किरणको पहिलो कृति  विपनाको विसौनी सार्वजनिक

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, चैत्र २९, २०७७

 सिड्नी, अष्ट्रेलिया | अष्ट्रेलियाको सिड्नीलाई कर्मथलो बनाएर आइटि प्रोफेसनलको रुपमा परिचित किरण अधिकारीले आफ्नो परिचयमा अर्को उपमा जोड्दै भर्खरै आफुले लेखेको उपन्यास “बिपनाको बिसौनी” सार्बजनिक गरेका छन् । युवा अवस्थामा भविष्य खोज्दै अष्ट्रेलिया आएका उपन्यासकार किरणले अष्ट्रेलियामा भोगेका देखेका नेपाली युबाहरु को अनुभवलाई कोर्दै लिपिबद्द गर्दै जाँदा उपन्यासको रुप लिदै थियो भने हाम्रो नेपाली समाज कता जाँदैछ र कल्पनाको होइन बिपनाको बिसौनीमा जीवन जिउनु पर्छ भन्ने पुस्तकमा झल्किएको बताए । पुस्तकमा समेटिएका बिसौनीहरु आफ्नो व्यक्तिगत नभै अष्ट्रेलिया लगाएत नयाँ देशमा पुगेका धेरैको आफ्नै कथा हुने सोचेर यसलाई पुस्तकको रुपमा ल्याउने प्रयास गरेको पुस्तक सार्बजनिक कार्यक्रममा अधिकारीले बताए ।

नेपाल र अष्ट्रेलियाबाट करिब दुइ दर्जन अतिथिहरु को उपस्थितिमा अहिलेको नयाँ प्रबिधि जुममार्फत संचालित उक्त पुस्तक बिमोचन कार्यक्रमको सभापतित्व उपन्यासकारका पिता रामजी अधिकारीले गरेका थिए भने समारोहका प्रमुख अतिथि गैरआवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष मन केसी थिए ।  यसै गरि उक्त जुम कार्यक्रममा नेपालबाट लेखकका गुरुहरु, मान्यबर व्यक्तित्व, साहित्यकारहरु र अष्ट्रेलियाबाट एनआरएनएका अग्रजहरु अन्य संघ संस्थाका प्रतिनिधिहरु, मिडियाकर्मीहरु को उपस्थिति थियो ।

एनआरएन ओसेनिया क्षेत्रीय महिला संयोजक जानकी पौडेलले संचालन गरेको सो कार्यक्रममा पुस्तकको  समिक्षा गर्दै नेपालबाट साहित्यकार डा. बलदेव अधिकारी गाउँलेले यति सानो पुस्तकमा नेपालबाट अष्ट्रेलिया वा अष्ट्रेलिया जस्तै देशमा अध्यान र भविष्य खोज्दै जाने युवापुस्ताका भोगाइका कथाहरु रहेको बताए भने प्रमुख अतिथि गैरआवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष मन केसीले आफुले पनि सरसर्ती पुस्तक पढ्दा पुस्तक युवा पुस्ताको आफ्नै कथा बन्ने बताए ।  केसीले आफुले चिनेको किरण अधिकारी आइटि पेशाको पोख्त, बिनम्र स्वभाबको रहेको पाएको र उनको अर्को यो प्रतिभाको बारेमा थाहा पाउँदा आफुलाई निक्कै खुशी लागेको पनि बताए ।

यसै गरि कार्यक्रममा सबै अतिथि र शुभेच्छुकहरु ले फरक पेशामा रहेर पनि आफु भित्रको साहित्यलाई उजागर गर्दै पुस्तकको रुप दिएकोमा लेखकलाई शुभकामना दिदै भविष्यमा पनि लेखन कार्यलाई निरन्तरता दिन अनुरोध गरेका थिए । उपस्थिति सबै सहभागीको जिज्ञासामा उपन्यासकार किरणले पुस्तक नेपालका पुस्तक पसलहरुमा अन्य पुस्तक सरह उपलब्ध हुने र अष्ट्रेलियाका पाठकको लागि इच्छुकले तलको लिंकमा गएर पुस्तक अनुरोध गर्न सकिने बताए ।https://studyuplift.com/

पुस्तक बिक्रिबाट उठेको रकम परोपकारी कार्यको लागि नै खर्च गरिने पनि अधिकारिले बताए।