस् भन्नका लागि होटलको हलको साटो कोठामा विवाह गरिएको समेत उक्त खबरमा जनाइएको थियो । त्यसको भोलिपल्ट केही सञ्चारकर्मीहरुले राखी सावन्तलाई उनको विवाहको बारेमा जिज्ञासा राख्दा त्यसलाई उनले ठाडै अस्विकार गरेकी हुन् । उनको दावी छ–‘मैले विवाह गरेकै छैन ।’ अनलाइन पत्रिकाहरुमा उनलाई दुलहीको पहिरनका देखिएको बारेमा गरिएको जिज्ञासामा सावन्तको जवाफ थियो—‘दुलहीको पहिरनमा म एउटा प्रोडक्टको फोटोसेसन गरिरहेको थिएँ । त्यही फोटो बाहिरिएपछि मैले विवाह गरेको नक्कली खबर भाइरल भएछ ।’ ‘मलाई थाहा छैन किनमा मानिसहरु मलाई आरामले बस्दै दिँदैनन्, राखीको भनाइ छ ।