हरियाली प्रर्वद्धनमा काठमाडौँ महानगर, त्रिपुरेश्वरदेखि दरबारमार्गसम्म ५ सय विरुवा रोप्दै

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६

काठमाडौँ-  काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले हरित शहर बनाउने महानगरपालिकाको अभियान निरन्तर अघि बढेको बताउनु भएको छ ।

वन तथा वातावरण मन्त्रालयको वातावरण विभाग, काठमाडौँ महानगरपालिका र नेपाल आर्मीको संयुक्त आयोजनामा सुन्धारा क्षेत्रमा वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दै मेयर शाक्यले यस्तो बताउनु भएको हो ।

‘हरित शहर बनाउने काठमाडौँ महानगरपालिकाको अभियान अनुसार नै हामीले वृक्षारोपन कार्यक्रमको आयोजना गरेका हौँ,’ मेयर शाक्यले भन्नुभयो, ‘सार्वजनिक जग्गामा हरियाली पार्क निर्माण गर्नेलगायतका काम हामीले तिव्ररुपमा अघि बढाएका छौँ । यो पनि पनि त्यहि अभियानको निरन्तरता हो ।’

मेयर शाक्यले पाँच फिट भन्दा माथिका मात्र विरुवा रोप्ने महानगरको नीति भएको भन्दै त्यहि अनुसार नै आज १ सय ६५ वटा विरुवा रोपेको बताउनुभयो ।

‘यो अभियानमा १५ मिटर दुरीकाबीच पर्ने सडक खण्डको दुवै किनारामा कम्तीमा पनि त्रिपुरेश्वरदेखि दरबारमार्गसम्म ४ देखि ५ सयको हाराहारीमा विरुवा रोप्ने योजना छ,’ उहाँले भन्नुभयो, ‘यसरी रोपेका विरुवालाई हुर्काउने र व्यवस्थापन गर्ने सबै जिम्मा नेपाल आर्मीलाई दिएका छौँ ।’

उहाँले यस्तो अभियान महानगरका ३२ ओटै वडामा केन्द्रित रहेको भन्दै महानगरपालिकाले सार्वजनिक विद्यालयलगायतका स्थानमा पनि वृक्षरोपन गर्ने कार्यक्रम अघि बढाएको बताउनुभयो ।