बन्दको पूर्व सन्ध्यामा दुई गाडीमा आगजनी

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, साउन १५, २०७६

मकवानपुर- विप्लव नेतृत्वको समूहले गए राति नै मकवानपुरका दुई स्थानमा गाडी जलाएका छन् । विप्लव समूहले आव्हान गरेको बन्दको पूर्वसन्ध्यामा मकवानपुरको फाखेल हुमाने भन्ज्याङमा बा १४ च ८२३४ नंको कार र मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा ५ ख १७३९ नंको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । कार पूर्णरूपमा जलेको छ भने ट्रकको अगाडिको भाग मात्र जलेको उहाँले बताउनुभयो ।

यसैगरी हेटौँडाको विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला परेको छ । हेटौँडाको थाना भन्ज्याङ, चौकीटोल र हुप्राचौर क्विक २० पार्टीप्यालेस नजिकै शङ्कास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । सबै शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय गरिसकेको जनाइएको छ ।