५ लाख रुपैयाँ धरौटीमा छुटे रवि लामिछाने

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, भदौ ९, २०७६

चितवन — पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका टेलिभजिन कार्यक्रम प्रस्तोता रवि लामिछाने तथा पत्रकार युवराज कँडेललाई धरौटीमा र अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा गर्न चितवन जिल्ला अदालतले सोमबार साँ आदेश दिएको छ ।

जिल्ला अदालतले रविलाई ५ लाख रुपैयाँ, युवराज कँडेललाई ३ लाख रुपैयाँ र अस्मिता कार्कीलाई सामान्य तारेखमा छोड्न आदेश दिएको श्रेतेदार रुद्रमणी गिरीले जानकारी दिएका छन् ।

आइतबार तीनै जना विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो ।
आइतबार ढिला गरी अभियोग पत्र दर्ता भएपछि अस्मिता कार्कीको मात्रै बयान गरेर तीनैजनालाई अदालतले न्यायीक हिरासतमा राखेको थियो। सोमबार बिहानै सुरुमा युवराज कँडेल र त्यसपछि रविको बयान भएसँगै थुनछेक बहस प्रारम्भ भएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनले हिजै सम्पूर्ण अनुशन्धान पुरा गरी फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

रवि लगायत तीनैजना विगत ११ दिनदेखि प्रहरी हिरासत थिए ।

आत्महत्या दुरुत्साहनका आरोपी रवि लामिछानेको रिहाइको माग गर्दै चितवन जिल्ला प्रहरी कार्यालय परिसरमा हुलदंगा मच्चाउनेमाथि प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो ।